नेपाल तीन वर्षदेखि ७२ औं स्थानमा «

नेपाल तीन वर्षदेखि ७२ औं स्थानमा

विश्व भोकमरी सूचकांक २०१८
नेपालको भोकमरी सूचकांक विश्व मानचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा कायम रहेको पाइको छ । विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूचकांक (जीएचआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा छ ।
विभिन्न निकायसँगको सहकार्यमा कन्सर्न वल्र्डवाइडले विश्व खाद्य दिवसको सन्दर्भ पारेर हालै ‘विश्व भोकमरी सूचकांक (जीएचआई) २०१८’ सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार दक्षिण एसियामा सबैभन्दा अब्बल स्थान श्रीलंकाको छ । यसअघिका वर्षहरूमा भने नेपालको स्थान सबैभन्दा सुधारको अवस्थामा थियो । यो वर्ष श्रीलंकका १७.९ अंकसहित ६७ स्थानमा छ भने दोस्रोमा नेपालले २१.२ अंकसहित ७२ स्थान हासिल गरेको हो । भोकमरी सूचकांक मापनअनुसार जति कम अंक र स्थान हासिल गर्यो त्यति नै राम्रो मानिन्छ ।
सम्बन्धित मुलुकको कुपोषण, वालमृत्युदर र पोषणको अभावमा वालवालिकामा आउने विभिन्न शारिरीक समस्याको अवस्था, खाद्य उत्पादन तथा उपलब्धताको अवस्था लगाएतका परिस्थितिलाई एक सय पूर्णाकंमा रूपान्तरण गरेर मुलुकलाई अंक प्रदान गर्ने गरिन्छ । प्राप्त अंकका आधारमा विश्वका मुलुकहरूलाई एकबाट क्रमशः सूचीमा सूचीकृत गरेर प्रतिवेदन सार्वजनिक गर्ने गरिन्छ । यो वर्ष छिमेकी मुलुक भारत तीन स्थान तल झरेको छ भने बंगलादेश दुई स्थान माथि उक्लेको छ । भारत अघिल्लो वर्ष ९७ औं स्थानबाट खस्केर १०० मा पुगेको हो । अर्को छिमेकी मुलुक चीन भने ७.६ अंक सहित २५ औं स्थानमा छ ।
संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफी लगाएतका संयुक्त राष्ट्र संघका एजेन्सीहरू तथा अन्य कृषिसँग सम्बन्धित संघसंस्थाहरू, सरकारी तथ्यांकहरू लगायतको आधारमा बर्सेनि भोकमरी सूचकांक प्रतिवेदन सार्वजनिक गरिँदै आएको छ । प्रतिवेदनअनुसार यो वर्ष सबैभन्दा अब्बल मुलुकमा १५ अंकभन्दा कम अंक प्राप्त गर्दै बेलारुस, बोस्नीया हर्जगोभिना, चिली, कोस्टारिका, क्रोएटिया, इटोनिया, कुवेत, लेटाभिया, लिथुवानिया, मोन्टेग्रो, रोमानिया, टर्की, युक्रेन र उरुग्य छन् । भोकमरीको अवस्था गम्भीर भएका मुलुकमा अफ्रिकन मुलुकहरू बढी छन् ।
प्रतिवदेनअनुसार दक्षिण एसियाली मुलुकमा बंगलादेश ८६ औं स्थानमा छ भने भारत १०३, पाकिस्तान १०६ र अफगानिस्तान १११ औं स्थानमा छ । अफगानिस्तान भने चार अंकले लत झरेको छ भने पाकिस्तान भने गत वर्ष झैं यो वर्ष पनि एउटै स्थान र अंकमा अडिक छ । भुटान र माल्दिभ्सको भने तथ्यांक नभएको भन्दै अध्ययनमा समावेस गरिएको छैन । गत वर्षको प्रतिवेदन अनुसार नेपाल ७२ स्थान सहित एक नम्बरमा थियो भने ८४ स्थानसहित श्रींलकमा दोस्रोमा थियो । सार्क अन्य मुलुकहरू बंगलादेश, भारत र अफगानिस्थान क्रमशः ८८, १०० र १०७ औं स्थानमा थिए ।
भूकम्प, नाकाबन्दी र डुवान तथा बाढी पहिरोको समस्याका बाबजुद पनि नेपालको खाद्य सुरक्षाको अवस्थास्थिर देखिएको हो । पछिल्ला तीन वर्षमा धान, मकैलगायत मुख्य बालीको उत्पादन पनि बढ्दो क्रममा छ । यो वर्ष पनि धानको उत्पादन १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने मौसम अनुकुल भएकाले अन्य बाली पनि बढ्ने प्रक्षेपण गरिएको छ । यद्यपि, नेपालमा खाद्यान्नको वितरण प्रणाली व्यवस्थित नहुनु र भात मात्र उपभोग गर्ने बानीका कारण नेपालीहरूमा कुपोषणको समस्या कम हुन नसकेको विश्लेषण खाद्य विज्ञहरूको छ ।
सम्भव छ ‘जिरो हङ्गर २०३०’
दीगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा विश्वबाट भोकमरीको अन्त्यसम्भव रहेको संयुक्त राष्ट्र संघले जनाएको छ । अक्टोबर १६ मा मनाइएको विश्व खाद्य दिवसको उपलक्ष्यमा जारी गरिएको मूल सन्देशको पहिलो नम्बरमा विश्वका मुलुकहरूले जोड गरेमा जिरो हङ्गरको अवस्था सम्भव रहेको उल्लेख छ । संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन (एफएओ) का अनुसार हाल ८२ करोड १० लाख मानिस कुपोषणमा छन् । विश्वमा १ अर्ब ९० करोड मानिस अधिक तौलका छन्, जसमध्ये ६७ करोड २० लाख मानिस मोटोपनाको समस्यामा छन् । यो अवस्थाबाट मुक्ति पाउन विश्वका मुलुकले कुपोषणलगायतका समसयका विषयमा ग्रामीण जनसंख्या लक्षित सचेतना कार्यक्रम संचालनमा ल्याउनुपर्नेमा राष्ट्र संघको जोड छ ।

 

प्रतिक्रिया दिनुहोस्