चाडपर्वका बेला संक्रमणसँगै भोकमरीको त्रास «

चाडपर्वका बेला संक्रमणसँगै भोकमरीको त्रास

नेपालीहरूको महान् पर्व बडादसैं आउन अब दुई सातामात्रै बाँकी छ । एक सातापछि नै घटस्थापना छ । महामारीका रूपमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि बढिरहेको छ । कोरोनाकै कारण धेरै मानिसको रोजगारी गुमेको छ । रोजगारी नहुँदा आयआर्जन पनि छैन । एकातिर बडादसैं मनाउने समय, अर्कातिर संक्रमणको त्रास र रित्तो भण्डार छ । दसैं कसरी मनाउने भन्ने प्रायःको चिन्ता छ । गरिबीले पिरोलिएका परिवारलाई दैनिक हातमुख जोड्न नै कठिन छ । गाउँघरमा रोजगारीको अवसर पनि छैन । तीनै तहका सरकारले कोरोनाका कारण विदेशबाट फर्केका र कोरोना प्रभावितहरूका लागि स्वरोजगारका कार्यक्रम पनि ल्याएका छन् । तर, ती कार्यक्रमहरू सुस्त गतिमा कार्यान्वयनमा गइरहेका छन् । कार्यक्रमहरू सेवाग्राहीको हातमा पुगे पनि तत्काल आयआर्जन हुने खालका छैनन् । ठूलो मिहिनेत र लगानी गरेको केही महिनापछि मात्रै उत्पादन दिने खालका कार्यक्रम छन् । विकासका योजनामा तत्काल काम लगाएर मजदुरी दिन सकिन्छ, तर ती योजनाहरू पनि कार्यान्वयनमा जानै बाँकी छ । मानिसहरू विगत सात महिनादेखि बेरोजगार छन् । कमाएको रकम सकिएर भण्डार रित्तिएको छ । तत्काल कमाएर परिवारलाई दुई छाक खाना खुवाउन सक्ने अवसर नदेखेपछि अहिले सुदूरपश्चिमको त्रिनगर र गड्डाचौकी नाका भएर दैनिक १ हजारदेखि १५ सय मानिसहरू जोखिमलाई बेवास्ता गर्दै भारततिर रोजगारी खोज्न जाँदै छन् । जबकि विगतका वर्षहरूमा तिनै नाका भएर दैनिक २ देखि ३ हजार मानिसहरू दसैंतिहार मनाउन भनेर घर फर्किन्थे । प्रस्तुत छ, कोरोना संक्रमणको त्रासका बीच दसैंतिहार कसरी मनाउन सकिन्छ, नेपालमै कस्ता खालका रोजगारी सिर्जना गरेर उच्च संक्रमण दर रहेको भारतमा रोजगारीका लागि जानबाट नेपालीहरूलाई कसरी रोक्न सकिन्छ लगायतका विषयमा केन्द्रित रहेर कारोबारकर्मी मुकेश चौधरीले सामाजिक अभियन्ता, अधिवक्ता, व्यवसायी र पत्रकारसँग गरेको कुराकानी :

तत्काल आयआर्जन हुने खालका रोजगारी दिनुपर्छ
देवी खनाल
केन्द्रीय सदस्य, खाद्य अधिकार सञ्जाल

विश्वसँगै भारतमा पनि कोरोना फैलिएपछि भारतमा पनि लकडाउन भयो र त्यहाँ रोजगारी गुमेपछि नेपालीहरू केही समयका लागि नेपाल फर्किएका थिए । केही समयमा कोरोना संक्रमण कम होला कि भन्ने आसमा मानिसहरू भएको जागिर छोडेरै पनि आएका थिए । यता आइसकेपछि कोरोना संक्रमण कहिलेसम्म लम्बिने हो भन्ने कसैले यकिन गर्न सकेको छैन । छ–सात महिनाको अवधिसम्म घरमा बस्दा पनि रोजगारीको अवसर नदेखेपछि मानिसहरू पुनः पुरानै काममा फर्कन थालेका छन् । उनीहरू भारतमा गएर आफूले छोडेर आएको काम गर्न फेरि भारत गइरहेको बताउँछन् । सिजनल रूपमा भारतमा रोजगारी गर्न जानेहरूले पनि आफ्नो ठाउँमा कुनै रोजगारी पाउन सकेका छैनन् । यसले गर्दा मानिसहरूको दैनिक जीवनयापनमा असर परेको छ । सुदूरपश्चिमका प्रत्येक घरको एक जना भारत गएर रोजगारी गरिरहेको तथ्यांक छ । यहाँको ग्रामीण भेगमा एक जना पनि भारत नभएको विरलै घर भेटिन्छ । एक अध्ययनका अनुसार भारतमा रोजगारी गर्ने प्रत्येकले ५ देखि ७ हजार रुपैयाँ घरमा पठाउँथे । यसले घर खर्च चल्थ्यो । खाना खर्चदेखि लुगाकपडा, बच्चाहरूको पढाइ सबै कुरा यसैबाट पु-याइन्थ्यो । कोरोनाले गर्दा प्रायः सबैको यो कमाइ छुट्यो । यतिका लागि पनि गाउँघरमै कमाउन नसकिने अवस्था आएपछि मानिसहरू बाध्य भएर फेरि भारत जान थालेका छन् ।
हाम्रो यहाँ सरकारी कार्यालयहरूले रोजगार र स्वरोजगारका लागि कार्यक्रम त ल्याएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि विदेशबाट फर्केका तथा कोरोना प्रभावितहरूका लागि स्वरोजगार कार्यक्रम ल्याएको छ । यसको पनि कहिले के हुने हो भन्ने टुंगो छैन । यो कार्यक्रम मानिसहरूले कहिले पाउने हो र कति पाउने हो, यकिन छैन । फारम पनि सबैले भर्न पाउने भनेको छ । मन्त्रालयले एउटा निवेदन मात्रै लिएको छ । त्यसमध्ये कसलाई पर्ने हो, त्यो पनि थाहा छैन । यो काम पाइहाले पनि उत्पादन कहिले हुने हो ? मानिसहरूलाई तत्काल जीविकोपार्जनका लागि तत्काल आम्दानी हुने काम चाहिएको छ । यस्तो खालको रोजगारीका अवसरहरू पनि भएन । स्थानीय र प्रदेश सरकारले तत्काल आय उपार्जन हुने खालको कार्यक्रम ल्याउनुपथ्र्यो । विकासका योजनाहरू कार्यान्वयनमा लग्दै ती योजनाहरूमा स्थानीय नागरिकहरूलाई रोजगारी दिन सकिन्थ्यो तर यो पनि सम्भव भएन । सरकारी कार्यक्रमहरू प्रायः माघ–फागुनमा कार्यान्वयनमा जान्छन् । यसले कति बेला उत्पादन हुने हो भन्ने निश्चित पनि भएन । सरकारले ल्याएका रोजगारीका कार्यक्रमहरू राम्रा छन् । तर यसले समय लिन्छ । त्यही भएर पनि गाह्रो भएको छ । कतिले दैनिक ज्यालादारीमा काम गरिरहेका छन् भन्ने तथ्यांक पनि सरकारी कार्यालयहरूसँग भएन । यो भएर पनि सरकारी कार्यालयहरूलाई कसलाई रोजगारी दिने, कसलाई सामाजिक सुरक्षा भत्ता दिने लगायतका कुरामा समस्या परिरहेको छ । यसले गर्दा केही काम नपाएका मानिसहरू बाध्य भएर भारत गइरहेका छन् ।
चाडपर्वहरू नजिकिँदै गर्दा बजारहरू पनि खुलेको छ र बजारमा भीडभाड पनि बढेको छ । मानिसहरू किनमेलमा पनि व्यस्त हुन थालेका छन् । किनमेल अनलाइनबाट गर्न सके अझै सुरक्षित हुन्थ्यो । स्वास्थ्य मापदण्डहरू पूरा गरेर किनमेलमा जाँदा पनि सुरक्षित हुन सकिन्छ । बजारमा रहँदा अनावश्यक रूपमा भीडमा नछिर्ने पसलमा लाइनमा बसेर र दूरी कायम गरेर समान किन्ने; मास्क, सेनिटाइजर सही तरिकाले प्रयोग गरेर किनमेल गर्ने लगायतका सुरक्षाका उपाय अपनाउन सकिन्छ । चाडपर्व मनाउँदा जमघट नगरेकै राम्रो हुन्छ । आफ्नै परिवारका सदस्यहरूसँग मात्रै चाडपर्व मनाउने गर्नुपर्छ ।
बजारमा चाडपर्व नजिकिएसँगै खाद्यान्नदेखि लिएर सबै चिजवस्तुको मूल्य बढेको छ । लकडाउन भएदेखि नै सबै चिजवस्तुको मूल्य बढ्दै गएको छ । यो अवस्थामा कालोबजारी र मिसावटको पनि बढी खतरा रहन्छ । यसलाई नियन्त्रण गर्नका लागि उपभोक्ता र सरकारी संयन्त्रहरू एक्टिभ हुन जरुरी छ । नागरिकहरूको आयआर्जनको बाटो बन्द भएका बेला महँगी बढ्दा झनै समस्या निम्त्याएको छ । महँगी बढेको हुनाले पनि यो बेला मानिसहरूलाई तत्काल पहिलेको भन्दा बढी कमाइ गर्नुपर्ने बाध्यता भएको छ ।

सरकारलाई नागरिकको बेरोजगारीले छोएन
अर्जुन शाह
अध्यक्ष, नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम

विगतका वर्षहरूमा भारतमा मजदुरी गरिरहेका नेपालीहरू दसैं नजिकिँदै गर्दा फर्कने गरेका थिए । यसपालि त्यसको ठीक उल्टो दृश्य देखिन्छ । कोरोना महामारीका डरले पहिले फर्किए । त्यसपछि लामो समयसम्म बेरोजगार बस्नुप-यो । यसले गर्दा सबै कुराको समस्या भयो । यो समस्याले गर्दा दसैंतिहार छोडेर धेरैजसो मानिस भारत नै जानुपर्ने स्थितिमा पुगे ।
भारतबाट रोजगारी गुमाएर आएका व्यक्तिहरूलाई आफ्नै ठाउँमा रोजगारी दिन सरकारले वास्तवमै केही योजना दिएन । सरकारले गफमात्रै ग¥यो । सरकारलाई आफ्ना नागरिकको बेरोजगारी समस्याले किन छोएन भन्ने कुरा महŒवपूर्ण छ । सरकारसँग पैसा पनि छ र योजना पनि छन् । सरकारसँग रोजगारी गुमाएका व्यक्तिहरूको तथ्यांक पनि छ । यी योजनाहरूलाई कार्यान्वयन गरेर रोजगारी गुमाएकालाई लक्षित गर्ने गर्नुपथ्र्यो । निर्देशनात्मक रूपमा होस् वा जसरी भए पनि उनीहरूलाई सरकारले सपोर्ट गर्ने कार्यक्रम गरेको भए बेरोजगारीको समस्या समाधान हुन्थ्यो । मानिसहरू जोखिम मोलेर भारत जानबाट रोकिन्थे । गाउँघरमा केही पनि भएन । धेरै मानिस भारतबाट फर्केर उत्तिकै बसिरहेका छन् । सरकारलाई कुनै मतलब छैन । सरकारलाई नागरिकहरूको बेरोजगारीले छोएन । सरकारलाई नछोएको कारणले मानिसहरू बेहाल भए । अनि आफैं के गर्ने ? रोजगारीको कुनै उपाय नै भएन । कुनै अवसर नपाएपछि मानिसहरू भारत नै देख्न थाले र सरासर जान थाले ।
दसैंतिहार भनेपछि मानिसहरूको लहर स्वाभाविक रूपमा बढ्छ । दसैंमा किनमेल पनि स्वाभाविक हो । तर, किनमेलको भीडभाड र दसैं मुभमेन्टले कोरोना संक्रमणको जोखिम पक्कै बढाउला । किनमेलका क्रममा मानिसहरूले आवश्यक सावधानी अपनाउन सक्ने सम्भावना कम देखिन्छ । किनमेलको मुभमेन्टमा मानिसहरूको लापरबाही देखिन्छ । एउटा पसलमा गयो । समान ट्याप्पटुप्प समाउँदै छान्यो । चित्त बुझे किन्यो । पैसा लेनदेन पनि हुन्छ । त्यसपछि हात सफा नगरी अर्को पसलमा त्यसैगरी किनमेल हुन्छ । फेरि अर्को पसलमा जाने । पसलमा भीडभाड हुने । एउटाले, अर्कोले समान छान्दाछान्दै किनमेलको भीडमा कुनै व्यक्ति संक्रमित रहेछ भने ठूलो दुर्घटना हुन सक्छ । यसले नै जोखिम निम्त्याउँछ कि ? यसबाट जोगिन मानिसहरूको सचेतता चाहिन्छ नै । मानिसहरूलाई चाडपर्व मनाउन बन्देज गरेर पनि हुँदैन । मानिसहरूलाई निर्देशित गरेर मात्रै पनि समस्या समाधान हुँदैन । व्यक्ति समुदाय स्वयम् अलिक होसियार हुनुपर्छ । आफैं सचेत र सतर्क भएर किनमेल गर्ने र चाडपर्व मनाउने गरेपछि समस्या समाधान हुन्छ ।
दसैं कसरी मनाउने भन्ने विषयमा कतिपय मानिसहरू अहिले दोधारमा छन् । दसैं मनाउने कि नमनाउने ? यसपालि टीकाटालो नलाउने कि ? भनेर मानिसहरू दोधारमा परेको कुरा गर्छन् । यसपालि टीकाटालो लगाउने कुरा घरपरिवारमा मात्रै सीमित गर्दा राम्रो हुन्छ । जस्तै ः मैले मेरो घरपरिवारमा मात्रै लगाउने । तपाईंले तपाईंकै परिवारमा मात्रै टीका लगाउने । ओल्लो–पल्लो घर नजाने । छरछिमेक र इष्टमित्रसँग टीकाटालो नगरीकन पनि दसैं मनाउन सकिन्छ । आफन्तकहाँ जाने, छिमेकमा जाने, टीका थाप्ने नेपालीको दसैं मनाउने परम्परा हो । यसलाई यो वर्षका लागि त्याग्नैपर्छ । घुमघाम नगरेरै दसैं मनाउँदा सुरक्षित हुन सकिन्छ । यसरी नै सबैले दसैं मनाउने आ–आफ्नो योजना बनाउँदा राम्रो हुन्छ ।

निर्वाध रूपमा भन्सारबाट सामान ल्याउन सकिएको छैन
पुष्कर ओझा
वरिष्ठ उपाध्यक्ष, कैलाली उद्योग वाणिज्य संघ

कोरोना भाइरसका कारण बाहिरबाट ल्याउनुपर्ने सामानहरू सहज रूपमा आइरहेको छैन । भन्सार नाका बिहान १० देखि साँझ ५ बजेसम्म मात्रै खुला गर्दा व्यापार–व्यवसाय गर्नका लागि ल्याएका सामानहरू आउन ढिलो भइरहेको थियो । हामीले कैलाली उद्योग वाणिज्य संघबाट प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तह र प्रदेश सरकारसँग पहल ग¥यौं । अहिले मालसामान ढुवानीका लागि बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म भन्सार नाका खुला गर्ने निर्णय भएको छ । दैनिक सात घण्टामात्रै भन्सार नाका खुला गर्दा सामान ल्याउन असहज भएको थियो । एक दिनमा पुग्ने सामान दुई÷तीन दिन लगाएर धनगढी पु¥याइरहेका थियौं । यसरी एकै दिनमा ल्याइने सामान सामान ढुवानी भाडा तीन दिनसम्मको पर्न जाँदा सामानको मुल्य बढ्न गई उपभोक्तालाई महँगो भइरहेको थियो । नाकामै पुगिसकेको सामान भन्सार बन्द भएपछि रोकिन्थ्यो । चेकिङका लागि वेट गर्दागर्दै एक÷दुई दिन जान्थ्यो । ढुवानी भाडा बढी पर्नुको मार अल्टिमेट्ली उपभोक्तामा नै जान्छ ।
चाडपर्व नजिकिँदै छ । बजार पनि खुलेको छ । लकडाउनका कारण सामानहरू ल्याउन नसक्दा पसलहरू रित्तिएका छन् । बजारमा भीडभाड देखिए पनि पसलहरू अहिलेसम्म खाली नै छन् । सरकारी कार्यालयहरू पनि लामो सयमपछि खुलेको हुनाले बजारमा देखिने मानिसहरू कर, मालपोत, विद्युत्, बैंक, वित्तीय संस्थालगायततिर गइरहेका हुन्छन् । पसलमा आएर सामान किन्ने मानिसहरू अहिले पनि निकै थोरै छन् । लकडाउनका कारण मानिसहरू बेरोजगार भएका छन् । उनीहरूसँग आवश्यक पैसा नहुँदा सामान किन्न आउने कुरा पनि भएन । चाडपर्व नजिक आइरहेको हुनाले पछि भीड लाग्छ भनेर केही मानिस अहिले नै पसलमा आएर सामान लगिरहेका पनि छन् । तर, भन्सारबाट निर्वाध रूपमा सामान ल्याउन नपाएको हुनाले व्यापारीहरूसँग चाडपर्व लक्षित सामानहरू कम छन् ।
मानिसहरूको बेरोजगारीले र कोरोनाको त्रासका कारण बजार खुले पनि व्यापार भइरहेको छैन । अहिले दैनिक जीविका मात्रै चलाउन सक्ने गरी व्यापार भइरहेको छ । सानाठूला पसलहरूको एकै किसिमको समस्या छ । सबैसँग ग्राहकको कमी छ । अहिले सीमित ग्राहक छन् । दसैं नजिकिँदै जाँदा अन्य वर्षहरूमा अहिले नै व्यापार–व्यवसाय फस्टाएको हुन्थ्यो । यसपालि त्यस किसिमको किनमेल सुरु भएको छैन । दसैं अझै नजिक आउँदै जाँदा किनमेल बढ्छ कि भन्ने आसमा छौं । किनमेलको भीडबाट कोरोना संक्रमण हुन सक्ने खतराबाट सचेत रहन हामीले व्यवसायीहरूलाई पटकपटक आग्रह गर्दै आएका छौं । किनमेलका बेला अपनाउनुपर्ने सावधानीहरू समेटेर हामीले अहिले ब्यानर बनाइरहेका छौं । त्यो ब्यानर हामीले केही दिनमै हरेक पसलको अगाडि टाँस्नेछौं । हरेक व्यापारीले ग्राहकहरूको स्वास्थ्यलाई ख्याल गर्दै पसलमा स्यानिटाइजर, दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र ग्राहकहरूलाई पनि प्रयोग गर्न लगाउने लगायतका उपायबाट किनमेल गर्दा हुन सक्ने संक्रमणबाट जोगिन सकिन्छ । यो विषयमा हामी सचेत छौं र व्यवसायीहरूलाई पनि सचेत गराइरहेका छौं ।

पहिलो कुरा भोकबाट बच्ने नै हो
गम्भीरसिंह ऐर
अधिवक्ता, धनगढी, कैलाली

चाडपर्वको बेला छ । नेपालीहरूको ठूलो पर्व बडादसैं पनि आउँदैछ । यो सबै नेपालीहरूले घर परिवारमा हर्षोल्लासका साथ मनाउने चाड हो । दसैंतिहार मनाउन देशविदेशमा रहेका नेपालीहरू घर फर्कन्छन् । तर, यस वर्ष यसको उल्टो भइरहेको छ । चाडपर्व छोडेर नेपालीहरू कमाउनका लागि भारत जानुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ । जहाँ दिन प्रतिदिन कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । नेपालमा भन्दा पनि भारतमा संक्रमित हुने खतरा बढी छ । त्यहाँ धेरै संख्यामा संक्रमण बढिरहेको छ । अहिले भारत जान बाध्य भएका मानिसहरूलाई यी सबै कुरा थाहा नहोला ! फेरि पनि सबैभन्दा पहिले म बाँच्न सकें, मेरो परिवार बचाउन सक्छु, बाँकी रोगबाट त बच्न सकिन्छ भन्ने लागेर मानिसहरू अहिले भारत जान थालेका छन् । पहिलो कुरा भोकबाट बच्ने नै हो । भोकबाट बच्ने विकल्प के हो भन्ने नै पहिलो कुरा हो । पेट भरेर तागत आयो भने रोगसँग पनि लड्न सकिन्छ ।
आफ्नै ठाउँमा रोजगारीको कुनै सम्भावना छैन । सीमित स्रोत र साधन छ । यसलाई जति परिचालन गर्न सकिने हो त्यो भएको छैन । मानिसहरू बेरोजगार छन् । बेरोजगारले आफ्नो श्रम लगाउन ठाउँ छैन । बाँच्नका लागि अन्तिम उपाय भनेको भारतमा गएर रोजगारी खोज्ने हो । नेपालमा रोजगारी केको आधारमा छ भन्ने ? हामीसँग न उद्योग छ, न ठूला विकासका आयोजनाहरू सञ्चालनमा छन् । यस्तो अवस्थामा मानिसहरू कहाँ रोजगारी गर्ने भनेपछि अन्तिम विकल्प भारतकै श्रम बजार हो । नेपालले रेलको लाइन बिछ्याउने मात्रै काम सुरु गरेको भए त्यहाँ केही मान्छेहरू रोजगारी पाउँथे । हाम्रो यहाँ भएका आयोजनाहरूलाई पनि सरकारले ठेक्का लगाएर काम सुरु गरेको भए मानिसहरूले केही न केही रोजगारी पाउँथे । यस्तो अवस्थामा भारतको गल्लीमा सुरक्षाको काम गरेर भए पनि परिवार पाल्न सकिन्छ कि भन्ने आसमा भारत गइरहेको देखिन्छ । दसैंको मुखमा घरपरिवार, बालबच्चा, आमाबुबा, दिदीबिहिनी छोडेर कमाउन जान कसैलाई रहर हुँदैन ।
यस्तो बेला सरकारहरूले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न विकासका आयोजनाहरू सञ्चालन गर्नु उपयुक्त विकल्प हुनसक्छ । वन, कृषि, नदीजन्य उत्पादनका लागि उद्योग सञ्चालन गरेर पनि रोजगारी सिर्जना गर्न सकिने प्रशस्त सम्भावना छन् । स्थानीय सरकारहरूले स्थानीयस्तरमा बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि विकासका योजनाहरू तदारुकताका साथ सञ्चालन गर्नुका साथै उद्योगधन्दा सञ्चालनमा मानिसहरूलाई उत्प्रेरित गर्नुपर्छ । त्यहाँ रोजगारी गर्नका लागि मानिसहरूलाई आकर्षित गर्ने खालको काम गर्नुपर्छ । यसले गर्दा मानिसहरूले स्थानीयस्तरमै आयआर्जन गरी सुरक्षित रहेर घरपरिवारसँगै बस्न पाउँछन् । यसले देश विकासमा समेत मद्दत पुग्छ ।
मानिसहरू अवसरको खोजीमा हुन्छन् । जब चाडपर्वको अवसर आउँछ । अनि मानिसहरूले महँगी बढाउँछन्, कृत्रिम अभाव सिर्जना गर्छन् र कालोबजारी गर्छन् । यस्तो बेला स्थानीय सरकार र स्थानीय प्रशासन चनाखो भएर अनुगमन गर्ने, मूल्यांकन गर्ने र गलत गर्नेलाई कारबाही गर्ने गरेपछि यस्ता समस्याबाट नागरिकहरूलाई बचाउन सकिन्छ । महँगीकै मारका कारण मानिसहरूले धेरै खर्चिनुपर्ने अवस्था आएको छ । महामारीका बेला हरेक वस्तुको मूल्य बढेको छ । यही भएर पनि मानिसहरू जोखिम मोलेर भारतमा रोजगारी गर्न जान बाध्य भएका छन् । यसलाई मध्यनजर गर्दै सरकारहरूले रोजगारी सिर्जना गर्नुका साथै महँगी र कालोबजारी नियन्त्रण गर्ने कुरामा ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्