हाइड्रोले ९ हेक्टर खेतीयोग्य जमिन प्रभावित «

हाइड्रोले ९ हेक्टर खेतीयोग्य जमिन प्रभावित


लमजुङ सदरमुकाम बेसीसहरनजिकै बन्न लागेको ५० मेगावाटको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजनाले करिब ९ हेक्टर खेतीयोग्य जमिन प्रभावित हुने भएको छ । दिव्यज्योति हाइड्रो प्रालिले निर्माण गर्न लागेको सो आयोजनाबाट बेसीसहर नगरपालिका–६ र १० अन्तर्गत ८ दशमलव ९५ हेक्टर जमिन प्रभावित हुने भएको हो ।
आयोजनाको प्रभाव मूल्याँकन प्रतिवेदनअनुसार प्रभावित क्षेत्रको कुल खेतीयोग्य जमिनमध्ये ६ दशमलव १५ हेक्टर खेत र दुई दशमलव ८० हेक्टर बारी प्रभावित हुने जनाएको छ । सोमध्ये ६ दशमलव ५५ प्रतिशत खेतीयोग्य जमिन स्थायीरूपमा प्रभावित हुने आयोजनाले जनाएको छ । कुल खेतीयोग्य जमिनबाट वार्षिक ७२ दशमलव ३९ मेट्रिक टन खाद्यान्न उत्पादन क्षति हुने आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।
आयोजनाले निर्माण अवधिमा १५ दशमलव ९ हेक्टर जमिन उपयोगमा ल्याउने जनाएको छ । यद्यपि जमिन उपयोगसँगै स्थायी जमिन अधिग्रहणलाई सकेसम्म कम प्रयोग गर्ने आयोजनाले जनाएको छ । आयोजनाले बायो इन्जिनियरिङ प्रविधिको प्रयोग जमिन स्थायीकरण गर्न सबै सम्भावित पहिरो जानसक्ने र गइरहेका ठाउँहरूको पहिचान गरी रोकथामको उपाय अवलम्बन गर्ने जनाएको छ । आयोजना निर्माणको क्रममा विष्फोटक पदार्थको व्यवस्थापन, सुरुङ निर्माणबाट सम्भावित प्रभावको व्यवस्थापन, अनावश्यक माटो तथा ढुँगा व्यवस्थापन, रसायनिक पदार्थको अलग्गै व्यवस्थापन सवारी साधनबाट निस्कने ध्वनि तथा धुलो प्रदूषणको उचित व्यवस्थापन गर्ने जनाएको छ । भौतिक तथा रसायनिक वातावरण प्रभाव न्यूनीकरणका लागि आयोजनाले चार करोड १६ लाख रुपैयाँ विनियोजन गरेको समेत जनाएको छ ।
सोबाहेक आयोजना निर्माणको क्रममा दुई दशमलव ६५ हेक्टर जंगलको पनि क्षति हुने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माणको क्रममा तीन सय ५५ रुख काटिने आयोजनाले जनाएको छ । रुख काटने क्रममा गैरकाष्ठ प्रजाति तथा औषधिजन्य जडिबुटी, वन्यजन्तुको वासस्थानमा प्रत्यक्ष प्रभावलगायतका जैविक प्रभाव पर्ने देखिएको छ । आयोजना निर्माणकै क्रममा वन जंगलमा हुने क्षति सट्टा १० गुणा बढी बोट विरुवा रोप्नेसमेत प्रतिवेदनमा उल्लेख छ । संरक्षित प्रजातिका रुख बिरुवामा पर्ने असर कम गर्न र आयोजनाले क्षति भएका रुख बिरुवाको १० गुणा बढी वृक्षरोपण गर्ने र रोपिएका बिरुवाको पाँच वर्षसम्म आयोजना स्वयंले व्यवस्थापन गर्ने बताएको छ ।
प्रभावित क्षेत्रका जलचर प्राणीको बासस्थान सुरक्षित गर्न ठूलाठूला ढुंगा राख्ने, वार्षिक रूपमा माछाका भुरा छोड्ने, आयोजनाका आन्तरिक सडक पुगेका ठाउँका जंगलको आवश्यक रेखदेख गर्ने प्रतिवेदनमा उल्लेख छ । मस्र्याङ्दी नदीको बहाबलाई निरन्तरता दिन प्रतिसेकेण्ड दुई हजार आठ सय १० लिटर पानी अनिवार्य नदीमा निरन्तर बग्न दिइने र भाचोक खोलाको पानी आयोजनामा प्रयोग नगर्ने उल्लेख गरेको छ । जैविक वातावरण सन्तुलन तथा व्यवस्थापनको निम्ती आयोजनाले एक करोड १९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको बताएको छ ।
यसैगरी आयोजनाले सामाजिक, आर्थिक तथा साँस्कृतिक वातावरण व्यवस्थापनका लागि पनि तीन करोड दुई लाख ४७ हजार आठ सय ४० रुपैयाँ विनियोजन गरेको जनाएको छ । सामाजिक आर्थिक तथा साँस्कृतिक वातावरण व्यवस्थापनअन्तर्गत निर्माण अवधिमा अधिग्रहण गरिएको जग्गाको उचित मूल्याँकन तथा मुआब्जा, निर्माणको क्रममा क्षति पुगेको बालीनालीको क्षतिपूर्ति, कामदारको सुरक्षा सामग्री, विभिन्न सचेतनामूलक कार्यक्रम, स्थानीयलाई रोजगारीका अवसरलगायत छन् ।
आयोजनाले स्थानीय क्षेत्रको भौतिक तथा रसायनिक अवस्था, जैविक, अवस्था, सामाजिक तथा आर्थिक अवस्था, प्रभाव मूल्याँकनलगायतका विषयमा सरोकारवालालाई जानकारी गराएको हो । आयोजनाको तर्फबाट नारायणप्रसाद खनालले आयोजनाको जानकारीसँगै आयोजना निर्माणको क्रम र निर्माण पश्चात स्थानीय वातावरणमा पर्ने प्रभावका बारेमा जानकारी गराएका थिए ।
आयोजनामा हाल प्रभावित क्षेत्रको जग्गा मुआब्जा निर्धारणको काम मात्रै सुरु भएको छ । आयोजनाले अन्य निर्माणकार्य भने हालसम्म सुरु गरेको छैन । करिब ६ महिना अघिबाट आयोजना निर्माण सुरु गर्ने भनिए पनि विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माणकार्य प्रभावित भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्