च्यान्टिङ अफ टेक्नोलोजी
यही शुक्रबार र शनिबार विराटनगरमा ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ अभियानको दोस्रो कार्यक्रम आयोजना हँुदैछ । कार्यक्रमको आकर्षणका रूपमा विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा विकाश जोशीद्वारा निर्देशित प्रविधि नाटक ‘मिरा मिराज’ मञ्चन गरिनेछ भने मण्डलाको मोबाइल थिएटर बसमा आधा सुरको सांगीतिक समूह जिरो सर्कल इन्टरटेनमेन् लगायत स्थानीय ब्याण्डहरूले कन्सर्ट गर्नेछन् ।
कार्यक्रममा ३ हजारभन्दा बढी मानिस आउने अनुमान गरिएको छ । आगन्तुकमध्ये अधिकांश प्रविधि, शिक्षा, उद्योग, शिल्प, संगीत, अभिनय र मानवीय सहायता क्षेत्रमा काम गरिरहका वा त्यस क्षेत्रका विज्ञहरू हुने बताइएको छ । कार्यक्रमले सम्बन्धित क्षेत्रमा काम गरिरहेकाहरूका लागि व्यावसायिक सञ्जाल निर्माणका साथै आपसी सल्लाह र नयाँ योजनाहरू आदानप्रदान गर्नसमेत ढोका खोल्ने विश्वास आयोजकले गरेको छ ।
सार्वजनिक यातायातको क्षेत्रमा निकट भविष्यमा उत्पादन र सेवा सञ्चालन गर्नेगरी विद्युतीय सवारीसाधन निर्माणमा संलग्न नेपालको पहिलो कम्पनी गोर्खा मोटर्सले यस कार्यक्रमको प्रायोजन गरिरहेको छ ।
यस्तै, नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरू दयाहाङ राई, विपिन कार्की, प्रवीण खतिवडा, विजय बराल, अंकित खड्का, नाजीर हसुेनका साथै रंगकर्मीहरू राजन खतिवडा, भोलाराज सापकोटा, शक्ति राई, अनुप न्यौपाने, निशा कार्की, सोमनाथ खनाललगायतले कला र प्रविधिको यस फ्युजनलाई महत्वपूर्ण अवधारणाको रूपमा स्वीकार गरिसकेका छन् । उनीहरूको सकृय सहयोग यस कार्यक्रममा रहने आयोजकले जनाएको छ ।
प्राविधिक फड्कोलाई सामाजिक उद्यमशीलता र दिगो विकासका निम्ति प्रयोग गर्ने तथा नेपाललाई उत्पादन परिकल्पना र औद्योगिक योजनाको एउटा हबको रूपमा विकास गर्न सहयोग गर्ने यस कार्यक्रमको नेतृत्व नेपालमा कला र प्रविधिको प्रभाव सम्भाव्यतामा जोड दिन प्रविधिको क्षेत्रमा नेतृत्व गरेर काम गरिरहेका केही उद्यमीहरू, केही अन्वष्ोकहरू र केही कलाकारहरूले गरिरहेका छन् ।
‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’को रुपमा उनीहरू एउटै मञ्चमा एकीकृत भएर डिजिटल उत्पादन, इन्टरनेटसँग सम्बन्धित सामग्रीहरू (आईओटी), कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक कलाको पृष्ठ प्रकाशमा समाजको वरिपरि पछिल्ला प्राविधिक विकासहरू कसरी सम्भव भइरहेका छन् भन्ने देखाउनु यस कार्यक्रमको उद्देश्य रहेको आइएनजी (इनोभेटिभ घर)ले जनाएको छ ।
इनोभेटिभ घर नेपाल र युजआर्ट नेपालजस्ता गैरनाफामूलक संस्थाहरू र यसका प्रतिनिधिहरूले सामूहिक रूपमा सुरुवात गरेको सिर्जनात्मक सोच हो मन्त्र । नेपाललाई प्राविधिक क्षेत्रको एउटा हबको रुपमा विकास गर्दै यहीँ पर्याप्त रोजगारीको अवसर सृजना गर्ने उद्देश्य राखेर दृढतापूर्वक कार्यरत स्थानीय प्राविधिक संघसंस्था र कम्पनीहरूले गरेका समकालीन प्रभावशाली कामहरू प्रदर्शन गर्ने यो सोचको उपज रहेको आयोजकले जनाएका छन्
अभियान अन्तर्गत पहिलो कार्यक्रम गएको असोज २७ र २८ गते कुपण्डोल कानदेवस्थानस्थित इनोभेटिभ घर नेपालमा भएको थियो । माघ अन्तिम साता पोखरामा प्रदर्शनी गरिने पनि आयोजकले जनाएका छन् । यस प्रदर्शनी कार्यक्रममा प्रदर्शकहरूले आफ्ना उत्पादन तथा अवधारणाहरू प्रदर्शन गर्नेछन् । जसअन्र्तगत मण्डला नाटक समूहको मोबाइल थिएटर बस, थ्रीडी प्रिन्टर मेसिन, सीएनसी मेसिनहरू, ड्रोनहरू, रोबोटहरू, औद्योगिक यन्त्रहरू, रकेट र राइट दाजुभाइले बनाएको प्राचीन उडान यन्त्रको झल्को दिने बिना इन्जिनका ग्लाइडर जहाजहरू पर्दछन् ।