द्रुतमार्गको सुरुङ निर्माणमा पाँच देशका कम्पनीको प्रस्ताव «

द्रुतमार्गको सुरुङ निर्माणमा पाँच देशका कम्पनीको प्रस्ताव


काठमाडौ–तराई (मधेश) द्रुतमार्ग आयोजनाको सुरुङमार्ग निर्माणका लागि पाँच मुलुकका कम्पनीहरूको पूर्वयोग्यता प्रस्ताव पेश गरेका छन् । कुल ६.४१ किमी सुरुङमार्गका लागि पाँच मुलुकका कम्पनीले पहिलो प्याकेजमा २१ र दोस्रो प्याकेजका लागि २२ कम्पनीले इच्छुक भएर पूर्वयोग्यता बोलपत्र प्रस्ताव पेश गरेको नेपाली सेनाले जनाएको छ । द्रुतमार्गमा पर्ने तीन सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको बोलपत्रको पूर्वयोग्यता बुधबार खोलिएको सेनाले जनाएको छ । सेनाले सुरुङमार्गलाई दुईवटा प्याकेजमा विभाजन गरेर प्रस्ताव माग गरेको थियो । प्याकेज १ मा एउटा सुरुङमार्ग र प्याकेज २ मा दुई वटा सुरुङमार्ग निमार्ण गर्ने गरी योजना अगाडि बढाइएको छ ।
पहिलो प्याकेजमा महादेवडाँडादेखि छोक्रेडाँडासम्मको ३.३५ किमीको लागि २१ र दोस्रो प्याकेजको दुई सुरुङमार्ग छोक्रेडाँडा–धोद्रेखोला १.६३ किमी, धोद्रेखोलादेखि लेनडाँडासम्मको १.४२ किमीको लागि २२ विदेशी कम्पनीले प्रस्ताव पेश गरेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेलले बताए । उनले भने, “पहिलो प्याकेजका लागि प्रस्ताव पेश गरेका १६ कम्पनीले नै दोस्रो प्याकेजका लागि प्रस्ताव पेश गरेका छन् । पूर्वयोग्यताका लागि तोकिएको मापदण्ड पू्रा गरेका निर्माण कम्पनीहरूकोे मूल्याङ्कन गरेर बोलपत्र मूल्याङ्कन समितिले चाँडै दोस्रो चरणमा नाम सूचीकृत गर्ने छ । करिब २ हप्ताजस्तो समय लाग्न सक्ने छ ।” सेनाले सुरुङमार्ग निर्माणका लागि डिजाइनको काम कोरियन परामर्शदाता युसिन इन्जिनियरिङ कर्पोरेसनले तयार गरिरहेको छ ।
पूर्वयोग्यता छनोट गरी तोकिएको सीमामा कम्पनी छनोट गर्न समय लाग्ने भएकाले सुरुङमार्ग निर्माणका लागि इच्छा जाहेर गर्ने कम्पनीको प्रारम्भिक सूचि सार्वजनिक गर्नुअघि सुरुङमार्गको डिजाइन तयार हुने सेनाको भनाइ छ । मूल्याङ्कन समितिले बोलपत्रहरूको मूल्याङ्कनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनीहरूलाई सूचिकृत गर्ने सेनाले जनाएको छ । काठमाडौं–तराई मधेशद्रुतमार्ग सडक खण्डको कुल लम्बाई ७२.५ किमीमध्येमा सुरुङमार्ग ६.४१ किमी, पुल १०.५१ किमी र ५५.५ किमी सडक खण्डमा निर्माण सडक विस्तार गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्