गोरखाका किसानलाई कृषक परिचयपत्र दिईने «

गोरखाका किसानलाई कृषक परिचयपत्र दिईने


गोरखाका किसानहरुले यो वर्षबाट कृषक परिचयपत्र पाउने भएका छन् । गत आर्थिक वर्षबाट कृषक वर्गिकरणबारे जनप्रतिनिधिलाई अभिमुखीकरण थालिएकोमा यो वर्षबाट भने परिचयपत्र वितरण गरिने कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । गत आर्थिक वर्षबाट कृषक वर्गिकरणका लागि आवेदन माग गरिएपनि किसानको उत्साह कम देखिएपछि वडा तहसम्मका जनप्रतिनिधिलाई यसबारे जानकारी गराउन थालिएको ज्ञानकेन्द्रले जनाएको छ ।
किसानको वर्गिकरणका लागि भन्दै गोरखामा गत वर्षबाट आवेदन संकलन सुरु भएको थियो । तर, किसानको निकै कम आवेदन संकलन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जनप्रतिनिधिमार्फत किसानसम्म कृषक वर्गिकरण कार्यक्रमको महत्व, फाइदालगायतका विषयमा जानकारी पु¥याउने उद्देश्यले अभिमुखीकरण सुरु गरिएको ज्ञानकेन्द्र प्रमुख मनिता थापाले बताइन् । “११ वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई उक्त कार्यक्रमबारे जानकारी गराउन गत आर्थिक वर्ष ७ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई कृषक वर्गिकरणबारे अभिमुखीकरण गरायौं” उनले भनिन्, “जिल्लाका ११ वटै स्थानीय तहका वडा कार्यालयमा वर्गिकृत हुन चाहने किसानले निवेदन दिन सक्छन् । तर, किसानको वर्गिकरण कार्यक्रमबारे धेरैलाई थाहा नभएकाले पनि कम आवेदन संकलन भएको होला भनेर अभिमुखीकरण गरेका हौं ।”
वास्तविक कृषकको पहिचान गरी वर्गिकरण थालिने गण्डकी प्रदेश सरकारको योजना अनुसार गोरखामा पनि आवेदन संकलन सुरु भएको हो । जिल्लाका ११ वटै स्थानीय तहका हरेक वडा कार्यालयमा किसानले आवेदन बुझाउन सक्ने कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ ।
पूर्णरुपमा खेतीपातीको काम नगर्नेहरुले पनि किसानको नाममा अनुदानलगायतका लाभ लिन थालेपछि प्रदेश सरकारले वास्तविक किसानको पहिचान खोज्न थालेको हो । प्रदेश अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक वर्गिकरण सम्बन्धी छुट्टै कार्यविधि बनाएको छ । किसान पहिचान र वर्गिकरण नाम दिइएको कार्यविधिलाई यो वर्ष केही संशोधन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्