मादलले चलेको जीवन «

मादलले चलेको जीवन

दाङ- बिहीबार दिउँसो घोराही उपमहानगरपालिका वडा नं. १४ झिंगौरानिवासी जुठे वादीले मादल निर्माण गरिरहेका थिए । उनलाई अहिले यसरी मादल बनाउन भ्याइ–नभ्याइ छ । दिनभरिमा पनि मादल निर्माण गरेर नभ्याएपछि रातिसमेत काम गर्ने गरेको उनको भनाइ रहेको छ । घरमा एक्लै भएका कारण पनि उनलाई काममा भ्याइ–नभ्याइ हुने गरेको छ । बिहान–बेलुका खाना पकाएर खानुपर्छ, जसले गर्दा काममा समेत अवरोध हुने गरेको उनी बताउँछन् । उनले विगत ४० वर्षदेखि मादल निर्माण गरी जीवन धान्ने गरेका छन् ।
आफ्नो बाबुबाट आफूले मादल बनाउन उनले सिकेका थिए । उनले यसरी मादल निर्माण गरेर सिर्जनको समयमा मासिक खर्च कटाएर २ लाखसम्म बचाउने गरेको बताए । “सधैंभरि हुँदैन, सिर्जनको समयमा खर्च कटाएर मासिक २ लाख रुपैयाँ बचाउने गरेको छु,” वादीले भने । तीज, दसैं, तथा तिहारको समयमा बढी मादलको माग हुने वादीले बताए । अन्य समयमा सिजनमा जम्मा गरेको रकमबाट खर्च चलाउने गरेको उनको भनाइ छ । अन्य सिजनमा फाट्टफुट्ट काम हुने गरेको छ । उनले आफूसँगै दुई जना व्यक्तिलाई रोजगारीसमेत दिएका छन् । वादीले विगत ४० वर्षदेखि घोराहीमा पुरानो मादल मर्मत तथा नयाँ मादल निर्माण गर्ने गरेका छन् । मादलका साथै उनले दमाहा, सारङ्गीसमेत निर्माण गर्ने बताए । उनले निर्माण गरेका मादल सबैभन्दा बढी रोल्पामा जाने गरेको बताए । जिल्लाका विभिन्न स्थानमा पनि मादल जाने गरेको छ । उनले निर्माण गरेका मादल ३ हजारदेखि ३५ हजार सम्मका रहेको वादीले जानकारी दिए । यसरी उत्पादन भएका मादल बजारको कुनै पनि समस्या नभएको उनको भनाइ छ । “मैले उत्पादन गरेका सामग्री बिक्रीको कुनै समस्या छैन, सबै घरमै आएर लैजानुहुन्छ,” वादीले भने । मागअनुसार मादल पु¥याउन नसकिएको समेत उनी बताउँछन् ।
मादल निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थको भने समस्या भएको उनले बताए । मादल बनाउन आवश्यक पर्ने काठसमेत पाउन समस्या भएको वादी बताउँछन् । “अहिले जङ्गलबाट काठ ल्याउनसमेत पाइँदैन,” वादीले भने । कसैले काठ दिए पनि किनेर ल्याउँदासमेत समस्या झेल्नुपरेको उनको भनाइ छ । कुकाठ किनेर सहज रूपमा ल्याउन पाउने व्यवस्था हुनुपर्ने उनले बताए । त्यसै गरेर देशबाहिरबाट ल्याउनुपर्ने अन्य कच्चापदार्थमा समेत धेरै भन्सार लगाइने गरेको बताए । “हामीले सामान ल्याउँदा किनेको सामानको भन्दा करिब ४ गुणा बढी रकम तिर्नुपर्ने बाध्यता छ,” वादीले भने । यसरी बढी रकम लगानी गर्नुपर्दा बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्नसमेत समस्या भएको उनको भनाइ छ । यसका लागि राज्यले सहयोग गर्नुपर्ने बताए । “राज्यले सहयोग गर्नुको साटो दुःख दिने गरेको छ,” वादीले भने । आफूहरूलाई बाहिरबाट सामग्री ल्याउँदा भन्सारमा छुट तथा सहज रूपमा काठ उपलब्ध गराउने व्यवस्था मिलाइदिनुपर्ने उनको भनाइ छ । “हामीलाई परिचयपत्र बनाइदिएर सहज रूपमा काठ ल्याउन दिने व्यवस्था मिलाइदिनु पर्छ, जसले गर्दा केही मात्रामा भए पनि सहयोग हुनेछ,” वादीले भने । सहज रूपमा कच्चापदार्थ प्राप्त गर्न सके आफूले कम्तीमा १२ देखि १५ जनालाई रोजगारी दिन सक्नेसमेत उनले बताए ।
मादल बनाउने समुदायलाई समाजमा हेर्ने दृष्टिकोण समेत फरक रहेको उनको भनाइ छ, जसले गर्दा पछिल्लो समयमा यसतर्फ युवावर्ग नलाग्ने गरेको उनले बताए । “मादल बनाउने समुदायलाई समाजले तल्लो दृष्टिले हेर्ने गरेको छ,” वादीले भने । संविधानमा विभेदको अन्त्य गरिएको उल्लेख गरिए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताए । यसतर्फ युवाहरूलाई आकर्षण गराउन तालिम र यसका बारेमा जानकारी गराउनुपर्ने उनको भनाइ छ ।
अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्