पूरा हुदैंछ ३४ वर्षदेखिको मेलम्ची सपना «

पूरा हुदैंछ ३४ वर्षदेखिको मेलम्ची सपना

बढ्दो पानीको माग थेग्न सक्ने एकमात्र विकल्पका रूपमा मेलम्ची खानेपानी आयोजनाको अवधारणा सुरु भएको हो ।

काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा स्थायी-अस्थायी गरी हाल करिब ४५ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । हाल उपत्यकामा दैनिक करिब ३५ करोडभन्दा बढी लिटर खानेपानीको माग रहेको अनुमान छ । मेलम्ची खानेपानी विकास समितिले प्रकाशन गरेको प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा ४५ प्रतिशत पानीको आपूर्ति भूमिगत स्रोतबाट हुने गरेको पाइन्छ ।
काठमाडौं उपत्यकाको सहरीकरण दिनानुदिन तीव्र गतिमा बढिरहेकाले उपत्यकावासीले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न वि.सं. २०३०-३१ देखि नै उपत्यकाभित्र र बाहिरका सतहगत स्रोतहरू अध्ययन गरी उपत्यकामा खानेपानी आपूर्तिलाई सहज तुल्याउने प्रयास भएको थियो । काठमाडौं उपत्यकामा खानेपानीको मागभन्दा आपूर्तिको मात्रा अत्यन्त कम रहेको सन्दर्भमा बढ्दो पानीको माग थेग्न सक्ने एकमात्र विकल्पका रूपमा मेलम्ची खानेपानी आयोजनाको अवधारणा सुरु भएको हो ।
समितिले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् १९७२ मा विश्व बैंकको सहयोगमा काठमाडौं उपत्यकाको खानेपानीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न एउटा गुरुयोजना तयार भएको थियो । उक्त गुरुयोजना यथास्थितिमा कार्यान्वयन हुन नसक्दा क्रमशः सैंबु, चापागाउँ, मनोहराजस्ता सतही मुहान तथा थुप्रै ट्युबवेलहरूबाट पानीको प्रयोगमा वृद्धि भएको पाइन्छ । सन् १९८८ मा ‘विन्नी एन्ड पार्टनर्स’ नामक बेलायती अन्तर्राष्ट्रिय संस्थाद्वारा उपत्यकाभित्र र बाहिरका २० वटा सतहगत सम्भाव्य पानीका स्रोत अध्ययन भएकोमा मेलम्ची नदीलाई सबैभन्दा उत्तम सम्भाव्य स्रोतका रूपमा पहिचान गरिएको थियो ।
मेलम्ची खानेपानी आयोजना नेपाल सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना हो । मेलम्चीको प्रथम चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकाका सहरी क्षेत्रको खानेपानीको माग पूरा गर्नका लागि क्रमिक रूपमा क्षमता बढाउँदै लैजान सकिने एक बृहत् अन्तर–जलाधार परियोजना हो । मेलम्ची खानेपानी विकास समितिका अनुसार यस परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको रिबर्मा भन्ने ठाउँनिर मुहान (हेडवक्र्स) निर्माण गरी रिबर्मादेखि सुन्दरीजलसम्म करिब २६ किलोमिटर लामो सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकाभित्र ल्याउने उद्देश्य लिएको छ । यसैगरी क्रमशः दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७-१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी काठमाडौंमा ल्याउने दीर्घकालीन लक्ष्यका साथ यो आयोजना सञ्चालनमा रहेको छ ।
हुन त तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालको चुनाव प्रचारका क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु भनेका थिए । मेलम्चीको पानी ल्याएर राजधानीको सडक पखाल्ने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको घोषणासँगै मेलम्ची खानेपानी आयोजनासँग राजधानीवासीको सपना जोडियो ।
मेलम्चीबाट काठमाडौंमा पानी ल्याउने योजना त वि.सं २०४१ मै तयार भएको थियो । राजधानीमा जनसंख्या बढ्दै जाँदा भएका पानीका स्रोतले नपुग्ने देखियो र खानेपानी विभागले वैकल्पिक स्रोतहरूको खोजी सुरु ग-यो । उति बेला मेलम्ची आयोजनाका लागि जम्मा २ अर्ब लागत अनुमान गरिएको थियो ।
वि.सं. २०४८ तिर अस्ट्रेलियन स्मेक कन्सल्टेन्ट कम्पनीले मेलम्चीको सम्भाव्यता अध्ययन गर्ने जिम्मा पायो । सो अध्ययनले अरू विकल्प छैन, टनेल बनाएर लैजाने हो भने सकिन्छ भन्ने देखायो । साथै यांग्री र लार्के खोलाको पानी पनि थप्न सकिने सो अध्ययनले देखायो । त्यसपछि बृहत् सम्भावना अध्ययनबाट पनि राम्रो सम्भावना देखिएपछि मेलम्ची प्रोजेक्टको काम अघि बढ्यो । वि.सं. २०४८ मै सबै अध्ययन सकिसकेको थियो ।
२०४८ सालदेखि हालसम्म आउँदा अर्थात् यो २७ वर्षे अवधिमा नेपालमा १८ जना व्यक्ति प्रधानमन्त्री भए । प्रजातन्त्रको पुनःस्थापनापछि बनेका सरकारहरूले मेलम्ची खानेपानी आयोजनालाई प्राथमिकता त दिए, तर व्यवहारमा यो आयोजना त्यति धेरै तीव्र गतिमा अघि बढ्न सकेन । हरेक वर्ष जसो सरकारले बजेट भाषणमा मेलम्ची आयोजनाका लागि बजेट छुट्याउने गरे पनि खासै उपलब्धिमूलक ढंगले प्रगति हुन सकेको देखिएन । राजनीतिक अस्थिरता, बन्द, हड्ताल र आन्दोलनको मारमा मेलम्ची सधैं प¥यो । पटक–पटक हुने गरेको सरकार परिवर्तनले पनि मेलम्चीलाई गिज्याइरह्यो ।
आयोजनाको विकासक्रम हेर्दा आव ०५५-५६ (सन् १९९८, अगस्ट) मा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालय मातहत रहने गरी मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । सन् १९९९ मा विश्व बैंक तथा नरप्लानको सहयोगमा मेलम्ची आयोजनाको सम्भाव्यता अध्ययन भएको थियो । सोही अध्ययनकै आधारमा सन् २००१ मा एसियाली विकास बंैक आयोजना लगानीमा सहमत भई ऋण सम्झौता भएको हो । सन् २००० मा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि प्रारम्भिक चरणको कार्य सम्पन्न गरी सन् २००१ मा एसियाली विकास बैंकद्वारा १ सय २० मिलियन अमेरिकी डलरबराबरको ऋण सम्झौता स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना विधिवत रूपमा सुरु भएको थियो ।
मेलम्ची आयोजनाको सन् २००८ मा पुनर्संरचनापश्चात् मेलम्ची डाइभर्सन स्किम उपआयोजना–१ का लागि कुल लागत २४९.४० मिलियन अमेरिकी डलर रहेकोमा सुरुङ निर्माण कार्य समयमा हुन नसकी पुनः ठेक्कापट्टा गर्दा लागत वृद्धि हुन गयो । वृद्धि भएको लागत व्यवस्थापनका लागि नेपाल सरकारबाट थप १३.०८ मिलियन र एडीबीबाट २५ मिलियन अमेरिकी डलर थप बेहार्ने गरी ७ अप्रिल सन् २०१४ मा ऋण सम्झौता भएको थियो ।
चाइना रेल्वे ब्युरो–१५ नामक चिनियाँ कम्पनीले सन् २००८ सम्म काम गरेर छाडेपछि इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुराटोरी सिमेन्टिस्टी सीएमसी दि राभेनासँग बाँकी काम गर्न सम्झौता भएको थियो । त्यतिबेला पुनः लागत संशोधन गरेर २८.७४ करोड डलरमा झारिएको थियो । यसको कुल लागत जम्मा २८७.४ मिलियन अमेरिकी डलर रहेको छ ।
जब नेपालमा २०७२ सालमा नयाँ संविधान जारी भयो त्यसपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले खानेपानी मन्त्रालय गठन ग-यो । मेलम्ची आयोजनालाई यही मन्त्रालयअन्तर्गत राखियो । यो मन्त्रालय गठन भएको तीन वर्ष पुगेको छ । तीन वर्षको अवधिमा पाँच जना खानेपानी मन्त्री भए । अस्थिर सरकारका कारण मेलाम्ची आयोजना सबैभन्दा बढी प्रभावित बन्यो । तर, २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भयो । आयोजनाले २६ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ ।
यतिका वर्षसम्म काम पूरा नभई त्यसै अल्झिएको थियो मेलम्ची । सुरुङ खन्ने काम सकिएपछि अहिले सुरुङको फिनिसिङ गर्ने कार्य धमाधम चलिरहेको छ । प्रतिदिन २ सयदेखि साढे २ सय मिटरको दरले फिनिसिङ कार्य भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हालसम्म १५ किलोमिटर सुरुङको फिनिसिङ कार्य सकिएको छ भने अब करिब ११ किलोमिटर मात्र बाँकी छ । बाँकी फिनिसिङ कार्य अब दुई महिनामा सकिएपछि काठमाडौं उपत्यका भित्र मेलम्चीको पानी आउने निश्चित छ ।

शुकदेव चापागाई

प्रतिक्रिया दिनुहोस्