Logo

महामारीमा आयोजना सुचारु गर्न एडीबीको नयाँ मापदण्ड

कोभिड–१९ महामारीबीच पनि विकास आयोजनालाई सुचारु राख्न एसियाली विकास बैंक (एडीबी) ले जोखिम व्यवस्थापनका लागि नयाँ मापदण्ड अघि सारेको छ । कोरोना महामारीले आयोजना प्रभावित भइरहेको बेला कार्यस्थलमा निर्माण कार्य सुचारु गर्न स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युअर (एसओपी) अघि सारेको हो । एडीबीले आफ्नो सहयोगमा सञ्चालित सबै विकास परियोजनाहरूमा यो मापदण्ड अपनाएर निर्माण कार्य निर्वाध रूपमा अगाडि बढाइरहेको जनाएको छ । बैंकले आफ्ना शतप्रतिशत लगानी रहेका विकास परियोजनामा यो एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाएकोे एडीबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको छ । यसरी बनेको एसओपी अन्तर्राष्ट्रिय उत्तम अभ्यास तथा विभित्र अन्तर्राष्ट्रिय स्वास्थ्य तथा विकाससँग सम्बन्धित संस्थाहरूले जारी गरेका निर्देशिकाहरूलाई पालन गरी बनाइएको एडीबीले जनाएको छ ।
कोभिड १९ जोखिमका कारण अहिलेसम्म पनि अन्य स्रोतहरूबाट सञ्चालित धेरै विकास परियोजनाहरू अगाडि बढ्न सकिरहेका छैनन् । एडीबीले अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरू अवलम्बन गर्दै कार्य सुरु गर्दा पालना गर्नुपर्ने एसओपी बनाएर मेदेखि नै लागू गर्न आयोजना कार्यान्वयन निकायहरूलाई परिपत्र गरेको थियो । मार्चमा लकडाउन सुरु भएपछि कोडिभका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाइएको बैंकले जनाएको छ । कोभिड जोखिम व्यवस्थापनसम्बन्धी सरकार तथा अन्य आधिकारिक निकायहरू जस्तै डब्लुएचओ, आइएलओ, आईएफसीले तोकेका मापदण्डहरू अपनाई रोकिएका काम सुचारु गर्न एडिबीले मे महिनाको सुरुदेखि नै आयोजना कार्यान्वयन निकायलाई परिपत्र गरेको थियो । त्यसका लागि एडीबीले सबै परियोजना कार्यान्वयन निकायसँग दु्रत सर्वेक्षण गरी ती निकायले माग गरे अनुुसार जुलाई २१ देखि २३ सम्म सबै आयोजना कार्यान्वयन निकाय, परामर्शदाता तथा निर्माण ब्यवसायीहरूलाई एससोपी कार्यान्वयनबारे अभिमुखीकरण तथा परामर्श दिएको एडिबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले बताए ।
एसओपीमा निर्माण कार्य सुरु गर्दा व्यवस्था गर्नुपर्ने मुख्य दुई क्षेत्रहरू कार्यस्थलको व्यवस्थापन र कर्मचारीहरूको जनस्वास्थ्यको व्यवस्थापनका विषयमा पालना गरिनुपर्ने व्यवस्थाहरू स्पष्ट रूपमा दिइएको बैंकले जनाएको छ । निर्माण व्यवसायीको कार्यालय व्यवस्थापनमा कार्यालय क्षेत्रको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, कोभिड संक्रमण रोकथामका लागि कर्मचारीले पालना गर्ने व्यतिmगत अभ्यासहरू पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सुरु गरिएको थियो । त्यसक्रममा भौतिक दूरी, व्यतिmगत व्यवहार, बैठकमा भाग लिँदा गर्नुपर्ने नियम, निर्माण क्षेत्रमा जाँदा अपनाउनु पर्ने उपाय स्पष्ट रूपमा जानकारी गराइएको थियो ।
त्यसैगरी निर्माण कार्य सुचारु गर्दा अपनाईने कार्यविधिहरूमा काम सुरु गर्नु अघि कामदारको व्यवस्थापन, प्रवेशद्वारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलीकरण, सामान लोड–अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदारहरूको बस्ने शिविर (क्याम्प) को उचित व्यवस्थापन गरिएको सिंहले बताए । आपतकालीन प्रोटोकलतर्फ आकस्मिक उपचारको तयारी, संक्रमणयुक्त केसमा आकस्मिक प्रोटोकल एवं क्वारेन्टाइनको व्यवस्था पनि आयोजनाहरूमा गरिएको छ ।
एसओपीको उद्देश्य भनेको नै भाइ्रस संक्रमणबाट बच्न रोकथाम, संक्रमण परीक्षण तथा आपत्कालीन प्रक्रियाको प्रणालीगत व्यवस्था गर्नु रहेको एडीबीले जनाएको छ । जोखिम व्यवस्थापनका लागि कार्य, सञ्चार तथा मानव व्यवहारको संयुक्त कार्यक्रम, सरकारद्वारा जारी निर्देशन, निर्देशिका र अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुशरण गर्नु र विकास आयोजनालाई निरन्तरता दिनु नै एसओपीको मूख्य लक्ष्य रहेको बैंकले जनाएको छ ।
एसओपी आयोजनाको वातावरणीय व्यवस्थापन योजना तथा पेशागत स्वास्थ्य र सुरक्षा योजनाको पुरक योजना भएको एडीबीले जनाएको छ । आयोजनामा प्रयोग भइरहेको वातावरणीय व्यवस्थापन योजना तथा पेशागत स्वास्थ्य र सुरक्षा योजना तथा अन्य दस्तावेजलाई एसओपीले विस्थापन नगर्ने जनाइएको छ । एसओपीले नेपाल सरकारको प्रचलित कानुनी तथा विकास साझेदारहरूको प्रावधानहरूको पालना गरेको पनि बैंकले जनाएको छ ।
कार्यक्रममा एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटहरूमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए । एडीबीसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको वेभिनारमा उनले बैंकले तयार पारेको एसओपी आयोजनाहरूमा लागू भईरहेको र एउटा राम्रो सुरुवात भएको जानकारी दिए । यसले निर्माण क्षेत्रमा कोभिड–१९ को जोखिम कम गराउन र कर्मचारीहरूमा संक्रमण फैलिन नदिएको उनले बताए ।
बैंकको लगानीमा निर्माणाधीन परियोजनाहरूले पहिले नै एसओपीको विकास गरेको र प्रयोगमा पनि ल्याउनु सुखद् भएको उनले बताए । विकास परियोजनालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले एडिबीले एसओपी बनाएर निर्माणलाई निरन्तरता दिएको उनको भनाइ थियो । कार्यक्रममा एडीबीले बनाएको जस्तै एसओपी बनाएर अन्य विकास परियोजनालाई अगाडि बढाउन सकिने पूर्वसचिव सुमन शर्माले बताए । “सरकारले सुरक्षित भएर काम गर्नुहोस त भनेको थियो तर परियोजनाका कसरी काम गर्ने भन्ने प्राक्टिकल विषयबारे केही भनिएको थिएन, एसओपीको खाँचो थियो । यो एउटा राम्रो सुरुवात हो,” उनले भने । एडीबीले बनाएको एसओपी कार्यान्वयनमा समेत आइसकेको र त्यसको प्रभाव प्रोजेक्ट क्षेत्रमा समेत देखिएको एसओपी कार्यान्वयन गरेका परियोजनाको अनुभवले देखाएको भन्दै यसले यसले सकारात्मक सन्देश दिएको बताए । कोभिड १९ ले विश्वसहित नेपालको अर्थतन्त्रमा पारेको प्रभाव पारेको यसले वेरोजगारीको संख्या बढाएको, एवं वैदेशिक रोजगारीबाट फर्किको भन्दै स्वदेशमै रोजगारी दिने व्यवस्थाका लागि पहल आवश्यक भएको बताए । “निर्माण आयोजनामा हामीले बाहिरबाट कामदार ल्याउने, हाम्रा जनशक्ति विदेश जानुपर्ने स्थितीलाई हटाउनु सक्छु पर्छ । त्यसका लागि एडीबी जस्ता संस्थाहरूले पनि सहयोग गर्नुपर्ने देखिन्छ” उनले भने ।
कार्यक्रममा वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहसहित एडीबीका सामाजिक विकास अधिकृत लक्ष्मीप्रसाद सुवेदी, वागमती नदी सुधार आयोजनाका निर्देशक नवराज प्याकुरेल, काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको काठमाडौं उपत्यका वेष्ट वाटर ट्रिटमेण्ट परियोजनाकी सेफगार्ड यूनिट प्रमुख लक्ष्मी पन्तले परियोजनाहरूमा एसओपी कसरी कार्यान्वयनमा रहेको र त्यसको सफलताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने परियोजना निर्माण गरिरहेका निर्माणकर्ताहरूले पनि एसओपीको कार्यान्वयनले परियोजना कसरी अगाडि बढिरहेको छ भन्ने अनुभव सुनाएका थिए ।
विकास आयोजनामा कोभिडको प्रभाव :
केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार २०१९—२०२० मा निर्माण क्षेत्रको योगदान ४८८ अर्ब रुपैयाँ थियो । निर्माण क्षेत्रमा १७ लाख कामदार कार्यरत छन् जसमा तीन लाख जना महिनावारी तलब लिने छन् । तर महामारी पछाडि ५० प्रतिशतले मात्र तलब पाएका छन् । बाँकी १४ लाखमध्ये ९५ प्रतिशत जतिले रोजगारी गुमाएका छन् । महामारीले आपूर्ति व्यवस्थालाई भत्काएको छ । खानीजन्य, क्रसर तथा फलामजन्य उद्योग बन्द भएका छन् । यसले समग्र निर्माण कार्यलाई ठप्प बनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वार्षिक आठ खरब बराबरको विकास निर्माणको काम हुन्छ । निर्माण क्षेत्रले करिब ८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा सहयोग गर्छ र ३५ प्रतिशत बजेट उपयोग गर्छ । करीब ३० लाख मानिसहरूले निर्माणका आयोजनाहरूमा काम गर्छन् । कोभिडले सबै निर्माण आयोजनाहरूलाई कम्तिमा एक वर्ष पछाडि धकेलेको छ ।

प्रतिक्रिया दिनुहोस्