दसैंमा नयाँ व्यवसायको सुरुवात «

दसैंमा नयाँ व्यवसायको सुरुवात

बिर्तामोड-भर्खसै सम्पन्न बडादसैंका बीचमा झापाको बिर्तामोडमा धेरैले नयाँ व्यवसाय सुरु गरेका छन् । तर, केही व्यवसाय भने पृथक सन्देश दिने उद्देश्यका साथ सञ्चालन गरिएका छन् । घरमै होटल तथा केटाकेटी रमाउने ठाउँ खोल्नु र बराबरी पैसा हालेर व्यवसाय सुरु गर्नु यहाँको नयाँपन पनि हो ।

दाजुभाइको व्यवसाय
बिर्तामोडका युवा व्यवसायी हिमालय र नारायण प्रसाईंले दसैंमा फरक व्यावसायिक जुक्ति निकाले । उनीहरूले बिर्तामोडमा एकै पटक दुईवटा व्यवसाय सुरु गरे । असोज २७ गते उनीहरूले किड्स जोन खोले । जहाँ विद्युत् प्रयोग नभएका सामग्रीबाट बालबालिकाले दिनभर मनोरञ्जन लिन सक्छन् । जोनमा दुई वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका खेल्छन् । व्यस्त अभिभावकले दिनभर बालबालिका किड्स जोनमा लगेर छोड्न सक्ने वातावरणा पनि सिर्जना भएको छ । दाजुभाइको विदेशको अनुभव र स्वदेशमै धेरै ठाउँ सामूहिक लगानी गरेका हिमालयले ह्याप्पी किचन नाम दिएर पारिवारिक वातावरणको भान्सा घर पनि सञ्चालनमा ल्याए । परिवारकै सदस्य व्यवसायमा खटेका छन् । ह्याप्पी किचन हिमालयकी श्रीमती कृष्टिना र दाजु नारायणले चलाउँछन् । किड्स जोनमा बुबा तुलसीप्रसाद र नारायण खट्छन् । बजार व्यवस्थापन हिमालयको जिम्मामा छ ।
दुवै व्यवसायमा ६५ लाख रूपैयाँभन्दा बढी लगानी भएको छ । पारिवारिक खाजा घर र बालबालिकाका लागि सुविधा सम्पन्न खेल्ने ठाउँ एकै साथ खोल्नु प्रसाईं दाजुभाइको नयाँ सोच हो । २५ प्रकारका विभिन्न खेलकुदका सामग्री जोनमा राखिएका छन् । बिर्तामोडको बढ्दो जनसंख्यालाई ध्यानमा राखेर खेलकुद र स्वास्थ्यका लागि किड्स जोन खोलेको हिमालयले बताए ।

सामूहिक लगानीमा वर्गर
यो सामूहिक लगानीको एउटा उदाहरण हो । ६ जना युवा मिलेर बिर्तामोडमा वर्गर कर्नर सञ्चालनमा ल्याए । यो साईत पनि दसैंको बीचमै जु-यो । १५ लाख रूपैयाँको लगानी उनीहरूले दामासायी रूपमा जुटाए । विभिन्न पेसा, व्यवसाय गर्ने उनीहरू मिलेर कर्नर खोले । वर्गरकै लागि मात्र कर्नर खोलेको सञ्चालक विरु दर्नाल बताउँछन् । राम्रो चले शाखा पनि खोल्ने अर्का सञ्चालक केशव मैनालीले बताए ।
लगानीका लागि सोच चाहिँन्छ, विचार र वाद व्यवसायमा लागू हुँदैन । बिर्तामोडमा उनीहरूले त्यही मान्यता स्थापित गर्ने सोच बनाए र कर्नर खोले । जहाँ बिर्तामोडका व्यवसायी दर्नाल, केशव मैनाली, हरि धिमाल, दिनेश चेम्जोङ, श्रवण पञ्जियार र कुवेर श्रेष्ठको लगानी छ । साहाकारी र मांशाहारी दुवै वर्गर उपलब्ध उक्त कर्नरबाट ‘होम डेलिभरी’ सुविधासमेत छ । जसले जतिबेला पनि ‘किचन’को अवलोकन गर्न सक्ने सुविधा अन्य खाजा घरको भन्दा फरकपन भएको सञ्चालकहरू बताउँछन् ।

१ करोड लगानीमा वर्कसप
यो सेवाभावको व्यवसाय हो । जहाँ व्यापार मुख्य उद्देश्य राखिएको छ । यातायात र अन्य क्षेत्रमा काम गर्नेहरू मिले खोले स्वस्तिक यातायात अटो इन्जिनियरिङ वर्कसप । वर्कसपमा १० जनाको एक करोड लगानी छ । बिर्तामोड–१ मा महाअष्टमीका दिन समान १०-१० लाख खर्चेर वर्कसप सञ्चालनमा ल्याइएको हो । जहाँ टंकप्रसाद दवाडी, दिनेश सिटौला, रामप्रसाद घिमिरे, शेखर ढकाल, उमानाथ पाण्डे, यादवकुमार ओली, डिल्ली सिटौला, यादवचन्द्र दाहाल, फणिन्द्रराज दाहाल र कृष्णप्रसाद प्रसाईंको लगानी छ ।
सार्वजनिक यातायात सञ्चाल गर्ने, साना–ठूला सबै सवारी साधानको मर्मत र पाठपूर्जा बिक्री गर्ने उद्देश्यले वर्कसप खोलेको सञ्चालक दवाडीले बताए । “मन मिल्ने बीचमा नै टिम बनाएका हौं,” दवाडीले भने, “जे–जे परे पनि मिलेरै गर्छौं, त्यही भएर सामूहिक लगानी सम्भव भएको हो ।” धार्मिक विश्वास अनुसार महाअष्टीमका दिन फलामको व्यवसाय सुरु गर्ने परम्परा छ । त्यही परम्परालाई निरन्तरता दिँदै व्यवसाय सुरु गरेको उनीहरू बताउँछन् । हिजोदेखिकै यातायात क्षेत्रको अनुभवका आधारमा व्यवसाय खोलेको बताउने उनीहरू विश्वसनीय र भर पर्दो सेवा स्वस्तिको हुने दाबी गर्छन् । लामो अनुभव व्यवसायिक सफलताको आधार भएको सञ्चालक दवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्