३५ वर्षे मेसिनको भरमा हेटौंडा सिमेन्ट

उत्पादन क्षमतामा ह्रास, मेसिनकै कारण बन्दैबन्द
हेटौंडा-सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग ३५ वर्ष पुरानो मेसिनको भरमा सञ्चालन भइरहेको छ । उद्योगमा रहेका मेसिनहरू एकपछि अर्को गर्दै भाँचिने, बिग्रने र मर्मत गर्ने शृङ्खला चलिरहँदा उद्योग पछिल्ला वर्षहरूमा घाटामा गइरहेको छ ।
२०४२ सालबाट सञ्चालनमा रहेको उद्योगको स्तरीकरण हुन नसक्दा उत्पादनमा समेत ह्रास आएको छ । प्रतिदिन १८ हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योगमा पछिल्लो वर्षहरूमा मुस्किलले ८ हजार बोरा सिमेन्ट उत्पादन हुन्छ । “उद्योगका मेसिनहरू निकै पुराना भए, सरदरमा एउटा मेसिनको आयु १८-२० वर्षभन्दा बढी त हुँदैन । हामीले त ३५ वर्षदेखि त्यहि मेसिन घोटिरहेका छौं,” उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले भन्छन्, “मेसिन धेरै पुराना भएकाले अहिले त मेजर पार्टहरू नै भाँचिने र बिग्रने गर्न थाले । पुराना प्रविधिको मेसिनहरू भएकाले अहिले पार्टपूर्जासमेत पाउन छाडेको छ ।”
उद्योगको क्षमता विस्तारको लागि प्रयास भएता पनि उद्योग मन्त्रालयले काम भने अघि बढाएको छैन । उद्योगले गत वर्ष विस्तृत प्राविधिक अध्ययन गराई क्षमता विस्तार प्रस्ताव तयार गरे पनि मन्त्रालयमा भने हालसम्म बुझाइएको छ । मन्त्री र उद्योगको सञ्चालक समितिको अध्यक्षसमेत फेरबदल भइरहेका कारण उद्योगको प्रस्तावपत्रमाथि छलफल अघि बढ्न सकेको छैन । उद्योगको क्षमता विस्तार गर्न करिब ३ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमानसहितको प्रस्तावपत्र गत वर्ष नै तयार गरिएको महाप्रबन्धक सिंहले बताए । प्रस्तावपत्र मन्त्रालयमा पेश गर्ने र क्षमता विस्तार गर्नेबारे चाँडै नै छलफलमा जाने उनको भनाइ छ ।
दैनिक ३ हजार टन उत्पादन क्षमतामा विस्तार गर्ने र उत्पादन लागतसमेत अहिलेको तुलनामा निकै कम हुने अनुमानसहितको प्रस्तावपत्र उद्योगले तयार गरेको थियो । दैनिक तीन हजार टन उत्पादन क्षमता बनाउँदा लाग्ने मेसिन, बजेट, जनशक्तिदेखि सबै अनुमान प्रस्तावपत्रमा समेटिएको उद्योगले जनाएको छ । सरकारी स्वामित्वमै सञ्चालित उदयपुर सिमेन्ट उद्योगसँग मर्ज गर्नेबारे छलफल पनि पछिल्लो समय सुरु भएपछि उद्योगले तयार गरेको क्षमता विस्तार प्रस्ताव अघि बढ्न नसकेको हो । उदयपुर सिमेन्ट उद्योगसँग मर्ज गर्न सकिन्छ कि सकिँदैन भनी राय पठाउन भन्दै केही दिनअघि उद्योग मन्त्रालयले उद्योगलाई पत्रसमेत पठाएको उद्योग प्रशासनले जनाएको छ ।
उद्योग बन्दको शृङ्खला
पछिल्ला ११ दिनदेखि हेटौंडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन ठप्प छ । उद्योगको प्रिहिटर फ्यानको साप भाँचिएपछि गत असोज ४ गतेदेखि उद्योगको काम बन्द गरेर मर्मतको काम भइरहेको छ । फ्यान मर्मतको काम सकिन अझै केही दिन लाग्ने जनाइएको छ । अहिले धमाधम मर्मको काम गरिरहेको र असोज २० गतेसम्मको कामको तालिकै बनाइएको उद्योगका इन्जिनियर रामप्रित चौधरीले बताए ।
मेसिनमा आएको खराबीका कारण कयौंपटक हप्तौंदेखि महिनौंसम्म उद्योग बन्द हुने गरेको छ । चैतयता उद्योग करिब ३ महिनाभन्दा बढी बन्द भएको छ । कोइला आयात नहुँदा चैत र वैशाखको बीचमा एक महिना र असारदेखि भदौसम्म करिब २ महिना उद्योगको क्लिङ्कर उत्पादन बन्द गर्नुपरेको नायब महाप्रबन्धक नविनकुमार कर्णले बताए । “कहिले कोइला अभाव त कहिले मेसिन र जेनेरेटरमा आउने खराबीका कारण बेलाबेला बन्द गर्नुपरिरहेको छ,” उनले भने । जेठ महिनाभर क्लिङ्कर उत्पादन भए पनि असार २४ गतेबाट पुनः क्लिङ्कर उत्पादन बन्द भयो ।
कोइलाकै अभावका कारण बन्द भएकोमा साउन १ गते पुनः मेसिन सञ्चालनको प्रयास गरिएकोमा किलन सेलको जेनेरेटर बिग्रियो । जेनेरेटर भाडामा ल्याएर साउन १३ गतेबाट क्लिङ्कर उत्पादन पुनः सुरु भयो । सञ्चालन भएको दुइ साता नपुग्दै अन्य समस्या देखिएको भन्दै साउन २५ गतेबाट पुनः उद्योग बन्द भएकोमा एक महिनापछि भदौ २५ गतेदेखि क्लिङ्कर उत्पादन सुरु भएको थियो । नियमित उत्पादन सुरु भएको दुई साता हुँदै गर्दा असोज ४ गते प्रि हिटर मेसिन बिग्रिँदा पुनः क्लिङ्कर उत्पादन रोककिएको हो । आर्थिक वर्ष ७५÷७६ मा पनि उद्योग पटकपटक बन्द भयो । जसका कारण उद्योगले घाटा बेहोर्नुप-यो । ०७५-०७६ को वैशाख र असार महिनामात्र मात्र तीनपटक उद्योग बन्द भएको थियो । वैशाख १६ गते, असार २ गते र १६ गते मेसिनमा समस्या आएपछि उद्योगको उत्पादन बन्द भएको थियो ।
निरन्तर घाटामा
उद्योगमा मेसिनमा आएको खराबीका कारण पटकपटक बन्द हुँदा उद्योगले दुई आर्थिक वर्षयता घाटा बेहोरेको छ । आर्थिक वर्ष २०७५-७६ र ०७६-७७ मा निरन्तर घाटा बेहोरेको हो । आव २०७२-७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग आव २०७५-०७६ मा मेसिनमा खराबीका कारण लामो समय बन्द हुँदा घाटामा गएको थियो । त्यस वर्ष उद्योगले करिब १ करोड ५ लाख रुपैयाँ घाटा बेहोरेको उद्योगको लेखापरीक्षणबाट देखिन्छ । आर्थिक वर्ष २०७६-७७ मा उद्योगले झण्डै ५ करोड रुपैयाँ घाटा हुने अनुमान गरेको छ । यद्यपी लेखापरीक्षण भने भइसकेको छैन ।
कोरोना भाइरसको प्रभावका कारण सिमेन्ट बिक्री हुन नसकेको र उत्पादनमा पनि ह्रास आएका कारण उद्योग बितेको वर्ष पनि घाटामा गएको उद्योगको भनाइ छ । उद्योगले बितेको आर्थिक वर्ष २०७६-७७ मा १९ लाख बोरा सिमेन्ट र क्लिङ्कर उत्पादन गरेकोमा १४ लाख ५५ हजार ९ सय ६ बोरा मात्रै सिमेन्ट बिक्री गरेको उद्योगको बिक्री महाशाखाको तथ्यांकमा उल्लेख छ । उद्योगमा हाल २ सय ९० जना कर्मचारी कार्यरत छन् । हाल हेटौंडा सिमेन्टको प्रतिबोरा लागत मूल्य ६ सय ६० रुपैयाँभन्दा बढी पर्ने जनाइएको छ । बिक्री मूल्य भने ७ सय ४६ रुपैयाँ मात्रै छ । आर्थिक वर्ष २०७२-७३ मा ३० करोड रुपैयाँ नाफा गर्न सफल भएको उद्योगले आब २०७३-७४ मा २२ करोड रुपैयाँ, २०७४-७५ मा २३ करोड रुपैयाँ नाफा गरेको थियो ।