इसेवाले पायो आइएसओ २७००१ः २०१३ मान्यता प्राप्त प्रमाणपत्र

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशक भन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि गरेको छ ।
आइएसओ २७००१ः२०१३ (हालको संस्करण) संसारमा सबैभन्दा विश्वसनिय सूचना सुरक्षा व्यवस्थापन मापदण्ड जाच्ने एउटा महत्वपूर्ण आधारको रूपमा मानिन्छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मूख्य आधार नै आइएसओलाई चिनिन्छ । यसले सुरक्षा व्यवस्थापन प्रणालीका लागि विभिन्न मानकहरुको बारेमा विश्लेषण गर्दै कम्पनीहरुको सूचना सुरक्षा र गोपनियता व्यवस्थापनमा सूचना सुरक्षा जोखिमबाट माथि उठाउँछ ।
आइएसकोको यो प्रमाणपत्र प्राप्त गरेसँगै इसेवाले सूचना सुरक्षा प्रणाली व्यवस्थापनमा निर्माण गरेको संरचना विश्वस्तरिय रहेको थप पुष्टि भएको छ । नेपालमा डिजिटल भुक्तानीको व्यवस्थाको थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा हाल खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढी रहेको छ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको छ । हाल इसेवाका देशभर एक लाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् भने इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करिब ३५ लाख छ ।