थप १७ जिल्लाका सीडीओमा उपसचिव «

थप १७ जिल्लाका सीडीओमा उपसचिव

सरकारले सहसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहने १७ जिल्लाको स्तर घटुवा गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि भन्दै मन्त्रिपरिषद बैठकले सहसचिव सिडिओ रहेका १७ जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहने गरी जिल्लाको स्तर घटुवा गरेको हो ।
असोज ५ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयमा भनिएको छ– १७ जिल्लाका राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीको दरबन्दीलाई हालका लागि राप द्वितीय श्रेणीको प्रमुखजिल्ला अधिकारीको दरवन्दी कायम गर्ने ।
क बर्गबाट घटुवा भएसँगै यी जिल्लामा उपसचिवहरूलाई प्रजिअ बनाएर खटाइएको छ । गृह मन्त्रालयका अनुसार इलाम, उदयपुर, सप्तरी, बारा, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, नवलपरासीका बर्दघाट पूर्व र पश्चिम, गुल्मी, बर्दिया, डोटी र सिन्धुपाल्चोकमा अर्को व्यवस्था नभएसम्मका लागि उपसचिव प्रमुख जिल्ला रहने छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरसहित तराई र पहाडका ४० भन्दा बढी जिल्लामा सहसचिव प्रमुख जिल्ला अधिकारीका रुपमा तैनाथ थिए । सहसचिव प्रजिअ रहने जिल्लालाई ‘क’ बर्गको जिल्लाका रुपमा राखिएको थियो ।
“कुन जिल्लामा कुन तहका कर्मचारीलाई प्रजिअ बनाउने भन्ने कुरा सरकारको अधिकार हो, त्यसै अनुसार अर्को व्यवस्था नभएसम्म सहसचिवको सट्टा १७ जिल्लामा अवदेखि उपसचिवलाई प्रजिअ बनाउँने व्यवस्था गरिएको छ,” गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, “त्यसैअनुसार जनशक्ति व्यवस्थापन गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्