गण्डकीको बजेट ५७ करोड ४२ लाख रुपैयाँ «

गण्डकीको बजेट ५७ करोड ४२ लाख रुपैयाँ


गोरखाको गण्डकी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७-०७८ का लागि ५७ करोड ४२ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बजेट विनियोजन गरेको छ । निर्धारित समयभन्दा तीन महिना ढिलो गरी बुधबार बसेको छैटौं गाउँसभाले चालु आर्थिक वर्षको बजेट पारित गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले प्रस्तुत गरेको बजेट गाउँसभाले सर्वसम्मत पारित गरेको हो ।
संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक आयलाई समेटेर ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको उपाध्यक्ष ललिता अधिकारीले बताइन् । जसअन्तरगत चालुतर्फ ३२ करोड ३२ लाख ४३ हजार रुपैयाँ र पुँजीगततर्फ २५ करोड १० लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण तथा विपद् व्यवस्थापन कार्यका लागि एक करोड रुपैयाँ छुट्टाइएको छ । बेरोजगालाई रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यलाई बजेटमा प्राथमिकता दिइएको छ ।
पालिकाले कृषि तथा पशु जन्य उत्पादनमा आत्मनिर्भर बन्ने नीति लिएको छ । जसअनुसार वडा नं. १, ५, ६, ७ र ८ लाई बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र तथा वडा नं. ३, रु ४ लाई कुखुरा पालनको पकेट क्षेत्रको रुपमा घोषणा गरी त्यहाँ उत्पादित तरकारी तथा अण्डालाई गाउँपालिका भरी बिक्री वितरण गरिने भएको छ । वडा नं. २ लाई सुन्तला पकेट क्षेत्रको रुपमा अगाडि बढाइने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, एक बस्ती एक व्यावसायिक अर्गानिक खेती कृषक समूहहरुलाई बिउ खरिद गरी एक घर पाँच फल नीतिअन्र्तगत विरुवा अनुदान दिइने भएको छ ।
बरोजगार युवा, गरिब, विपन्न, दलित तथा एकल महिलाहरुलाई लक्षित गरी पशुपन्क्षी कार्यक्रम (बाख्रा, गाई, भैंसी बंगुर, ब्रोइलर तथा लेयर्स कुखुरा, कालिज, खरायो) अन्र्तगत कोषको व्यवस्था गरी व्यवसाय सञ्चालन गर्न अनुदान दिने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । गाँउपालिकामा स्वदेश तथा विदेशबाट रोजगारी गुमाएका युवाहरुको रोजगार बैंक स्थापना गरी सोहीबाट पूर्वाधार निर्माणका कार्यक्रमहरुमा श्रमिक आपूर्ति गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष होमबहादुर राना मगरले बताए । ‘आफ्नो माटो चिनौ, आफ्नै गाँउ बनाऔं’ भन्ने नारासहित स्वावलम्बन अभियानमा युवाहरुलाई समाहित गर्दै जाने नीति रहेको उनको भनाइ छ । घरमा हुने सुत्केरीको अवस्थालाई शुन्य बनाउन सुत्केरी आमाहरुको पौष्टिक आहारका लागि पोषणयुक्त सामग्रीहरु र प्रोत्साहन रकमसहितको आमा कोसेली कार्यक्रम लागू गरिने भएको छ । भौतिक पूर्वाधार तर्फको सडक योजनाअन्र्तगत विनियोजन हुने बजेटको ८० प्रतिशत बजेट प्रमुख सडकहरुको स्तरोन्नतिमा खर्च गर्ने पालिकाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्