२ करोड खर्चेर पीपीएल क्रिकेट «

२ करोड खर्चेर पीपीएल क्रिकेट

उद्घाटन खेलमा पोखरा पल्टनविरुद्ध विराटनगर

पोखरा-पोखरामा पहिलो पटक हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कात्तिक २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।
शुक्रबार उद्घाटन खेलमा घरेलु टिम पोखरा पल्टनसँग विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने भएको छ । उद्घाटन खेल दुबै टिमले जित्ने दाबी गरेका छन् । राष्ट्रिय खेलाडी शरद भेषवाकारको कप्तानिमा मैदानमा उत्रिन लागेको पोखराले २ जना विदेशी खेलाडीको समेत टुंगो लगाएको छ । पोखराको टिमको लागि भारतका रवि ईन्दर सिंह पोखरा आइसकेका छन् भने यूएईका मोहम्मद नभिद पनि पोखरा आउँदै गरेको पोखरा टिमका प्रशिक्षक विनोदकुमार दासले बताए । आफूहरूसँग राष्ट्रिय तथा युवा खेलाडीहरू र घरेलु दर्शकको साथ हुनाले उद्घाटन खेलमा जित हुने उनले दाबी गरे । पोखरा पल्टनको टिममा पोखराका दीपेस खत्री र सुमन घिमिरेले स्थानीय खेलाडीको रुपमा अवसर पाएका छन् । पोखरा पल्टनका कप्तान भेष्वाकरले आफूहरू केही दिनदेखि पोखरामा प्रशिक्षण गरेकोले घरेलु मैदानमा दर्शकको साथ हुनाले आफुहरूले उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाए ।
यता, विराटनगर टाइटन्सले २ जना विदेशी खेलाडीहरूको नाम अझै सार्वजनिक गरेको छैन । यद्यपी खेलाडीहरूसँग कुराकानी भइरहेको तर केही प्राविधिक कुराले गर्दा खेलाडीहरूको टुंगो नलागेको विराटनगरका विजय धितालले जनाए । राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिन लागेको बिराटनगरले मिनस थापा र लव कामललाई स्थानिय खेलाडीको रुपमा समावेस गरेको छ । आफुहरूसंग अनुभवी र युवा खेलाडीहरूको टिम भएको हुदा उद्घाटन खेलमा जित हुने धितालले दाबी गरे ।

इभेन्टका प्रबन्ध निर्देशक लामाका अनुसार पोखरा रंगशालामा हाल ४ वटा पिच निर्माण भएको छ । ४ हजार दशक क्षमताको अस्थायी प्यारापिट निर्माण भएको उनले जनाए । ६ टिमको सहभागिता हुने प्रतियोगितामा विजेताले सर्वाधिक पुरस्कार राशी २७ लाखभन्दा बढी प्राप्त गर्ने भएको छ । उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वघोषित पुरस्कार अनुसार प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने भएका छन् ।
प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागि हुदैछन। उक्त प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड खर्च लाग्ने निर्देशक लामाले बताए । प्रतियोगिताको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड, भिजिट नेपाल २०२०, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका रहेकाछन भने पीपीएलको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हिमालयन एचडी टेलिभिजनले गर्ने भएको छ ।
शुक्रबार संघीय संसदका सभामुख कृष्णबहादुर महराले उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उद्घाटन पश्चात बिहान ११ बजेपछि उद्घाटन खेल हुनेछ ।
बिहीबारै पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा पल्टनले खेलाडीहरूको नाम सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेलाडीहरूको टोलीलाई खादा लगाउदै स्वागतसहित उद्घाटन खेलमा जितको सफलताको कामना गरेका थिए । पोखराको प्रतिष्ठासंग जोडिएकोले यस्तो प्रतियोगितालाई सफल पार्न पोखरेलीलाई उनले आग्रह गरे । पोखराका कप्तान भेष्वाकरले पोखरामै ट्रफी राख्ने गरी आफुहरू उत्कृष्ट प्रदर्शन गर्ने जनाए । पोखरा पल्टनका अध्यक्ष विनय पोख्रेलले पोखरेलीहरूको साथ र सहयोगले आफ्नो टिमले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्