कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन «

कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन

बागलुङ-चाडवाडमा हुने भिडमाडमा कालो बजारी हुनसक्ने भन्दै बागलुङमा बजार अनुगमनलाई तीव्र पारिएको छ । चाडपर्र्व नजिकिएसँगै बजारमा अखाद्य वस्तुको बिक्री वितरण तथा कालो बजारी हुन सक्ने भन्दै अनुगमनलाई तीव्र पारिएको हो ।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरेर अनुमनलाई तीव्र पारिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख केदार पौडेलले बताए ।
“चाडवाडको समयमा पसलहरुमा उपभोग्य सामान खरिद गर्न उपभोक्ताको निकै भिडभाड हुने गर्दछ” प्रमुख पौडेलले भने, “यहि भिडभाडको समयमा अखाद्य वस्तुको मिसावट तथा बिक्री हुने, कालो बजारी हुनेलगायत उपभोक्ता ठगिने सम्भावना हुन्छ ।” व्यवसायमा स्वच्छ प्रतिस्पर्धा कायम राख्न अनुगमनले सकारात्मक भूमिका खेल्ने पौडेलले बताए । कालोबजारी नियन्त्रण, एकाधिकारको अन्त्य तथा कृतिम अभावको सृजना नहोस भनेर आफूहरु लागिपरेको उनले बताए ।
अनुगमनका क्रममा बागलुङ बजार क्षेत्रभित्र म्याद नाघेका खाद्य पदार्थहरुका बिक्री वितरण हुने गरेको भेटिएको छ । अनुगमनका क्रममा एक दर्जन किराना पसलमा म्याद गुज्रिएका सामान भेटिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख केदार पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय बागलुङ नगरपालिका घरेलु तथा साना उद्योग विकास कार्यालय, बागलुङ उद्योग वाणिज्य संघ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ र पत्रकारको टोलीले बजार अनुगमन गरेको थियो ।
अनुगमन गरेका सबै पसलहरुमा कुनै न कुनै म्याद गुज्रेका सामग्री फेला परेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले बताए । “उपभोक्ताको स्वास्थ्यसँग सम्झौता गर्न सकिँदैन” पन्तले भने, “आगामी दिनमा गुणस्तरीय सामग्री मात्र बेचबिखन गर्न आग्रह गरेका छौं, अटेरी गरे कारवाही हुन्छ ।” अनुगमन कार्यलाई जिल्लाका ग्रामिण भेगमा समेत सञ्चालन गर्ने उनले बताए । अनुगमनका क्रममा तोरीको तेल, जिरा, धनिया, मेथी, घिउ, बदामलगायत केही पेय पदार्थ म्याद नाघेका भेटिएको थियो ।
अनुगमनका क्रममा अधिकांश पसलहरुमा मूल्य सूचि समेत नराखिएको पाइएको छ । म्याद नाघेका सामग्री सोही स्थानमा नष्ट गरीएको थियो । पसलेहरुलाई आगामी दिनमा गुणस्तरीय सामग्री मात्र बेचबिखन गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रमुख पौडेलले बताए । अखाध्य वस्तु बेच्ने तथा मूल्यसूचि कायम नगराएका पसलहरुलाई पहिलो चरणमा सचेत गराइएको र पटक पटक दोहोरिएमा कानुन बमोजिम कारबाही हुने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्