कास्कीका गाउँ गाउँमा विद्यालय खुले «

कास्कीका गाउँ गाउँमा विद्यालय खुले

पोखरा-कास्कीका गाउँ गाउँमा विद्यालयहरु करिब ६ महिनापछि पुनः संचालनमा आउन थालेका छन् । कोरोनाका कारण प्रभावित भएको शैक्षिक गतिविधि आवश्यक स्वास्थ्य मापदण्ड पूरा गर्ने गराउने गरी कस्कीका गाउँ गाउँमा पनि केही दिन देखि विद्यालयहरु संचालन हुन थालेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नारायण सुवेदीले बताए ।
उनले भने, “शिक्षा मन्त्रालयको परिपत्र अनुसार जोखिम कम भएका क्षेत्र प्रायः ग्रामिण भेगमा कम विद्यार्थीहरु भएका ठाँउमा विद्यालयले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी स्थानिय तहसँगको सहकार्यमा विद्यालय संचालन गर्न थालेका छन् ।” धेरै विद्यार्थीहरु भएका विद्यालयहरुले आलोपालो गरी विभिन्न कक्षाका बिद्यार्थीहरुलाई वोलाएर केही घण्टा मात्र पठन पाठन गर्न सुरु गरेको प्रमुख सुवेदीले जनाए ।
ग्रामिण भेगका धेरै ठाउँमा शैक्षिक गतिविधि विस्तारै सुरु भएको बताएका उनले शहर बजार क्षेत्रमा भने कोरोनाको जोखिम हुने भएकोले केही विद्यालयहरुले अनलाईन तथा टोल टोलमा पठन पाठनको सुरुवात भएको जनाए । कास्कीमा ६ सय ३२ वटा निजी तथा सामुदायिक विद्यालयहरु रहेकोमा केही विद्यालयहरु मर्ज भई हाल करिब ५ सय ५० वटा विद्यालयहरु रहेको प्रमुख सुवेदीले जनाए ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा हाल अधिकांश विद्यालयहरु संचालनमा आएका छन् । असोजको पहिलो साता देखि अन्नपूर्ण गाउँपालिकाका ५ निजी सहित ५९ वटा विद्यालयहरु संचालनमा आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुंवरले बताए । कम बिद्यार्थीहरु भएको विद्यालयमा नियमित कक्षा संचालन हुने र धेरै बिद्यार्थीहरु भएको विद्यालयमा ५० प्रतिशत मात्र बिद्यार्थीहरु पठन पाठन हुने प्रबन्ध गरिएको उनले जनाए ।
त्यसै गरी कास्कीको रुपा गाउँपालिकाले भने टोल टोलमा पठन पाठन गर्न गराउन सुरु गरेको छ । कोरोनाको जोखिम बढ्ने भन्दै पालिकाले सम्बन्धि टोल टोलमै शिक्षकहरु खटाएर बिद्यार्थीहरुलाई पठन पाठन गराउदै गृहकार्य दिने काममा शिक्षकहरु लाग्दै आएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार रुपा गाउँपालिकामा एक निजी सहित ३१ वटा विद्यालयहरु रहेका छन् ।
त्यसै गरी पोखरामा पनि केही ग्रामिण भेगमा पर्ने ठाँउका केही विद्यालयहरुमा पठन पाठन गर्न सुरु भएको पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख भिम प्रसाद आचार्यले बताए । केही सामुदायिक तथा निजी विद्यालयहरुले हाल अनलाइन कक्षा समेत पढाउन थालेको उनले जनाए । उनका अनुसार पोखरामा २ सय ५ साम्ुदायिक र १ सय ८३ वटा निजी विद्यालयहरु रहेका छन् । केही निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरी चर्को मुल्य लिएकोमा अभिभावकहरुले गुनासो गर्न थालेका छन् । अधिकांश बिद्यार्थीहरुको नाक र मुखमा भने मास्क देख्न पाइदैन ।

प्रतिक्रिया दिनुहोस्