सरकारविरुद्ध कांग्रेसले देशव्यापी आन्दोलन गर्ने «

सरकारविरुद्ध कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिएको भन्दै पदाधिकारी बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।
१९ असोजमा बस्ने केन्द्रीय समितिको बैठकमा कहिले र कसरी आन्दोलन गर्ने भन्ने तय हुनेछ । संसदको बैठक माग गर्ने विषयमा केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकमा छलफल गरिने छ । संसदीय दलको बैठक कहिले गर्ने भन्ने विषय भने अहिले नै टुंगो लागिसकेको छैन ।
बुधबारको पदाधिकारी बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा पनि छलफल गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले बुझाएको विरोधपत्रका बारेमा पनि छलफल भएको थियो ।
केही दिनअघि पौडलेसहितका २७ जना केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा सभापति देउवाविरुद्ध विरोधपत्र दर्ता गराएका थिए । विरोधपत्रमा पार्टी सभापतिले विधान र विधि भन्दा बाहिर गएर विभाग गठन र विस्तार गरेको, सरकार भ्रष्टाचार र आर्थिक अनियमिततामा लिप्त हुँदा पनि प्रतिपक्षीले भूमिका नखेलेको उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्