वाइडबडी खरिदमा अनियमितताको आशंका ‘आधारहीन’ «

वाइडबडी खरिदमा अनियमितताको आशंका ‘आधारहीन’

वाइडबडी जहाज खरिद प्रक्रिया छानविन कार्यदल प्रतिवेदन

नेपाल वायुसेवा दुई वाइडबडी जहाज खरिद गर्दा कुनै आर्थिक तथा प्रक्रियागत अनियमितता नभएको पाइएको छ । निगमले अमेरिकी जहाज निर्माता कम्पनी एयरबसको ए ३३०–२०० सिरिजका दुई जहाज खरिद गर्दा अनियमितता भएको भन्दै आशंका उत्पन्न भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक कार्यदल गठन गरी छानबिन गरेको थियो । उक्त कार्यदलले हालै बुझाएको प्रतिवेदनमा कुनै अनियमितता नभएको पाइएको उल्लेख छ ।
जहाज खरिद प्रक्रियामा कुनै पनि अनियमितताको आशंका आधारहीन भएको निष्कर्षसहितको प्रतिवेदन तयार भएको छ । निगमले दुई थान वाइडबडी जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गरेको हो । जहाज खरिद प्रक्रियाको छानबिनका लागि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका सहसहचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन कार्यदल गठन गरेका थिए ।
लामिछाने नेतृत्वको समितिले नेपाल वायुसेवा निगम सञ्चालक समितिलाई उक्त प्रतिवेदन बुझाएको छ । कारोबारलाई प्राप्त कागजातअनुसार ‘दुईवटा वाइडबडी एयरवस ए ३३०–२०० सिरिजको जहाज खरिदसम्बन्धी जानकारीपत्र’ प्रतिवेदन१६ पृष्ठ लामो छ । निगमका सञ्चालक समितिका सदस्य समेत रहेका लामिछानेले उक्त प्रतिवेदन समितिमा बुझाइएको पुष्टि गरे । “जहाज खरिदका सम्बन्धमा बाहिर आएका कुराहरू आधारहीन छन्,” लामिछानेले भने ।
निगमले जहाज खरिद प्रक्रियामा अपनाउनुपर्ने सबै कार्य नेपाल सरकारको सार्वजनिक खरिद ऐन २०६३ र नेपाल वायुसेवा निगम, आर्थिक विनियमावली २०६५ बमोजिम प्रक्रिया पूरा भएको निष्कर्षसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । “हामीले जहाज खरिद प्रक्रियाका सबै विषय समावेश गरेका छौं, यो जानकारीपत्र आवश्यक पर्ने र माग गर्ने निकायलाई दिइने छ,” लामिछानेले भने ।
खरिद प्रक्रियालाई अधिकतम प्रतिस्पर्धी बनाउने उद्देश्यबाट निगमको आर्थिक विनियमावली २०६५ को विनियम २३६(२) बमोजिम गरिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । निगमले २०७२ माघ १० गतेबाट वाइडबडी जहाज खरिद प्रक्रियामा विभिन्न निर्णय भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा निगमले २०७३ कात्तिक २३ गते ग्लोबल टेन्डर आह्वान गरेको जसमा ११ कम्पनीले सहभागिता जनाएकोमा सवैभन्दा सस्तो रकममा दिने कम्पनी एएआर कर्पोरेशन अमेरिकन कम्पनीले गरेको र सही अनुसार प्रक्रिया अगाडि बढेको उल्लेख गरिएको छ ।
निगमले जहाजको तौल घटाएको भन्ने विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । निगमले ग्लोबल टेन्डर आह्वानमा कुनै पनि तौल नतोकिएको तर एएआर कर्पोरेसनले २४२ टन हुने उल्लेख गरेको थियो । तर हाईफ्लाइको काजगपत्र अनुसार २३० टन हुने प्रष्ट लेखिएको र पछि निगमको प्राविधिकहरूको टोलीले २३० टन नै उपयुक्त हुने निष्कर्ष निकालेको भन्दै तौलको विषयमा कुनै आशंका गर्ने विषय नरहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ ।
निगमले एयरबसनै रोज्नुको कारण समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा विगतमा न्यारोबडी जहाज एयरबस ३२०–२०० जहाज निगमले सञ्चालन गरिरहेकोले सहजताका लागि पनि एयरबस रोजेको उल्लेख गरिएको छ ।
निगमले १ हजार घन्टासम्म उडेको जहाजको सीमा तोकेर टेन्डर आह्वान भए पनि नयाँ जहाज निगमले प्राप्त गर्नु झनै राम्रो भएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । १ हजार घन्टा तोक्नुको कारण एयरबस कम्पनीले नयाँ अर्डरको जहाजमा धेरै समय लगाउने र निगमलाई जहाज छिटो आवस्यकता परेकोले सो प्रक्रिया अनुसार टेन्डर गरिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विभिन्न चरणको छलफल र सुझावपछि २०७३ चैत २५ गते हाइफ्लाई एक्स, एएआर कार्पोरेसन र जर्मन एभिएसन क्यापिटल तथा हाइफ्लाई एयरलाइन्सबीच खरिद सम्झौतामा हस्ताक्षर भएको भन्दै प्रतिवेदनमा उल्लेख गरिएको छ ।
निगमको जहाज पहिलो वाइडबडी जहाज ९ एन–एएलवाई अन्नपूर्ण नाम दिइएको जहाज २०७५ असार १४ काठमाडौंमा अवतरण गरेको थियो भने दोस्रो ९ एन–एएलजेड मकालु गत साउन १० गते काठमाडौं आइपुगेको थियो । निगमले दक्षिण कोरिया, जापान सहित लन्डन उडाउने घोषणा गर्दै जहाज ल्याएको भए पनि हालसम्म पनि दक्षिण कोरिया तथा जापानले निगमलाई उडान अनुमति भने दिएका छैनन् । निगमसँग हाल अन्तर्राष्ट्रिय उडानका लागि पाँच थान जहाज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्