पीडितलाई गलकोट समाजको २७ लाख सहयोग «

पीडितलाई गलकोट समाजको २७ लाख सहयोग

ढोरपाटको बाढीमा बेपत्ता १५ जना अझै भेटिएनन्
बागलुङ-
अविरल वर्षासँगै आएको बाढीले घरवास गुमाएका जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाका बाढी पीडितहरूलाई गलकोट समाज जापानले आर्थिक सहयोग गरेको छ । रोजगारीको क्रममा जापानमा रहेको नेपालीबाट संकलन गरिएको २७ लाख ८० हजार रुपियाँ नगरपालिकाको दैवीकप्रकोप राहत कोषमा जम्मा गरिएको हो ।
गत भदौ १७ गते राती ढोरपाटन नगरपालिकाको वडा नं ९, ८ र ७ बोबाङस्थित भुजिखोलामा आएको बाढीले ठूलो भौतिक तथा जनधनको क्षति पु¥याएको थियो । बाढी प्रभावितहरूका लागी राहत तथा क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको गलकोट समाज जापानका अध्यक्ष दिलु खत्रीले बताए । सहयोग रकम ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई प्रदान गरिएको खत्रीले बताए । नगरपालीकाले हरेक क्षेत्रबाट प्राप्त हुने सहयोगलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउन एकद्वार प्रणालीको व्यवस्था गरेको नगर प्रमुख नेपालीले बताए ।
सहयोग रकमबाट गलकोट समाज जापानको नाममा ६ वटा निजी आवास निर्माण गर्ने प्रतिबद्धता नेपालीले जाहेर गरे । “अकल्पनीय रूपमा आएको बाढी पहिरोले नगरपालिकाका ७, ८ र ९ वडामा वितण्डा मच्चाएको छ ।” नगरप्रमुख नेपालीले भने, “निकै ठूलो जनधन तथा भौतिक क्षति भएको छ, आँसु पुच्छदै पुनःनिर्माणमा लाग्नु परेको छ ।” बाढी पीडितको लागि स्वदेश तथा विदेशबाट आर्थिक संकलन हुने क्रम जारी रहेको छ । “धेरै व्यक्ति, संघ संस्था तथा निकाएले सहयोग गरी रहनुभएको छ,” नेपालीले भने, “एक्लै उठ्न नसक्ने परि पहिरोले पछारेको छ, सबैको हातेमालेको आशा बोकेका छौ ।” यसअघि नेपाल लक्जम्बर्ग लोक कल्याणकारी संस्थाले २ लाख ४० हजार रुपियाँ बराबरको राहत सामग्री प्रदान गरेको थियो ।
रातको समयमा आएको बाढीले बोवाङ्गको तटीय बस्ती पूर्णध्वस्त बनाएको छ । बाढीले एक सय ३१ घरमा क्षति पु¥याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । जसमध्ये ८० घर पूर्णरुपमा ध्वस्त भएका छन् भने ५१ घर आंशिक क्षति भएको छ । बस्तीसँगै बगेका २२ जनाको मृत्यु भैसकको छ भने १५ जना अझै बेपत्ता रहेका छन् । बाढीले तटीय बस्ती, विद्यालय, लद्यु जलविद्युत आयोजना, विद्यालय तथा स्वास्थ्य चौकीको संरचना बगाएको छ । बेपत्ता मध्येकी एक बालिका ढोरपाटनमा सकुशल फेला परेकी छन् । बेपत्ता भएकाहरूको खोजि कार्य निरन्तर भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले बताए । बाढीले वस्ती घर सैगै ११ वटा लघु जलविद्युत् केन्द्रको, एक स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गे पुल, ५ वटा पक्की पुल, १० काठेपुल र दुई विद्यालय बगाएको छ । घरबास गुमाएका पीडित अहिले सडकमा पाल टाँगेर बसेका छन् भने केहीले आफन्तको घरमा आश्रय लिएका छन् ।

त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्