चाडपर्वमा हुने कालोबजारी रोक्ने प्रतिबद्धता «

चाडपर्वमा हुने कालोबजारी रोक्ने प्रतिबद्धता

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले चाडपर्व सँगै बजारमा हुने मूल्य वृद्धि, कृतिम अभावलगायतका कालोबजारी नियन्त्रण गर्न स्थानीय सरकार र सबै सरोकारवालासँग समन्वय गरेर तत्काल काम थाल्ने बताएका छन् ।
मंगलबार बिर्तामोडमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले उपभोक्ता अधिकार रक्षाका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारसहितका निकायसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बालगायतले उपभोक्ता अधिकारका विषयमा प्रजिअ तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए ।
प्रजिअ तिमिल्सिनाले प्राप्त सुझावलाई ध्यानमा राख्दै कोरोना संक्रमणको जोखिम कम गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था मिलाउन चाडपर्व लक्षित विशेष योजना ल्याउने बताएका छन् । चाडपर्वकै बेला जनजीवनलाई सहज बनाउन उनले सबै क्षेत्रको सहयोगको आवश्यकता औँल्याएका छन् ।
छलफलमा उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिले प्रजिअ तिमिल्सिना तथा प्रहरी प्रमुखहरुलाई सुझाव दिएका थिए । त्यसक्रममा पेट्रोलियमको सहज उपलब्धता, लागूऔषध नियन्त्रण, महिला लथा बालबालिका हिंसा नियन्त्रण, विद्युत्को अनियमित सेवा, चोरी तस्करी नियन्त्रण, स्थानीय सरकारका कर, मलको व्यवस्थापन, यातायातमा हुने भीडभाडलगायतका समस्या समाधानमा प्रजिअको ध्यानाकर्षण गराइएको थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको छलफलमा सामाजिक अभियन्ता तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जिल्लामा लागूऔषध नियन्त्रण प्रमुख चुनौतीको रुपमा देखिएको भन्दै उक्त समस्या समाधानका लागि सबै पक्ष एकीकृत ढंगले लाग्नुपर्नेमा जोड दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण चिमोरिया, संघका महासचिव तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ लक्ष्मी न्यौपाने सरु, नेपाली कांग्रेसकी नेतृ शुसिला ढकाल आचार्य, एबीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइरालालगायतले विभिन्न सुझाव राखेका थिए । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखले चाडपर्वको समयमा हुने कालोबारी रोक्न सुरक्षा निकाय सधैँ तल्लिन हुने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्