गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण «

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण

उपकरण जडानका लागि चीनबाट प्राविधिक आउने
भैरहवा
-निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, टर्मिनल विल्डिङमा विद्युतीय उपकरण जडानका लागि चीनबाट ३५ जना दक्ष जनशक्ति आउने भएका छन् । अहिले भैरहवा र देशमा मौजुदा जनशक्तिले ती उपकरण जडान गर्न नसक्ने भएकाले आईसि वी वान अन्तरगत भौतिक संरचनाको काम गरीरहेको चिनियाँ निर्माण कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कम्पनीले ३५ जना दक्ष जनशक्ति ल्याउने तयारी गरीरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय भैरहवाका प्रमुख प्रवेश अधिकारीले बताए ।
नेपाल सरकारले विदेशी दक्ष जनशक्ति ल्याउने अनुमति दिइसकेको र ती विदेशी दक्ष जनशक्तिले चीनस्थित नेपाली दूतावासमा भिसा प्राप्तिका लागि प्रकृया अघि बढाइसकेको अधिकारीले बताए । “नेपाल सरकारले अनुमति दिइसके पछि चीनमा रहेको नेपाली दूतावासले भिसा नदिने भन्ने हुँदैन, उहाँहरुले भिसा पाएपछि उडान अनुकुलता हेरी आउनु हुन्छ र उहाँहरु भैरहवा आईपुगेको २ महिनामा आईसिबी वान अन्तरगतको भौतिक संरचनामा विद्युतीय उपकरण जडान गरिसक्ने छन् ।” अधिकारीले भने ।
अहिले विमानस्थलमा आवश्यक सबै जसो विद्युतीय उपकरणहरु ९६ प्रतिशत आइसकेका छन् र बाँकी सामान भनेको ब्यागेज ह्यान्डिलिङ सिष्टम, कन्भेएर बेल्ट, धावनमार्गका केही बत्ती जडानको काम बाँकी छन् । ती उपकरण पनि अहिले सम्बन्धित क्षेत्रबाट ढुवानी भएर भैरहवा आइपुग्ने क्रममा रहेको बताइएको छ । आईसिबी टु अन्र्तगत थाइल्याण्डको एरो थाई कम्पनीले सबै आवश्यक उपकरणहरु विमानस्थलमा आइसकेको छ । ती उपकरण जडान गर्न भने अमेरिका, अष्ट्रिया र थाइल्याण्डबाट प्राविधिक आउनु पर्नेछ । त्यस्का लागि पनि आवश्यक तयारी भइरहेको अधिकारीले बताए ।
उता विमानस्थलमा भौतिक संरचना निर्माणतर्फका सबै मुख्य काम सम्पन्न भएका छन् । सिभिलतर्फका सबै कामहरु धावनमार्ग, टर्मिनल भवन, ट्याक्सी वे, एप्रोन, प्रशासनिक भवन, टावर, फाएर बिल्डिङ, पार्किङलगायतका सबै निर्माण काम सम्पन्न भएका छन् । “बिगतको भूकम्प, नकाबन्दी, मधेश आन्दोलन र अहिले कोरोनाको संक्रमणको कारणले केही ढिलाई भइरहेको छ । तर पनि अहिले विमानस्थल आयोजनाको काममा कुनै अवरोध भएको छैन” अधिकारीले भने, “ पछिल्लो ६ महिनामा केही समय काम रोकिएन पनि अहिले निर्माण कार्य निरन्तर भइरहेको र प्रगति सन्तोषजनक रहेको छ ।”
आईसिवी जिरो वान अन्तरगत चिनियाँ नर्थवेष्ट सिभिल एभिएसन कम्पनीले र आईसिवी जिरो टु अन्तरगत थाइल्याण्डको एरो थाई कम्पनीले काम गरीरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्नु पर्ने अन्तिम मिति २०२० को डिसेम्बर ३१ हो । विदेशबाट दक्ष प्राविधिक जनशक्ति समयमै आउन सके तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन्छ । यद्यपी पूर्णरुपमा निर्माण सम्पन्न हुन भने केही समय लाग्नेछ ।
अहिले बगैँचा, ल्याण्डस्केप, पेन्टिङ र आउटर रोड निर्माण कार्य जारी रहेको इन्जिनियर अधिकारीले बताए । निर्माण सकिए पनि उडान योग्यताको प्रमाणिकरण र अन्य प्रशासनिक काम समेत भई हवाई रुट, आइकाओको अनुमति, अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ लगायतका कामहरु गर्नु पर्ने हुँदा सन् २०२१ को सेप्टेम्बर भित्र उडान सुरु हुन सक्ने आँकलन गरीएको छ । विमानस्थलमा अहिले विदेशी र स्वदेशी गरी २७५ जना कामदारले काम गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्