महामारी नियन्त्रणमा सरकारको भूमिका «

महामारी नियन्त्रणमा सरकारको भूमिका

कोभिड–१९ को महामारी बढ्दै गइरहेको पछिल्लो समयमा अस्पतालमा उपचार गराउन आउने बिरामीहरूमा विभाजनका रेखाहरू सामाजिक तथा राजनीतिक अनेक क्षेत्रमा विस्तार भएका छन् । हिजोसम्म बिरामीको आर्थिक क्षमताका आधारमा अस्पतालहरूले उपचार दिने र नदिने छुट्टिन्थ्यो भने अहिले त्यस्तो वर्गीय असमानताको जरो झनै गहिरिएको छ । पैसा नभएर अस्पताल पुग्नै नपाएका बिरामीका कथाव्यथा त छँदैछ, अस्पतालले बिरामीसँग पैसा असुल्न प्रयोग गर्ने अनेक हतकण्डाका खबर हामीले पहिल्यैदेखि नै सुन्दै र भोग्दै पनि आएका छौं । कोरोना भाइरस बढ्दै जाँदा यस्तो क्रियाकलाप वृद्धि गर्न झन् सहयोग पुगेको छ । महामारीका कारणले कतिपय गर्भवती महिलाहरूलाई सुत्केरी गराउन तथा अन्य बिरामीहरूले पनि अस्पतालहरूले भर्ना नलिएपछि अकालमै ज्यान गुमाउनुपरेको दुःखद घटनाहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । यस्ता दर्दनाक घटनाहरू दिनदिनै बढिरहेका छन् । त्यस्तै पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा फैलिन थालेको विषम परिस्थितिमा उपचार गराउन आउने बिरामीहरूबीच विभाजनका रेखाहरू झनै नबढ्ला भन्न सकिन्न ।
यो विषम परिस्थितिलाई विश्वका विकसित मुलुकदेखि अल्पविकसित मुलुक सबैले सामना गरिरहेको परिपे्रक्ष्यमा नेपाल पनि यसबाट अछुतो रहन सकेन । सुरुको समय विकसित मुलुकहरू यसबाट प्रभावित भए पनि पछिल्लो समयमा भने विकासशील र अल्पविकसित राष्ट्रहरू थप प्रभावित बन्दै गइरहेका तथ्यहरू आइरहेका छन् । करिब १० महिनाअघि चीनबाट सुरु भएको यो महामारी थोरै देशमा सीमित हुँदा विज्ञहरूले यसको प्रभाव एक वर्षभन्दा कम रहने आकलन गरेका थिए, तर यो भाइरस सम्पूर्ण विश्वभरि फैलिँदै जाँदा यसको प्रभाव छिटै अन्त्य नहुने विज्ञहरू बताउँछन् । यति बेला महामारी बढ्दै गइरहेको अवस्था भएकाले सुरुको तुलनामा अहिलेको स्थिति झन् खराब बन्दै गइरहेको छ । संक्रमणको अनुपात आगामी केही महिना अझै वृद्धि हुने विज्ञहरूले सुझाव दिइरहेका छन् ।
यसरी कोभिड–१९ को महामारीले सम्पूर्ण विश्व समुदायलाई असमान तथा गरिब बनाउँदै जाँदा नेपालले प्राप्त गरेको अहिलेसम्मका उपलब्धिलाई कायम राख्न सम्भव देखिँदैन । यस महामारीले धनी र गरिबहरूको दूरीलाई झन् वृद्धि गर्दै लगिरहेको छ । यस्तो अवस्था आउन नदिन राज्यले अहिलेदेखि नै सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान गर्नतर्फ विशेष ध्यान जानु अति आवश्यक छ । महामारीले उत्पन्न गर्ने प्रभावलाई ध्यान दिँदै संक्रमितको संख्या बढ्दै जाँदा सीमित स्रोत र साधन भएको स्वास्थ्य क्षेत्रको पूर्वाधारमाथि ठूलो दबाब परिरहेको अवस्थामा आमनागरिकहरूमा सामाजिक असुरक्षाभाव उत्पन्न भएको छ । पर्यटन, व्यापार व्यवसाय तथा रोजगारी सञ्चालन भए पनि यसले खासै गति लिन सकेको छैन, जसबाट राष्ट्रिय आम्दानीमा नकारात्मक प्रभाव परेकोे छ ।
खुला सिमाना भएको भारतमा महामारी नियन्त्रण नभएसम्म नेपालमा खतराको घण्टी बजिरहनेछ । नागरिकको जीवन बचाउन अत्यावश्यक कदमहरू दैनिक तथ्यांक र सूचनाको विश्लेषणमा आधारित हुनुपर्छ । महामारीको गति तीव्र छ । संक्रमितहरूको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । स्वास्थ्य पूर्वाधार, औषधि र उपकरणमा तत्काल सरकारको ध्यान जानु जरुरी छ । महामारीको लम्बिँदो दुष्प्रभावबाट नागरिकको सुरक्षा गर्न संघीय सरकारले तत्काल अरू कार्यक्रमहरू स्थगित गरेर महामारी नियन्त्रणमा लाग्नुपर्छ । यो समय गरिब र सीमान्तकृत समुदायसम्म पुग्नु सरकारको पहिलो दायित्व हो । यसका लागि केन्द्रीय सरकारले प्रदेश सरकार तथा स्थानीय तहसम्म अधिकार तथा दायित्य हस्तातरण गर्नुपर्छ, जसले गर्दा जनताले सजिलै सेवा सुविधा प्राप्त गर्न सकून् । यसरी कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सरकारले चालेका अहिलेसम्मका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै यसबाट बच्न सबैले हातमा हात मिलाउनु अति आवश्यक भएको छ ।
—खुस्मा भण्डारी

प्रतिक्रिया दिनुहोस्