शैक्षिक क्षति न्यूनीकरण र बालमैत्री विद्यालय «

शैक्षिक क्षति न्यूनीकरण र बालमैत्री विद्यालय

गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार शिक्षा आर्जन गर्ने बालमैत्री वातावरण सिर्जना गर्नु पहिलो सर्त हो ।

शिक्षामा देखिएका विकृति, विसंगति र क्षतिलाई सम्बोधन गर्न अझ धैरै साधनस्रोत र समय खर्चिनुपर्ने टड्कारो देखिन्छ । वर्तमानमा विद्यालय उमेरका बालबालिका सबैलाई विद्यालयभित्र ल्याउन नसक्नुु, विद्यालयभित्र आइसकेका बालबालिका सबैलाई निरन्तर टिकाइराख्न नसक्नु, विद्यार्थीको उपलब्धिस्तर सन्तोषजनक रूपमा प्रगति नहुनु, सार्वजनिक शिक्षाले सेवाग्राहीको विश्वास जित्न नसक्नु आदिलाई शैक्षिक चुनौतीका रूपमा लिन सकिन्छ । शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना भएको आक्षेप निरर्थक भएको खण्डन गर्ने पर्याप्त आधार नहुनु पनि आजको शैक्षिक नीतिका लागि एक सशक्त चुनौती हो । विद्यालयप्रति सरोकारवाला तथा समुदाय उदासीन भइदिनाले साधनस्रोत जुटाउन र परिचालन गरेर गुणस्तरीय शिक्षाको प्रत्याभूति दिन सरकारको एक्लो प्रयास पर्याप्त नहुनु स्वाभाविक हो । विद्यालय बालबालिकाको अन्तरनिहित प्रतिभाको आविष्कार गरी चौतर्फी विकास गर्ने ऊर्जाशील बालमैत्री संस्था बन्नुपर्छ । बालमैत्री विद्यालय हुनका लागि के के कुराको आवश्यकता पर्छ ? पहिचान गर्ने बेला आएको छ । विद्यालय बालमैत्री बनाउन ककसले केके भूमिका निर्वाह गर्नुपर्ने हो ? यकिन गरी जवाफदेही बनाउन विलम्ब भइसकेको छ । तसर्थ विद्यालयलाई जीवनोपयोगी गुणस्तरीय शिक्षा आर्जन गर्ने उत्कृष्ट थलोका रूपमा स्थापित गराएर सेवाग्राहीको आस्था र विश्वास जित्न अब के गर्नुपर्ला ? सरोकारवाला सबैको चिन्ता र चासोको विषय बन्नुपर्छ ।
गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार शिक्षा आर्जन गर्ने बालमैत्री वातावरण सिर्जना गर्नु पहिलो सर्त हो । विद्यार्थीको सिकाइ उपलब्धिलाई उच्च बनाउन घरपरिवार, समुदाय तथा विद्यालयको वातावरण बालमैत्री हुनुको विकल्प छैन । विद्यालयमा सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक तथा जातजाति आदि विविध पृष्ठभूमि भएका बालबालिकाको प्रतिनिधित्व हुन्छ । यस प्रकारको विविधतामा बालमैत्री विद्यालयको व्यवस्थापन निश्चय नै चुनौतीको बिषय हो, तर असम्भवचाहिं होइन । बालमैत्री विद्यालय बनाउन निम्न पक्षहरूलाई समेट्न बिर्सनु हुँदैन ।
विद्यालयको भौतिक पूर्वाधार बालमैत्री विद्यालयका लागि आधारस्तम्भ हो । विद्यालय भौतिक रूपमा स्वच्छ, स्वस्थ र साधनस्रोतसम्पन्न चित्ताकर्षक भएमा स्वतः गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्छ । विद्यालय भवन, कक्षाकोठा, पुस्तकालय, फर्निचर, खेल्ने चौर, खानेपानी, शौचालय, प्रयोगशाला, छात्रावास, चमेना गृहलगायतका सामग्रीहरू विद्यार्थीको उमेर, क्षमताअनुसार आकर्षक एवं लैंगिक र अपांगमैत्री हुनुपर्छ ।
पाठ्यक्रम, पाठ्यपुस्तक विद्यार्थीको मानसिक तथा शारीरिक उमेर एवं उनीहरूको चाहना र दैनिक दिनचर्यासँग सरोकार राख्ने आधारमा चयन गरिनुपर्छ । शिक्षण विधि बालबालिकाको पारिवारिक मातृभाषाको पृष्ठभूमिसमेतलाई अध्ययन गरेर यकिन गरिनुपर्छ । अतः शिक्षकले पाठ्यक्रम, पाठ्यपुस्तकका साथै विद्यार्थीको पृष्ठभूमिलाई पनि पढ्नुपर्छ, जसले विद्यार्थीको वैयक्तिक विभिन्नताअनुसार शिक्षण सिकाइ क्रियाकलापको तर्जुमा गर्न सहज बनाउँछ । शैक्षिक सामग्रीको यथोचित प्रयोगले शिक्षण सिकाइमा जीवन्तता ल्याउँछ । शिक्षकले आफूले पढाउने विषयको विषयगत लक्ष्य निधारण गरी पठनपाठन सञ्चालन गर्दा उपलब्धिस्तर अभिवृद्धि गर्न सकिन्छ । कतिपय अवस्थामा विद्यार्थी समेतलाई शैक्षिक सामग्री संकलन र संरक्षणमा प्रयोग गर्नाले उनीहरूमा अपनत्व र आत्मविश्वासको विकास हुन्छ । बालबालिकाले केही जान्दैनन् भन्ने पुरातनवादी सोचलाई निरुत्साहित गर्दै उनीहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने सकारात्मक सोच राखेर उनीहरूको अनुभवलाई समेत समेटर शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा गर्नु पनि बालमैत्री विद्यालयको पूर्वसर्त हो । शिक्षण सिकाइ क्रियाकलापमा विधि र विषयलाई निरन्तर परिमार्जन र परिष्कृत गर्दा थप रोचकता प्रदान गर्छ ।
विद्यार्थीको योग्यता, क्षमता र उपलब्धिस्तरको प्रगति यकिन गरी सोही अनुसार भावी योजना बनाउन परीक्षा र मूल्यांकनको अहम भूमिका हुन्छ । परीक्षालाई वस्तुनिष्ठ, पारदर्शी र निष्पक्ष बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन । प्रत्येक विद्यार्थीको उपलब्धिस्तरको विश्लेषण गरी आवश्यक सल्लाह, सुझाव स्वयं विद्यार्थी र अभिभावकलाई दिन चुक्नु हुँदैन । त्यस्तै विद्यार्थी उपलब्धिलाई प्रमुखता दिएर शिक्षक, प्रधानाध्यापक, व्यवस्थापनलगायतका सरोकार पक्षको कार्यदक्षताको मूल्यांकन गरिनाले बालमैत्री विद्यालय बनाउन अझ सचेत गराउँछ । किनकि विद्यार्थीको उपलब्धिस्तर र बालमैत्री विद्यालय एकअर्काका परिपूरक हुन् ।
विद्यालयलाई बालमैत्री बनाउन बालबालिकाको सक्रिय सहभागिता पहिलो प्राथमिकतामा पर्नुपर्छ । विद्यार्थी वर्तमानका साझेदार र भविष्यका कर्णधार हुन् भन्ने यथार्थतालाई बिर्सिनु हुँदैन । विद्यालयलाई साधनस्रोत सम्पन्न बनाउन अभिभावक र समुदाय तथा सरकारी गैरसरकारी संघसंस्थाको सद्भाव, सहयोग, सहकार्यको विकल्प छैन । अतः विद्यालय बालमैत्री बनाउनका लागि शिक्षक, अभिभावक, समुदायसमेतको सुमधुर र सौहार्द दिगो मैत्री सम्बन्ध हुनु पूर्वसर्त हो । बालबालिका ६ घण्टा मात्र विद्यालयमा बस्छन्, बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ त्यहाँको वातावरण पनि बालमैत्री हुनु नितान्त आवश्यक पर्छ । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, विकेन्द्रित जिम्मेवारी आदिले विद्यालयप्रति अपनत्व भावनाको विकास भई मैत्रीपूर्ण वातावरण सिर्जना गर्न टेवा पुग्छ ।
स्वस्थ, स्वच्छ वातावरणमा मात्र बालबालिकाको शारीरिक तथा मानसिक विकास सन्तुलित रूपमा हुन्छ । कक्षाकोठा, धारा, शौचालय, खेल्ने चौर, बाटो नियमित सरसफाइ तथा फोहोरमैलाको उचित व्यवस्थापन गरिनुपर्छ । शिक्षक स्टाफको स्वस्थकर बानीबेहोराले बालबालिकाको बानीबेहोरामा पनि सकारात्मक प्रभाव पार्छ । सामाजिक, धार्मिक संस्कार–संस्कृति, मानवीय सद्भाव र सहयोग तथा भ्रातृत्वको भावनालाई उच्च प्राथमिकता दिएर नवीनतम ज्ञान र सीपबाट सुसज्जित भई सफल जीवनयापन गर्न सक्षम नागरिक उत्पादनका लागि अनुशासित शैक्षिक वातावरण अपरिहार्य हुन्छ । विद्यालयमा अनुशासित वातावरण कायम राख्न व्यावहारिक आचरसंहिता तथा त्यसको सहज रूपमा परिपालन गर्ने निष्पक्ष परिपाटी अवलम्बन गरिनुपर्छ । अनुशासनको नाममा गरिने मानसिक तथा शारीरिक यातनालाई पूर्ण रूपमा वर्जित गर्दै लोकतान्त्रिक मूल्यमान्यताअनुरूप कक्षा तथा विद्यालय सञ्चालन गर्ने संस्कारको विकास गरिनुपर्छ । शिष्ट, सदाचार, सौहार्द एवं नम्र बानीबेहोरालाई प्रोत्साहित गर्ने मानवीय वातावरण हुनुपर्छ । बन्चरोले भन्दा वचनले चिरेको घाउ गहिरो हुन्छ भन्ने यथार्थतालाई बिर्सनु हुँदैन । विद्यार्थीको आत्मसम्मानमा ठेस पुग्ने व्यवहार गरिनु हुन्न । विद्यालयले अख्तियार गरेका नीति र रणनीति कतिको प्रभावकारी भए, भविष्यमा कस्तो सुधार ल्याउनुपर्ला भन्ने उपायहरू खुट्याउन निरन्तर अनुगमन निरीक्षण गरिनुपर्छ, जसले अनुशासनमा देखिएका कमीकमजोरीलाई सुधार्ने मौका प्रदान गर्छ ।
शिक्षाका नीतिनियम र योजना विद्यार्थीलाई सर्वोपरि मानी उनीहरूको हितलाई केन्द्रबिन्दुमा राखेर बनाउनुपर्छ । परम्परागत प्रविधि र प्रवृत्तिमा परिमार्जन, परिष्कृत गर्दै बासी शिक्षाको सट्टा समयको माग तथा विद्यार्थीको रुचि, क्षमता र आवश्यकता एवं चाहनाअनुसार नवीनतम साजी, ताजा शिक्षण सिकाइ क्रियाकलाप तर्जुमा र प्रयोग सौहार्द वातावरण भएमा बालबालिका विद्यालयबाट भागेर घरमा होइन घरबाट भागेर विद्यालयमा जान्छन्, जसलाई बालमैत्री विद्यालयको महत्वपूर्ण सूचकका रूपमा लिन सकिन्छ । सचेत अभिभावक, समर्पित शिक्षक, कुशल व्यवस्थापक तथा अनुशासित विद्यार्थी एवं शिरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी बोकेका सरोकारवालाबाट मात्र बालमैत्री विद्यालय फस्टाउन सक्ने यथार्थता हो ।

प्रतिक्रिया दिनुहोस्