अघि बढ्यो औद्योगिक क्षेत्रको काम «

अघि बढ्यो औद्योगिक क्षेत्रको काम

नेपालगन्ज-बाँकेमा निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्र घोषणाको तीन वर्षपछि बल्ल काम सुरु भएको छ । सरकारको प्रत्यक प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति अनुरूप बैजनाथ गाउँपालिका–३ नौबस्तामा औद्योगिक क्षेत्रको काम अघि बढेको हो ।
सरकारले ८ अर्ब ७ करोड रुपैयाँको लागत अनुमानमा निर्माण गर्न थालेको औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भई बन तथा वातावरण मन्त्रालयमा ईआईएको काम भइरहेको नौबस्ता औद्योगिक क्षेत्र परियोजनाको कार्यालयले जनाएको छ । “मंसिरदेखि औधोगिक क्षेत्र निर्माणका काम अगाडि बढछ, ईआईएको काम पुस मसान्तमा सकिन्छ,” परियोजना प्रमुख कृष्णबहादुर पुनले भने, “त्यसपछि टेन्डर प्रक्रिया सुरु हुन्छ ।”
३ सय ३८ बिगाह क्षेत्रफलमा निर्माण हुने औद्योगिक क्षेत्रका लागि गत जेठ १८ गते बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको बैठकले डीपीआर स्वीकृत गरेको थियो । डीपीआर स्विकृत भएसँगै परियोजनाले उद्योग सञ्चालनबारे उद्योगीसँग पूर्वआशयपत्र माग गरेको थियो । देशका विभिन्न ३ सय ५० वटा उद्योगीहरूले विभिन्न उद्योग सञ्चालनका लागि आसयपत्र बुझाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जनाएको छ ।
आसयपत्र बुझाएका मध्य कुन–कुन प्रस्तावित उद्योगले वातावरणीय प्रभाव पार्छन्, कसलाई कुन ब्लकमा राख्दा उपयुक्त हुन्छ तिनको मूल्यांकन गरेर पुनः प्रस्ताव आह्वान गरी फास्ट ट्र्याकबाट काम अघि बढाउने लिमिटेडका अध्यक्ष तथा महाप्रवन्धक नन्दकिशोर बस्नेतले बताए । त्यहाँ सञ्चालनमा आउने उद्योगका लागि ५ कठ्ठादेखि ४० कठ्ठासम्म विभिन्न १ सय ११ वटा प्लटमा जग्गा उपलब्ध गराएर विभिन्न ब्लकमा विभाजन गरिने उनको भनाई छ ।
आर्थिक वर्ष २०७९÷८० मा पूर्वाधार निर्माणको काम सम्पन्न गरी पूर्णरूपमा सञ्चालन गरिसक्ने लक्ष्य लिएको परियोजनाले लिएको छ । हाल चुनौतीको रूपमा रहेकोे औद्योगिक क्षेत्रभित्र पर्ने करिव अढाइ सय घरधुरीलाई उचित गास, वास, कपाससहित राज्यले व्यवस्थापन गर्न महाप्रबन्धक बस्नेतको भनाइ छ । “अहिले स्थायी सरकार भएकाले विगतको जस्तो समस्या छैन,” उनले भने ।
अन्तर्राष्ट्रिय मापदण्ड सहितको औद्योगिक क्षेत्र भएकोले वातावरणीय प्रभाव, सरसफाइ, चारलेन सडक निर्माण, साईकल लेन, पैदल लेन, चौबीसै घण्टा पानीको आपूर्ति, फोहरपानी प्रशोधन, ४० मेघावाट जलविद्युत्को छुट्टै विद्युत् फिडर, दुई सय जना सशस्त्र प्रहरी बल बस्ने व्यवस्था, उद्योग संघ, बैंक, टेलिकम्युनीकेसन टावर, एकीकृत भन्सार चेकपोष्टलगायत विभिन्न पूर्वाधार निर्माण हुने बताइएको छ ।
औद्योगीक क्षेत्र निर्माण हुन थालेपछि पछिल्लो समय स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरू उद्योग सञ्चालनका लागि ईच्छुक रहेको परियोजनाले जनाएको छ ।
परियोजना कार्यालयको उद्घाटन
यसैबीच नौबस्ता औद्योगिक क्षेत्रको परियोजना कार्यालयको बुधबार एक समारोहकाबीच उद्घाटन गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रवन्धक नन्दकिशोर बस्नेतले परियोजनाको कार्यालय उद्घाटन गर्दै नौबस्तामै करिब २० हजार जनालाई रोजगारी र विदेशी लगानी भिœयाउने ठूलो अवसर औद्योगिक क्षेत्र स्थापना हुनुले भएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले मुलुकले आर्थिक घाटा बेहोरिरहेको अवस्थामा यहाँ उद्योग स्थापना हुनुले सरकारको व्यापारघाटा कम गर्न मद्दत पुग्ने बताए । औद्योगिक विकास नभएसम्म मुलुकको समृद्धि सम्भव नभएकाले उद्योगधन्दा फस्टाउने वातावरण तयार हुन जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्