१७ महिनापछि चौरजहारी एयरपोर्टमा जहाज «

१७ महिनापछि चौरजहारी एयरपोर्टमा जहाज

रकुम-रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा सुरु भएको छ । १७ महिनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान सुरु गरेको हो । निगमको जहाजले बुधबार बिहानै काठमाडांै चौरजहारी उडान गरेको छ । जहाजले अब साताको दुईदिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेसन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए ।
उनका अनुसार जहाजले बुधबार काठमाडौं–चौरजहारी–नेपालगन्ज र बिहीबार नेपालगन्ज–चौरजहारी–काठमाडौं उडान गर्नेछ । उडान सुरु भएको बुधबार पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित ८ जनाले नेपालगन्जसम्मको हवाई यात्रा गरेका छन् । झन्डै डेढवर्षपछि यहाँको हवाई सेवा सञ्चालनमा आउँदा स्थानीय र सर्वसाधारण खुसी भएका छन् । त्यस्तै रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई पनि सहज हुने भएको छ ।
यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट चौरजहारी विमानस्थलको उडान बन्द गरिएको थियो । बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल चाल्दै आएका थिए । २०२८ सालबाट सञ्चालनमा आएको चौरजहारी विमानस्थलको थप स्तरोन्नतिका लागि पाँच वर्षअघि धावनमार्गमा कालोपत्रे गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्