व्यापार विस्तारका लागि पूर्वाधार विस्तारको सहमति

नेपाल र चीनका अधिकारीहरूबीच तातोपानीसँगै र रसुवागढी नाका पनि खुलाउने सहमति भएको छ । नेपाल–चीन व्यापार संयुक्त कार्यदलको अनलाइनमार्फत मंगलबार भएको वैठकले सो सहमति गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीका अनुसार दुई नाका सुचारुसहित दुवै पक्षबीच व्यापार विस्तार गर्नका लागि पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति पनि भएको छ ।
मन्त्रालयका अनुसार नेपाल र चीनबीच पारवहन ढुवानी सम्झौता कार्यान्वयनसहित दुई देशबीचको व्यापारलाई सहजीकरण गराउने विषयमा पनि छलफल भएको थियो । सो क्रममा दुई देशको व्यापार सहजीकरण गराउन रसुवाको टिमुरेस्थित सीमा जाँच स्टेसन÷सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउने, १८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । यस्तै नेपालबाट चीनमा निकासी गरिने खाद्य वस्तुहरूमा लेबलिङ गर्ने, नेपालमा चिनियाँ लगानी र व्यापारका लागि वातावरण विकास गर्ने, स्याफ्रुवेसी–रसुवा सडक मर्मत सम्भार र स्तरोन्नति गर्ने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, व्यापार पूर्वाधार विकासमा सहयोग गर्ने, मुस्ताङको कोरोला नाकामा एकीकृत सीमा स्टेसन निर्माणको लागि चिनियाँ पक्षलाई अनुरोध गर्ने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, सत्रौ नेपाल–चीन आर्थिक व्यापार मेला र चीनमा आयोजना हुने तेस्रो अन्तराष्ट्रिय आयात प्रर्दशनी मेलामा सहभागिता जनाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । कोभिडले गर्दा लामो समय देखि नाका बन्द भएपछि चीनसँग व्यापार हुन सकेको छैन । अनलाइन बैठकमा नेपालको तर्फबाट मन्त्रालयका सहसचिव प्रकाश दाहाल र चिनियाँ वाणिज्य मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक पेङ गाङ्ले नेतृत्व गरेका थिए । अनलाइन बैठकमा चीनतर्फबाट ११ जनाको सहभागिता रहेको थियो ।