दसैं सकिएसँगै गाउँको रौनक घट्यो «

दसैं सकिएसँगै गाउँको रौनक घट्यो

लमजुङ-दसैं सकिंदैसँगै गाँउघरमा पनि रौनक घट्दै गएको छ । दसैं–तिहार मनाउन गाउँमा आएका नागरिक आ–आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर शून्य हुन थालेको हो । दसैं मनाउन गाउँ आउँदा गाउँको चहलपहल बढेको थियो । तर चाडपर्व मनाउन थातथलो आएकाहरू फर्कन थालेपछि रौनक विस्तारै घट्न थालेको हो ।
“दसैं कहिले आउलाजस्तो भएको थियो, अहिले कति चाँडै गएजस्तो भएको छ,” मध्यनेपाल–१ देउरालीकी वसुन्धरा पौडेलले भनिन्, “घर उज्यालो हुन पनि दसैं तिहार नै आउनुपर्ने रहेछ ।” अधिकांश गाउँघरका युवा विदेशिएकाले गाउँघर शून्य हुने गर्दछ । “सहरमा बसेका छोरा छोरी चाडबाडमा घर आए, घर नै उज्यालो भएको थियो, अहिले सबै आफ्नै बाटो लागे फेरि घर शून्य भयो,” पौडेलले भनिन् ।
दसैंको चहलपहलले गाउँघरमा निकै खुशी ल्याएको चन्दे्रश्वरका धर्मराज तिमिल्सेनाले बताए । “गाउँमा जन्ती मलामी पनि हुँदैनन् कि भन्ने हुन्छ, चाडपर्वमा भने केही रौनक थियो, अहिले सबै बाटो लागे, अहिले गाउँघर फेरि सुनसान छ,” तिमिल्सेनाले भने । दसैं मनाउन आएकाहरू आफ्नो कर्मथलो फर्कने क्रम सुरु भएपछि यतिबेला यात्रुबाहक बस, मिनीबस र माइक्रोबसहरू खचाखच भएका छन् । बेसीसहरबाट काठमाडौं जान सवारी साधन पाउन निकै गाह्रो छ । यात्रुहरूको चाप भने दैनिक बढ्दो छ । बस चढेर गन्तब्यतर्फ जानका लागि दैनिक बेसीसहरस्थित माइक्रोबस र ठूलो बसका काउन्टरमा निकै भीड लाग्ने गर्दछ ।
सवारीसाधन भन्दा यात्रुको संख्या र चाप बढी भएपछि व्यवस्थापन गर्न समस्या भएको बेसीसहरस्थित माइक्रो टिकट काउन्टरका कर्मचारी किरण हमालले बताए । “काठमाडौँ, पोखरा तथा चितवनबाट आएका सवारीसाधनलाई पुनः फर्काएर यात्रुहरूलाई सहज बनाउने प्रयास गरेका छौं,” हमालले भने । यात्रुहरूलाई यात्रा सहज बनाउन साविकमा चलिरहेको भन्दा बढी सवारी साधनको ब्यवस्था गरेको काउन्टरले जनाएको छ । नियमित गुड्ने सवारीभन्दा बढी सवारी व्यवस्थापन गरी सबैलाई मिलाएर पठाउने भरपुर प्रयत्न गरिरहेको कर्मचारी हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्