ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खाता योजना

ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रूपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ नामक मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले ६ महिनादेखि ५ वर्ष अवधिका लागि अधिकतम ९ प्रतिशत ब्याज दिने गरी योजना ल्याएको हो ।
यस मुद्दती योजनाले महिलाका नाममा बचत गर्न, महिलालाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रूपमा महिलालाई सबल बनाउन सहयोग पु-याउने बैंकले जनाएको छ । यो खाता १ लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने जनाइएको छ । यसमा बचत गर्ने बानीलाई प्रोत्साहन गर्न, बचत भएको रकम पटक–पटक थप गर्न पनि सकिने व्यवस्था रहेको जनाइएको छ ।
बैंकले यो खातासँगै निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाखभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने जनाएको छ । योजनाअन्तर्गत मुद्दती खाता खोल्ने ग्राहकले होम कर्जा लिँदा प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट पाउने तथा निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।