आर्थिक राजधानीको बजार खुल्यो तर छैन व्यापार

विराटनगर-करिब ६ महिनापछि बजार पसल खुले पनि आर्थिक राजधानी विराटनगरको व्यापार अझै फस्टाउन सकेको छैन ।
कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण सम्पूर्ण व्यापार व्यवसाय ठप्प थियो । तर, लकडाउन र निषेधाज्ञा हटे पनि बजारमा व्यापार बढ्न सकेको छैन । खाद्यन्न र तरकारीका पसलहरू सञ्चालन भए पनि अन्य पसलहरूमा बिक्री शून्य छ । व्यापार नहुँदा सटरको भाडा, बैंक ब्याज, करलगायतका खर्च धान्नै मुस्किल परेको व्यापारीहरू बताउँछन् । विगतमा दसैं अगाडि विराटनगर बजार गुल्जार हुने गरेको थियो । तर, दसैं आउने समय नजिकिँदै जाँदा पनि बजारमा कुनै उत्साह छैन । व्यापार बढ्न सकेको छैन । खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलका अनुसार यो बीचमा धेरै व्यापारी पलायन भइसकेका छैन । “कोभिडले धेरैलाई उठिबास लगाएको छ,” मण्डल भन्छन्, “व्यापार नहुँदा व्यवसायीहरू मानसिक तनावमा रहेका छन् ।”
लामो समयको बन्दाबन्दीले व्यवसायीहरूलाई मानसिक समस्या देखिन थालेको मण्डलको भनाइ छ । मण्डलका अनुसार कोरोना महामारी अझै पनि नियन्त्रणमा आइनसकेका कारण तत्कालै व्यवसाय फर्कने सम्भावना न्यून छ । व्यापार व्यवसायलाई जोगाइराख्न सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
कपडा, भाँडाकुँडा, जुत्ताचुप्पल, शृंगार, घडी, इलेक्ट्रोनिक्स, होटल, रेस्टुरेन्टलगायत पसल र व्यवसायहरू अझै ठप्प रहेको विराट व्यापार संघका अध्यक्ष सुजन थापा बताउँछन् । उनका अनुसार विराटनगरमा मात्रै ५ हजारभन्दा बढी पसल छन् । त्यसमध्ये २० देखि २५ प्रतिशत खाद्यन्न र तरकारी पसल छन् । कोभिड सुरु हुनुभन्दा अघि विराटनगरमा सरदर दैनिक ५–६ करोडको कारोबार हुँदै आएको थियो । तर, अहिले त्यसको २० प्रतिशत पनि कारोबार नभएको थापाको भनाइ छ । “पूरै ठप्प छ, तत्कालका लागि पुरानै लयमा फर्किने अवस्था छैन,” थापाले भने, “अधिकांश व्यापारीको अवस्था दयनीय छ ।”
६ महिना लामो लकडाउन र निषेधाज्ञाका कारण घरभाडा, बिजुली बिल, सरकारी कर, बैंक ब्याज, मजदुर–कर्मचारीको तलबलगायतबापतको लाखौं नोक्सानी बेहोरेका व्यवसायीहरू लकडाउन खुलेर जनजीवन सामान्य अवस्थामा फर्किंदा पनि व्यापार नबढ्दा चिन्तित बनेका छन् । “पैसा नहुँदा मानिसले दैनिक उपभोग्य खाद्यन्न र तरकारीबाहेक अरु खरिद गर्ने अवस्था छैन,” अर्थशास्त्री डा. भेषप्रसाद धमला भन्छन्, “अरु बेला महिनैपिच्छे लुगा किन्नेले अब पुरानै लुगा लगाएर भए पनि काम चलाउँछ ।” उनकै शब्दमा शृंगार, भाँडाकुँडा, जुत्ताचप्पल, घडी, कप्युटरजस्ता सामान अहिलेको अवस्थामा अति आवश्यक नपरी कसैले पनि किन्दैन । कोरोनाबाट प्रभावित व्यवसायीलाई राज्यका तर्फबाट राहत दिनुपर्ने धमलाको सुझाव छ । “राहत भन्नाले नगदै दिनुपर्छ भन्ने छैन,” अर्थशास्त्री धमला भन्छन्, “बैंक ब्याज र करमा छुट दिएर पनि व्यवसायीलाई राहत दिन सकिन्छ ।” विराटनगरमा संक्रमितको संख्या र मृतकको संख्या बढ्दै गएको छ । पछिल्लो अवस्थालाई हेर्ने हो भने पनि दैनिक सरदर एक सयको हाराहारीमा संक्रमित थपिने गरेका छन् । विराटनगर अझै पनि कोरोनाको उच्च जोखिममा छ ।