पर्वतको बगरफाँटका बासिन्दा खानेपानी र सडक सुविधाबाट बञ्चित «

पर्वतको बगरफाँटका बासिन्दा खानेपानी र सडक सुविधाबाट बञ्चित

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटका बासिन्दा सडक र खानेपानीको सुबिधाबाट बञ्चित भएका छन् ।
गत असार २५, २६ र साउन ५ गते कालीगण्डकीमा आएको बाढीले कालीपुल पारिको भिरको फेदीको सडक बगाएपछि यातायात सम्पर्क बिच्छेद भएको बगरफाँटमा गत शुक्रबार रातीदेखि खानेपानी पनि अवरुद्ध भएको छ ।
वारीबेनी लिफ्ट खानेपानी आयोजनाको बगरफाँटतर्फ जाने मुख्य पाइपलाइन कालीपुलको पुरानो झोलुङ्गे पुल नजिकै खसेको पहिरोले फुटाएपछि खानेपानी अवरुद्ध भएको हो । कालीपुलमा ल्याइएको पाइप पनि पुरेको स्थानीय मनिता गौचनले जानकारी दिईन । दुई वटा वडाका करिब चार सय घरधुरी सडक र खानेपानी सुबिधाबाट बञ्चित भएका जलजला–३ का वडा अध्यक्ष रबी भण्डारीलेजानकारी दिए ।
शुक्रबारको पहिरोले वारीबेनी हुदै बगरफाँट जोड्ने पैदलमार्ग समेत भत्काएको छ । बाढीको बगाएको सडक खोलामा पानीको सतह घटेपछि मात्र मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्था छ । खानेपानी आयोजना मर्मत नहुँदा सम्मका लागि स्थानीय मुहान र पुराना धाराको पानी उपभोग गर्ने व्यवस्था मिलाइएको छ ।
बर्षेनी सडक कटान गर्ने समस्या भएकाले कालीपुलदेखि बगरफाँट जोड्ने मोटरेबल पुल निर्माणको माग गरिएको वडा अध्यक्ष भण्डारीले बताए । यसैबीच पर्वत बेनी लिफ्ट खानेपानी आयोजनाको पानी संकलन गर्ने टंकीमा पहिरो खसेर र मुहानमा कालीगण्डकीले कटान गरेर जोखिम बढाएको छ ।
खानेपानी आयोजना मर्मतका लागि पचास लाख रुपैयाँ विनियोजन भएको उपभोक्ता संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले पहिरोको थप जोखिम भएकाले पहल गरिएपनि एक दुई दिन पाइप जडान गर्न कठिन भएको बताए ।
स्थलगत निरिक्षण गरि पाइप जडान गर्न गएपनि ओडार परेको पहिरो खस्ने डर भएकाले काम गर्न नसकेर फर्किएको रेग्मीले बताए । संस्था मार्फत बगरफाँटका २२५ घरमा निजी धारा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्