नेपालमा कहिले होला बालविवाहको अन्त्य ? «

नेपालमा कहिले होला बालविवाहको अन्त्य ?

नेपालको सविधानले २० वर्ष पूरा नभई बालबालिकाको विवाह गर्न नपाउने व्यवस्था गरेको छ । मानिसले २० वर्ष नपुग्दै विवाह गर्नु भनेको गैरकानुनी हो, त्यसलाई नै बालविवाह भनिन्छ । यस्तो कार्य गर्ने जोकोहीलाई कडा सजाय र जरिवानासमेत गर्ने व्यवस्था कानुनमा नै रहेको छ । यति हुँदाहुँदै पनि नेपालमा बालविवाह रोकिएको छैन, बरु दिनप्रतिदिन बढ्दै गइरहेको विभिन्न तथ्यांकले देखाएको छ । हाल नेपालमा संघ, प्रदेश र स्थानीय सरकार रहेको भए तापनि प्रभावकारी रूपमा बालविवाहका बारेमा अभियान सञ्चालन हुन नसक्दा ती सरकारले सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी हुन सकेको देखिँदैन ।
बालविवाह गर्ने परिवारहरू मूलतः, गरिब, अशिक्षा, निम्न आय भएका, औपचारिक रूपमा शिक्षादीक्षा हासिल गर्नबाट वञ्चित परिवारहरू बढी रहेका छन् । उनीहरूका परिवारमा चेतनाको अभावले गर्दा यस किसिमको विवाह गराइरहेका छन् । बालविवाहले परिवारमा पर्ने असरका बारेमा यकिन गर्न नसक्दा बालविवाहले असर पारिरहेको छ । नेपाल विश्वका विभिन्न मुलुकमध्येमा १० औं स्थानमा बालविवाह गर्ने मुलुकमा पर्छ । यसले पछि के देखाउँछ भने नेपालमा बालविवाह गर्ने र गराउने दर बढ्दो रहेको देखिन्छ ।
अशिक्षा र अज्ञानताका कारण नेपालमा जन्मदर उच्च रहेको छ । छोराको आसमा बसेर धेरै जना छोराछोरी जन्माउने हाम्रो समाजको नियति नै खराब छ, जसले गर्दा ती जन्मिएका बालबालिकाले उचित शिक्षा प्राप्त गर्नबाट वञ्चित रहनुपरेको छ, जसको परिणाम बेलैमा विवाह गरिदिने र छोराको तुलनामा बढी छोरीहरू बालविवाह गर्न बाध्य हुनुपर्ने अध्ययनले देखाएको छ । छोरा एक जनाको विवाह गर्दा छोरी चार जनासम्मको बालविवाह हुने गरेको छ । यसले उनीहरू बेलैमा नयाँ जिम्मेवारीमा सामेल हुनुपर्ने र कलिलै उमेरमा जिम्मेवारी बढ्दै जाने भएकाले उनीहरूले आफूले गर्ने जिम्मेवारीमा चाहेर पनि सक्षमता हासिल गर्न सक्दैनन् । बालविवाह भएपछि बेलैमा बाबुआमाको जिम्मेवारी धारण गर्न बाध्य हुनुपर्छ । पारिवारिक जिम्मेवारी बढेपछि आफूले शिक्षादीक्षा सजिलै प्राप्त गर्न नसकिने र आफ्ना भावी सन्ततिलाई पनि शिक्षादीक्षा दिन नसकिने अवस्थाको सिर्जना हुन्छ ।
पछिल्लो समयमा प्रदेशहरूले बालविवाहका नाममा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर बालविवाहमुक्त प्रदेश घाषणा गर्न लागेका छन् । वाग्मती प्रदेशले २०७८ सम्ममा बालविवाहमुक्त प्रदेश घोषणा गर्न लागेको छ । त्यस्तै प्रदेश २ ले ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्ता कार्यक्रम सञ्चालन गरेको भए पनि खासै प्रभावकारी र लक्षित वर्गसम्म पुग्न सकेको छैन । यस्ता बालविवाहका घटनामा खासै कमी आएको छैन । त्यसैले यस्ता घटनालाई निर्मूल पार्न अभिभावक नै बढी सचेत र जिम्मेवार बन्नुपर्छ । यस प्रथाको अन्त्य गर्न हामीले एकजुट हुनुपर्छ ।
—जमुनादेवी पौडेल

प्रतिक्रिया दिनुहोस्