सहकारीको लगानीमा पेट्रोल पम्प «

सहकारीको लगानीमा पेट्रोल पम्प

चितवन- जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी संघ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो ।
संघका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म तिहारमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ । भट्टराईका अनुसार एउटा सहकारीले २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म सेयर लगानी गरेका छन् । संघको आफ्नै जग्गामा पम्प खोलिएको हो । पम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार पम्प निर्माणका लागि करिब पाँच करोड लगानी गरिएको छ ।
पम्पमा अपाङ्गमैत्री शौचालय, चमेनागृह, किराना पसल लगायतको सुविधा रहेको छ । अधिकारीका अनुसार एकै पटकमा आठ वटा सवारी साधनले इन्धन भर्न पाउने छन् । चार डिजल र चार पेट्रोलका सवारीले इन्धन भर्न पाउने उनले बताए ।
एक लाख चार हजार लिटर क्षमताका ट्यांकी रहेका छन् । जसमध्ये ६० हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल क्षमता रहेको छ । अधिकारीले डिजिटल विलिङबाट भुक्तानी गर्ने सुविधा राखिएको बताए । तेल ढुवानीका लागि दुई ट्यांकरसमेत खरिद गर्ने तयारी गरिएको छ । सहकारीको पम्प भएकाले निजी व्यवसायीको एसोसिएसनमा सदस्य नबस्ने र निजीको भन्दा सस्तो मूल्यमा इन्धन बिक्री गर्ने संयोजक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्