कोरोना र अग्रपङ्क्तिका योद्धाहरू «

कोरोना र अग्रपङ्क्तिका योद्धाहरू

सरकारले कोरोना युद्धमा संलग्न योद्धाका लागि विशेष भत्ता वा सुविधाको घोषणा गरे पनि त्यो अपुग छ । उनीहरूलाई यति सम्मानले पुग्दैन ।

विश्वभरि नै कोरोना भाइरस (कोभिड–१९) को त्रास बढी नै रहेको छ । चीनको बुहानबाट सुरु भएको यो भाइरसबाट संक्रमित अहिले विश्वका २ सयभन्दा बढी देशमा भेटिएका छन्, जसमध्ये २ करोड ९४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । हालसम्म संक्रमणबाट ९ लाख ३२ हजार को मृत्यु भइसकेको छ । नेपालमा यसबाट संक्रमित हुनेको सङ्ख्या ५५ हजार ३ सय २९ पुगेको छ भने संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्म हाम्रो देशमा ३ सय ६० जनाले ज्यान गुमाइसकेका छन् । विश्वलाई नै यसले आतङ्कित बनाइरहेको छ । यो भाइरस अहिले एउटा देशमा मात्र सीमित रहेको छैन, सिंगो विश्वका लागि नै साझा समस्या बन्न पुगेको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि नै विश्वभरि नै कोरोना महामारी फैलिएको घोषणा गरेको थियो ।
कोरोना महामारीका रूपमा फैलिएकाले पश्चिमा शक्तिशाली राष्ट्रलाई पनि ज्यादै चिन्तित तुल्याएको छ । कोरोना नियन्त्रणका लागि अहिले विश्वव्यापी रूपमा विभिन्न उपायहरू अपनाइएका छन् । क्वारेन्टाइन, सेल्फ आइसोलेसन, लकडाउन, क्षेत्र सिल गर्नु वा सार्वजनिक कार्यक्रम स्थगित गर्नु नै महŒवपूर्ण उपाय रहेका छन् । कोरोनाको गम्भीरतालाई सहज ढंगमा समाजमा सबै जनतालाई बुझाउनु नै महŒवपूर्ण कार्य हो । सूचनालाई प्रभावकारी ढंगले जनमानसमा पु-याएर मानिसको भीड कम गर्नु नै अहिलेको आवश्यकता हो । त्यसो भएमा मात्र यो भाइरसबाट टाढै रहन सकिन्छ । कोरोना भाइरसलाई समुदायस्तरमा फैलन नदिन सरकारले गरेको यो प्रयासलाई हामी सबैले पालना गर्नु हाम्रो पहिलो कर्तव्य हो ।
कोरोना महामारी नियन्त्रणका लागि सबै आआफ्नो क्षेत्रबाट सजग रहनुपर्छ । कोरोना नियन्त्रणका लागि युद्धस्तरमा लागि परेका वर्गमध्येमा डाक्टर, नर्स वा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी मुख्य रहेका छन् । यसमा हामी कसैको शङ्का छैन । उनीहरू नै वास्तवमा कोरोना महामारीविरुद्ध युद्धस्तरमा लड्ने योद्धाहरू हुन् । स्वास्थ्यकर्मीहरूलाई यस विषम परिस्थितिमा जति प्रशंसा गरे पनि पुग्दैन । जो मानिस पनि आफूलाई रोग लागेपछि डाक्टरलाई सम्झन्छन् । सामाजिक स्टाटसमा थुप्रैले लेखेको पाइन्छ, भगवान्को अर्को रूप भनेको नै डाक्टर हो । यसरी डाक्टरहरूको ज्यादै प्रशंसा गरिएको पाइन्छ । वास्तवमा भन्नुपर्दा डाक्टरहरू नै भगवान् हुन् । आफ्नो परिवार नभनी रातदिन बिरामीको उपचारमा संलग्न उनीहरूलाई मानवस्वरूपमा धर्तीमा देखिएका श्वेतवस्त्रधारी भगवान्को रूप नै मान्न सकिन्छ ।
तर तिनै स्वास्थ्यकर्मीमाथि कहिलेकाहीँ दुव्र्यवहार भएको पनि पाइन्छ । केही दिनअगाडि एउटा समाचार प्रकाशमा आयो । स्थानीयहरूले स्वास्थ्यकर्मीहरूलाई उनीहरूको कोठामा वा अपार्टमेन्टमा जानबाट रोक लगाए । घरमा गएर ब्यानर झुन्ड्याए साथै स्वास्थ्यकर्मी बसेको होटल घेराउ गरे । यो समाचार ज्यादै अशोभनीय र अमानवीय नै मान्नुपर्छ । यसरी अग्रपङ्क्तिामा बसेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल कमजोर पार्ने काम कहीँकतैबाट पनि गर्नु हुँदैन । उनीहरूको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्छ । समाजमा भइरहेका क्रियाकलाप हेर्दा स्वास्थ्यकर्मीलाई कोरोनाको भन्दा पनि समाजको डर धेरै हो कि जस्तो लाग्न थालेको छ । कोरोनाले सबैलाई त्रसित बनाएको सत्य हो, तर यो त्रासले मानवीयता बिर्साउनु हुँदैन । कोरोना बिरामी र डाक्टर भने पछि सबै डराउँछन् । त्यसरी डराउनु हुँदैन, किनभने डाक्टरहरूले उपचारका क्रममा सबै प्रोटोकल अपनाएका हुन्छन् ।
डाक्टर तथा नर्सले यस अवस्थामा पनि आफूलाई सुरक्षित तथा जिउँदो राख्नका लागि आफूलाई कोरोनाको महावेदीमा हवन गरिरहेका छन् । संक्रमणको पछाडि पनि उनीहरू रोगीको रातदिन उपचारमा खटिरहेका छन् भने कोभिड–१९ का बिरामीको सहायताका लागि ज्यादा जोखिम उठाइरहेका छन् । आफ्नो घरपरिवार नभनी संक्रमणको कुनै चिन्ता नगरी केवल उपचारमा खटिरहेका छन् । सरकारले कोरोना युद्धमा संलग्न योद्धाका लागि विशेष भत्ता वा सुविधाको घोषणा गरे पनि त्यो अपुग छ । उनीहरूलाई यति सम्मानले पुग्दैन । यदि कोही स्वास्थ्यकर्मी कोभिड–१९ को युद्धमा सहादत प्राप्त गर्छ भने राज्यले उसलाई सहिदकै रूपमा सम्मान दिनुपर्छ ।
चाल्र्स डिकेन्सले ‘ए टेल अफ टु सिटिज’ लेखेजस्तै अहिलेको समयमा पनि फरक दुई योद्धाका बारेमा यहाँ चर्चा गर्नु सान्दर्भिक देखिन्छ । पहिलो डाक्टर, नर्स वा स्वास्थ्यकर्मी र दोस्रो सुरक्षाकर्मी । विभिन्न प्रकोप महामारी आन्दोलन, विरोध एवम् सीमा सुरक्षा आदिमा प्रत्यक्ष रूपमा देखिने सुरक्षा निकाय जो आज बढी सञ्चालित छन् । जो यस महामारीमा संक्रमित हुने खतरा बढी छ । त्यसैले देशको रक्षा गर्ने पहिलो योद्धा सुरक्षा निकाय र दोस्रो कोभिड महामारीको विरुद्ध लड्ने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी । यी दुवैको आआफ्नै परिवार छ, तर पनि उनीहरूको पहिलो स्वार्थ नै देश र जनताको सुरक्षा र ज्यानको संरक्षण गर्नु रहेको छ । नेपाल प्रहरी वा नेपाली सेना सबैले सक्दो सावधानी अपनाएर सुरक्षामा खटिएका छन् । उनीहरू पनि कोरोना महामारीबाट बच्नका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका छन् । अग्रपङ्क्तिमा खटिने यस्ता अन्य क्षेत्रका योद्धाहरू पनि छन् जसले हाम्रो दैनिक जीवनलाई सहज बनाउन थुप्रै मेहनत गरेका छन्, ज्यानको जोखिम मलेका छन् ।
अहिलेको सन्दर्भमा सबैको समान उत्तरदायित्व छ, नभएको पनि होइन तर यहाँ अरूलाई होच्याएर वा तल पारेर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मात्र माथि उठाउन खोजिएको भने किमार्थ होइन । सबैभन्दा अग्रपङ्क्तिमा पर्ने वा लागिपर्नेको चर्चा गर्नुपर्दा यहाँ यी दुईलाई ए टेल अफ टु सिटिजसँग तुलना गरिएको मात्र हो । यसमा अन्य कुनै उद्देश्य रहेको छैन । नेपाल सरकारका मन्त्री, सांसद, स्थानीय सरकारका प्रतिनिधि, कर्मचारी, व्यापारी, पत्रकार, मजदुर, शिक्षक, नागरिक समाज सबै तह र तप्कासहित सबै पेसा र वर्गका मानिसको ठूलो भूमिका रहेको कुरा भुल्न सकिन्न । त्यसैले जसले जसरी मूल्याङ्कन गरे पनि वर्तमान परिप्रेक्ष्यमा भने स्वास्थ्यकर्मीको ठूलो स्थान रहेको कुरालाई नकार्न सकिन्न । आजको यस महामारीमा जीवन बचाउने अरू कोही हैनन्, तिनै श्वेतवस्त्रधारी भगवान्का रूप मानिने डाक्टर र नर्स नै हुन्, जसलाई हामीहरूले अत्यन्त श्रद्धा र सम्मान प्रकट गर्नुपर्छ । यस महामारीमात्र होइन, उनीहरू सदैव स्वास्थ्यसेवा प्रदान गर्नका लािग कटिबद्ध भएको पाइन्छ । त्यसैले अग्रपङ्क्तिमा उत्रेर काम गर्नेहरूलाई हामी सौहार्द व्यवहार कायम गरौँ । कोरोनामाथि विजय प्राप्त गर्न स्वास्थ्यकर्मी सबैको प्रयास अपरिहार्य छ । त्यसैले एउटाको मात्र प्रयासले यो सम्भव नहुने हुँदा हामी सबै मिलेर कोरोना महामारीविरुद्ध डटेर सामना गरौँ । हामी सबै मिलेर सावधानीपूर्वक कोरोनालाई जित्ने हो, योसँग डराएर भाग्ने होइन ।

प्रतिक्रिया दिनुहोस्