डिजिटल व्यवसाय प्रवद्र्धन गरौं «

डिजिटल व्यवसाय प्रवद्र्धन गरौं

सूचना प्रविधिसँग अभ्यस्त युवाले महामारीको चुनौतीलाई अवसरका रूपमा परिवर्तन गर्ने आँट गरे र उनीहरू सफल पनि भए ।

विश्वव्यापी महामारी कोरोनापछि नेपाललगायत विश्वमा धेरै रोजगारी कटौती भएको छ । विश्व मजदुर संगठनका अनुसार नेपालमा पनि प्रत्येक पाँच जनामा तीन जनाले रोजगारी गुमाएका छन् । यस्ता महामारीमा रोजगारी गुमाउने धेरै लघु, साना तथा मझौला व्यवसायमा आश्रित रोजगारी छन् । तर, यसै महामारीको बीचमा अमेजनका मालिक जोफ बेजोसको सम्पत्तिमा अर्बौं थपिएको पनि छ । अर्थात् विश्वको अर्थतन्त्र अब डिजिटल हुँदैछ । नेपालमा पनि ठूला उद्योगधन्दा, होटलदेखि साना पसल एवं उद्योग बन्द हुँदा लाखौं नेपालीले एकै पटक रोजगारी गुमाए । तर, कोरोना कहरकै बीच केही सिर्जनशील र फरक ढंगले सोच्न सक्ने युवाले भने यस महामारीलाई अवसरका रूपमा लिई आफ्नो व्यवसायको आचरण नै परिवर्तन गरे र उनीहरूलाई भने फलिफाप भयो । यसका लागि खासगरी सूचना प्रविधिसँग अभ्यस्त युवाले महामारीको चुनौतीलाई अवसरका रूपमा परिवर्तन गर्ने आँट गरे र उनीहरू सफल पनि भए ।
काठमाडौंमा महामारीमा पनि चलेका अनलाइन सपिङमात्र होइन, होम डेलिभरीदेखि पूर्व इलामका घरमै बसेर युवाले मासिक ३ देखि ५ लाख रुपैयाँसम्म कमाउन थालेका छन् । इलामका २५ वर्षीय निर्मल दाहाल एउटा प्रतिनिधि पात्र मात्र हुन् । समयानुकूल व्यवसायलाई डिजिटल प्रविधिमार्फत गर्दा अनलाइनबाटै घरै बसेर काम गरेर उनले मासिक ५ लाख रुपैयाँसम्म कमाएका छन् । यसबाट देशमा रोजगारी छैन भन्दै विदेश जाने शिक्षित युवापुस्ताका लागि उनी एउटा रोल मोडल नै बन्न सक्छन् । किनकि उनको कमाइ जापान, दक्षिण कोरिया गएर काम गरेभन्दा बढी हुने गरेको छ । नेपालमा सरकार, शिक्षा प्रणाली तथा अभिभावकलगायतका समाजले पनि सरकारी वा गैरसरकारी संस्थामा जागिर खाने जनशक्ति उत्पादन गर्न जोड गर्छ । न त हाम्रो शिक्षा प्रणाली नवप्रवर्तनलाई मद्दत गर्ने प्रकारको छ, न त सरकार नै यस्ता नवप्रवर्तनकामी युवालाई नीतिगत रूपमा हौसला एवं प्रोत्साहन दिने गर्छ । साथै सामाजिक रूपमा पनि विदेश जाँदा नै कमाइ धेरै हुन्छ भन्ने भाष्य स्थापित गरिएको छ । तर, दाहाल जागिर खाँदा सधैँ अर्काको निगरानीमा बस्नुपर्ने भन्दै आफ्नै व्यवसाय गर्न उद्यत भए । फलस्वरूप उनी राम्रै आम्दानी गरिरहेका छन् । आफूलाई कोभिड–१९ ले पनि प्रभाव नपारेको पनि उनी बताउँछन् । यसको अर्थ यस्ता नवप्रवर्तनकामी युवालाई स्वरोजगार बन्न तीनै तहको सरकारले सहजीकण गर्न आवश्यक छ । नेपाली युवा स्वदेशमा नै केही गरौं भन्ने मानसिकता नभएका पनि होइनन्, तर सरकार राजस्वमुखी मात्र हुने र समाज एवं घर–परिवारबाट पनि साथ नपाउँदा चाँडै नै विरक्तिएर फेरि विदेश पलायन भएका धेरै घटना हाम्रा सामु छन् । दाहालले अनलाइन विज्ञापन र अनलाइन गेममार्फत विदेशी पैसा नेपाल भिœयाउने गरेका छन् । साथै हाल भारतलगायतका विदेशी मुलुकमा सफ्टवेयर निर्माण, वेबसाइट निर्माण, मोबाइल एप्स, फेसबुक र युट्युबमा विज्ञापनलगायतका सेवा महँगो भएका कारण विदेशीहरूले नेपाललाई तारो बनाएका छन्, जसका कारण नेपाली युवालाई यस्ता कामका लागि प्रशस्तै अवसर आइरहेका छन्, जसबाट नेपालमा सानै सही तर विदेशी मुद्रा पनि भित्रिरहेको छ ।
तर, यसको प्रवद्र्धन गर्न सरकारले राजस्वमुखी आँखाबाट नहेरी अन्य केही पूर्वाधारमा लगानी गर्न आवश्यक छ । जस्तै, देशैभरि सस्तो शुल्कमा द्रुत गतिको इन्टरनेट सेवाको विस्तार गर्ने, स्थानीय सरकारले आ–आफ्ना ठाउँमा युवालाई प्रविधिमैत्री बनाउन विभिन्न अवसरहरू सिर्जना गर्ने, विद्यालयका पाठ्यपुस्तकमा पठाइने सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानमा जोड दिने तथा स्वरोजगार एवं थोरै संख्यामा भए पनि रोजगारी सिर्जना गर्ने युवालाई पुँजीको व्यवस्था गरिदिने । यसका लागि स्थानीय तहमा रहेका बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न पनि सकिन्छ, किनकि बैंक तथा वित्तीय संस्थाले एउटा लगानीकर्ता पनि पाउँछ र पछि स्थानीय तहले त्यसबाट कर आम्दानी पनि पाउँछ । साथै स्थानीय तहले सीमित मात्र रोजगारी सिर्जना गर्ने हुनाले यसबाट धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्न प्रोत्साहन पनि हुन्छ । तर, सरकार चुनाव जित्नमात्रै रोजगारी सिर्जनाको वाचा गर्ने तर व्यवहारमा भने युवालाई विदेश जान प्रोत्साहन गर्ने नीति भएकाले पनि नेपाल धेरै पछाडि परेको हो ।

प्रतिक्रिया दिनुहोस्