स्थिर ब्याजदरले पैदा गर्ने चुनौतीहरू «

स्थिर ब्याजदरले पैदा गर्ने चुनौतीहरू

स्थिर ब्याजदरले कर्जाप्रदायक संस्थाहरूको कर्जा दिने व्यवहारमा मात्र परिवर्तन ल्याउँदैन, ब्याजदरमा आधारित थुप्रै वित्तीय साधनलाई बजार प्रवेश गराउनेछ ।

नेपाल राष्ट्र बैंकले गएको भदौ २३ मा एक निर्देशन जारी गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रदान गर्ने एक वर्षभन्दा बढी अवधिका घरजग्गा, सवारी साधनजस्ता व्यक्तिगत आवधिक कर्जामा ग्राहकलाई परिवर्तनीय (सही शब्दावली समायोजित) ब्याजदरको अतिरिक्त स्थिर ब्याजदर पनि प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था उपयुक्त र समयानुकूल छ ।
स्थिर ब्याजदरले कर्जामा रहेको धेरै विसंगति र बेथितिलाई नियन्त्रण गर्ने मात्र होइन, यो निष्पक्ष र जायज पनि छ । निष्पक्ष यसकारण कि हालसम्म ब्याजदर परिवर्तनको जोखिम एकतर्फी रूपमा ग्राहकले मात्र बेहोर्दै आएकामा अब कर्जाप्रदायक संस्थाहरूले पनि बेहोर्नुपर्नेछ । जायज यस अर्थमा कि यी संस्थाहरूले निक्षेपमा स्थिर ब्याजदर दिएर कर्जामा परिवर्तनीय ब्याजदर लिंदै आएका थिए, तर अब निक्षेप र कर्जामा दुवै ब्याजदरको अभ्यास हुनेछ । ब्याजदर तब मात्र प्रभावकारी हुन्छ जब प्रमाणित सिद्धान्तमा आधारित वित्तीय (फाइनान्सियल) र गणितीय (म्याथम्याटिकल) मोडेलहरूको प्रयोग गरेर निर्धारण गरिन्छ ।
स्थिर वा परिवर्तनीय ब्याजदरको छनोट ग्राहकको अधिकार हो भने यो उपलब्ध गराउनु कर्जाप्रदायक संस्थाहरूको जिम्मेवारी हो । यसको अभ्यास यी संस्थाहरूबाट सुरु हुनुपर्ने थियो । सो नभएकाले राष्ट्र बैंकले निर्देशन जारी गर्नुपरेको बुझ्न सकिन्छ । स्थिर ब्याजदरका साथै मिश्रित विधि (केहि अवधि स्थिर र त्यसपछि हरेक वर्ष समायोजित हुने) पनि व्यवस्था हुन् आबश्यक थियो, जुन भएको छैन ।
ब्याजदरलाइ फाइनान्सिएल मार्केटमा ज्यादै चासो र महŒवका साथ हेरिन्छ । धेरै फाइनान्सिएल इकोनोमिस्टहरूले ब्याजदरको अध्ययन, अनुसन्धानमा थुप्रै समय लगाएका छन् । तर पनि ब्याजदर उत्तिकै जटिल छ । नेपालको सन्दर्भमा यो नयाँ पनि छ । यस आलेखमा स्थिर ब्याजदरका यिनै जटिल पक्षबारे विश्लेषण हुनेछ ।

ग्राहकका लागि स्थिर ब्याजदर :स्थिर ब्याजदर ग्राहकका लागि परिवर्तनिय ब्याजदरको विकल्प हो । ब्याजदर घटेको वा कम भएको अवस्थामा ग्राहकले स्थिर ब्याजदर छनोट गर्नेछन् । ब्याजदर उच्च रहेको अवस्थामा भने स्थिर ब्याजदरको छनोट महँगो हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासमा स्थिरभन्दा परिवर्तनीय ब्याजदर कम खर्चिलो भएको अनुभव छ । ब्याजदरमा अत्यधिक उतारचढाव हुने नेपालमा त्यही मान्यता लागू नहोला ।
स्थिर ब्याजदरमा ब्याजदर घटबढको जोखिम बेहोर्नुपर्दैन । ब्याजदर घटेको अवस्थामा कर्जालाइ समयअगावै भुक्तानी गरी कम ब्याजदरमा कर्जा लिन सक्ने अवसर हुन्छ । आफ्नो वित्तीय योजनाअनुसार कर्जा लिने र ब्याजखर्चको व्यवस्थापन हुने हुँदा अनावश्यक वित्तीय दबाब हुँदैन ।

कर्जाप्रदायक संस्थाहरूको चुनौती र अवसर : स्थिर ब्याजदर कर्जाप्रदायक संस्थाहरूका लागि चुनौती र अवसर दुवै हो । अनुभवी र सक्षम जनशक्तिको अभावमा स्थिर ब्याजदर तत्काल लागू गर्न कठिनाइ छ, तर यो समाधान नहुने विषय होइन । स्थिर ब्याजदरको अभ्यासले ब्याजदरमा आधारित डेरिभेटिभ्सजस्ता थुप्रै ओभर–द–काउन्टर वित्तीय साधनलाई बजार प्रवेश गराउँछ, जसको कारोबार रकम कर्जाभन्दा धेरै हुन सक्छ ।
कर्जाप्रदायक संस्थाहरू स्थिर ब्याजदरको व्यवस्थाप्रति सकारात्मक नरहेको बुझ्न सकिन्छ । कुनै बैंकले यसबारे राष्ट्र बैंकसँग असन्तुष्टि जनाएको खबर छापामा आएको छ । उसले अन्तर्राष्ट्रिय अभ्यासमा कर्जामा स्थिर ब्याजदर पाँच वर्षको लागि मात्र दिइने दाबी गरेको छ, जुन सही होइन । स्थिर ब्याजदर कर्जाको पूरै वा आंशिक अवधिका लागि दिने अभ्यास छ, जुन सामान्य विषय हो । स्थिर ब्याजदरविरुद्ध जानुभन्दा यसलाई उपयोगी बनाउनेतर्फ लाग्नु बुद्धिमानी हुन्छ ।
स्थिर ब्याजदरको समस्या समाधान गर्न अर्को बैंकले ९.२५ प्रतिशत ब्याजदरमा १५ वर्ष अवधिको निक्षेप आह्वान गरेको छ । यस्तो लामो अवधिको निक्षेपमा लचकता नभई ब्याजदर परिवर्तनको जोखिम धेरै हुन्छ । भविष्यमा ब्याजदर ९.२५ प्रतिशत वा सोभन्दा माथि रहे यो फाइदामूलक अन्यथा महँगो हुन्छ । ब्याजदर ९.२५ प्रतिशतभन्दा कम हुनेबित्तिकै यो कर्जालगानी फिर्ता हुन्छ र बैंकले नोक्सानी बेहोर्नुपर्छ, तर ब्याजदर घट्दा निक्षेप फिर्ता गर्न सकिँदैन र यसको उच्च लागत बेहोरिरहनुपर्छ । यही हो, ब्याजदर परिवर्तनको जोखिम, जुन फाइनान्सियल र म्याथम्याटिकल मोडेलहरू प्रयोग नगरी थाहा पाउन सकिँदैन ।
पाँच वर्षभन्दा बढी अवधिका कर्जालाई पाँच वर्षसम्मका निक्षेपबाट ब्याजदरमा डाइनामिक हेजिङ गर्दै व्यवस्थापन गर्ने हो, न कि लामो अवधिको निक्षेपबाट । लामो अवधिको निक्षेप व्यावहारिक र प्रभावकारी दुवै हुँदैन । आजदेखि १५ वर्षमा ब्याजदर बढ्नेभन्दा घट्ने सम्भावना धेरै हुन्छ । अझ स्थिर ब्याजदरको अभ्यास भएमा ब्याजदर घट्ने सम्भावना झनै बढी हुन्छ ।

ब्याजदरको निर्धारण :निक्षेपको लागतमा केही प्रतिशत स्प्रेड थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने परम्परागत तरिका अब व्यावहारिक हुँदैन । ब्याजदर दैनिक परिबर्तन हुने हुँदा त्यस्तो परिवर्तनलाई आजको निक्षेपको लागतले समेट्न सक्दैन । अबको ब्याजदर निर्धारण विधिले भविष्यमा हुने ब्याजदरको उतारचढावलाई समेट्ने हुनुपर्छ ।
सिद्धान्ततः स्थिर ब्याजदर परिवर्तनीय ब्याजदरभन्दा बढी हुन्छ । भविष्यमा ब्याजदरमा आउने उतारचढावसँगै स्थिर ब्याजदर समायोजन नहुने हुँदा ग्राहकका लागि कम र कर्जाप्रदायक संस्थाका लागि बढी अनिश्चित एवं जोखिमयुक्त हुन्छ । यही अनिश्चितता र जोखिम वहन गरेबापत केही प्रतिशत ब्याजदर प्रोत्साहनस्वरूप थप दिनुपर्ने कारण त्यसो हुन गएको हो ।
तर, यो बढी कति हो र यसको अनुमान कसरी गर्ने ? यो अनुमान अल्पकाल र दीर्घकालका लागि गर्नुपर्ने हुन्छ । यसका लागि केही बेन्चमार्क रेटहरूको जरुरी पर्छ । अल्पकालमा त्यस्तो बेन्चमार्क पोलिसी रेट हुन्छ भने दीर्घकालका लागि यिल्डकर्भ हुन्छ । यी बेन्चमार्क रेटहरूको तथ्यांकलाई फाइनान्सियल र म्याथम्याटिकल मोडेलहरूमा राखेर चाहिएको अवधिको ब्याजदर निर्धारण गरिन्छ । स्थिर ब्याजदर निर्धारणमा यी मोडेलहरूको प्रयोग बारम्बार हुने गर्छ, जसलाई फाइनान्सियल इन्डस्ट्रीमा स्टोकास्टिक मोडेल भनिन्छ । यस्ता मोडेलहरू केके हुन् र यिनको प्रयोग कसरी गर्ने भन्नेबारे छुट्टै प्रस्तुति आवश्यक हुन्छ ।

के हो यिल्डकर्भ : यिल्डकर्भ विभिन्न अवधिका सरकारी धितोपत्र (ट्रेजरी बिल्स र सरकारी बन्ड) ले दिने प्रतिफलको रेखांकन प्रस्तुति हो । यसमा १, २, ३, ६, ९ र १२ महिनाका ट्रेजरी बिल्स र २, ३, ५, ७, १०, १५ र ३० वर्षका सरकारी बन्डमा आज हुने प्रतिफल गणना गरी ग्राफमा राखेर हेरिन्छ । यसमा अर्धशताब्दी र शताब्दी बन्डहरू पनि हुनु थप राम्रो हुन्छ ।
यिल्डकर्भको प्रवृत्ति बढ्दो, घट्दो र स्थिर गरेर ३ किसिमको हुन्छ । यी प्रवृत्तिले कर्जा लगानीको निर्णयलाई प्रभावित गर्छन् । बढ्दो यिल्डकर्भ हुँदा कर्जा–लगानी विस्तार गर्नुपर्छ भने घट्दो यिल्डकर्भको अवस्थामा कर्जा–लगानी गर्नु जोखिमपूर्ण हुन्छ । तर, घट्दो यिल्डकर्भको अवस्था लामो समय रहँदैन । स्थिर यिल्डकर्भ हुँदा कर्जा–लगानी सावधानीपूर्वक गर्नुपर्छ ।
यिल्डकर्भको अवधारणाले स्थिर ब्याजदर सरकारी बन्डमा हुने प्रतिफलभन्दा धेरै र यिल्डकर्भसँगै घटबढ हुनुपर्छ भन्ने मान्यता राख्छ । मानौं, १५ र ३० वर्षका सरकारी बन्डमा आज प्रतिफल क्रमशः ९ प्रतिशत र १० प्रतिशत छ भने सोही अवधिका कर्जामा स्थिर ब्याजदर क्रमशः ९ प्रतिशत र १० प्रतिशतभन्दा बढी हुनुपर्छ । सरकारी बन्डको प्रतिफल बढेमा (घटेमा) स्थिर ब्याजदर पनि बढ्नु (घट्नु) पर्छ, तर स्थिर ब्याजदर यिल्डकर्भभन्दा कति बढी हुनुपर्छ भन्ने अनुमान गर्न स्टोकास्टिक मोडेल नै प्रयोग गर्नुपर्छ ।
यिल्डकर्भ ब्याजदर गणनाको अत्यन्त उपयोगी वित्तीय उपकरण हो । कर्जाप्रदायक संस्थाहरूलाई आजदेखि ३० वर्षबीच हरेक वा कुनै पनि दिनको प्रतिफल चाहिन्छ, जुन यिल्डकर्भले दिंदैन, तर त्यस्तो प्रतिफल गणना गर्न मद्दत भने गर्छ । जस्तै, २० वर्षको कर्जा दिनुपरेमा २० वर्षको यिल्डकर्भ चाहिन्छ, जुन उपलब्ध छैन । तर, आजदेखि १५ वर्षको यिल्डकर्भका आधारमा २० वर्षको यिल्डकर्भ प्रक्षेपण गरेर सो कर्जाको ब्याजदर निर्धारण गर्न सकिन्छ ।
अर्को अवस्था, कुनै ग्राहकले आजको तीन महिनापछि १ वर्षका लागि कर्जा (वा निक्षेप) मा आज स्थिर (वा परिवर्तनीय) ब्याजदरको माग गर्न सक्छ । यस्तो अल्पकालीन ब्याजदर पोलिसी रेटका आधारमा निर्धारण गर्न सकिन्छ । कर्जाप्रदायक संस्थाहरूले आजदेखि ३० वर्षबीच अनगिन्ती अवधिको प्रतिफल गणना गर्नुपर्ने हुन्छ । स्थिर :ब्याजदरको प्रयोगले भोलि यस्ता थुप्रै जटिल अवस्था ल्याउनेछ, जसको समाधान विभिन्न स्टोकास्टिक मोडेलहरूको प्रयोग गरेर गरिन्छ ।
ब्याजदर परिवर्तनको जोखिम : स्थिर ब्याजदर निर्धारण भइसकेपछि मार्केटमा दुई अवस्था आउन सक्छन् एउटा ब्याजदर बढ्ने वा स्थिर रहने, अर्को ब्याजदर घट्ने । ब्याजदर बढेको वा स्थिर रहेको खण्डमा हालभन्दा कम ब्याजदरमा कर्जा नमिल्ने हुँदा ग्राहकले कर्जा यथास्थितिमा राख्नेछ । यसले कर्जाप्रदायक संस्थालाई कुनै असर गर्दैन । ब्याजदर घटेको खण्डमा हालभन्दा सस्तो ब्याजदरमा कर्जा पाइने हुँदा ग्राहकले कर्जा पूर्वभुक्तानी गर्नेछ । यस्तोमा ग्राहकलाई गुमाउने डर हुन्छ ।
ब्याजदरमा आउने यस्तो परिवर्तनले ब्याजदरको जोखिम पैदा गर्छ । स्टोकास्टिक मोडेलको प्रयोगबिना ब्याजदर परिवर्तनको जोखिम निर्धारण हुँदैन । सोबिना सही ब्याजदर निर्धारण हुँदैन ।

राष्ट्र बैंकको भूमिका : स्थिर ब्याजदरको प्रभावकारी अभ्यासमा राष्ट्र बैंकको महŒवपूर्ण भूमिका हुन्छ । यिल्डकर्भ गणनाका लागि उसले विभिन्न मितिका ट्रेजरी बिल्स र सरकारी बन्डहरू निरन्तर जारी गरिरहनुपर्छ । बजारमा तरलता कम–बढी हुँदा सरकारी बन्डको खरिद–बिक्री गरेर तरलताको व्यवस्थापन गर्नुपर्छ । स्प्रेडको बाध्यकारी व्यवस्था हटाएर ब्याजदर स्वतन्त्र निर्धारण हुने गरी छाड्नुपर्छ । मिश्रित ब्याजदर विधिको व्यवस्था गर्नुपर्छ ।

निष्कर्ष : ढिलै भए पनि राष्ट्र बैंकले महत्वपूर्ण र दूरगामी प्रभाव छाड्ने नीतिगत निर्णय लिएको छ । यो विषय जति महŒवको छ, त्यति चर्चा र बहस भएको छैन । सही अभ्यास भएमा स्थिर ब्याजदरले विद्यमान फाइनान्सियल इन्डस्ट्रीमा ठूलो परिवर्तन ल्याउनेछ ।
स्थिर ब्याजदरले कर्जाप्रदायक संस्थाहरूको कर्जा दिने व्यवहारमा मात्र परिवर्तन ल्याउँदैन, ब्याजदरमा आधारित थुप्रै वित्तीय साधनलाई बजार प्रवेश गराउनेछ । यी उपकरणको प्रयोगले वित्तीय संस्थाहरूलाई जोखिम नियन्त्रण गर्ने र थप आम्दानीको अवसर दिन्छ । यसले ब्याजदरमा हुने धेरै उतारचढावलाई नियन्त्रण गरी ब्याजदरको जोखिम नियन्त्रण गर्न पनि सहयोग गर्छ ।
अहिलेसम्म पुरातनवादी वित्तीय गतिविधि गर्दै आएका कर्जाप्रदायक संस्थाहरूले अब भने धेरै दक्ष र रचनात्मक वित्तीय सेवा दिनुपर्नेछ । यसले नेपालमा आधुनिक र अन्तर्राष्ट्रिय स्तरका वित्तीय साधनहरू उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्