कान्लाको केराखेती आम्दानीको मुख्य स्रोत «

कान्लाको केराखेती आम्दानीको मुख्य स्रोत

उनीहरु केराखेती गरेर आफ्नो घर खर्च चलाउन मात्र नभई छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् ।

दाङ-पश्चिम दाङको पुरन्धरा गाउँपालिकाको सिमगौराका कान्लाभरी केराखेती देख्न पाइन्छ । अहिले त्यहाँका ५० भन्दा बढी किसानले खेर जाने गरेको कान्लामा केराखेती गरेर आफूलाई आर्थिक रुपमा सक्षम बनाउँदै गएका छन् । दैनिकजसो आर्थिक उपार्जनका लागि विदेशिने युवाको संख्यामा बृद्धि भइरहेका बेला सिमगौराका किसानले भने त्यसै खेर गएको कान्लामा केराखेती गरेर उदाहरण देखाएका छन् ।
उनीहरु केराखेती गरेर आफ्नो घर खर्च चलाउन मात्र नभई छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् । यस्तै मध्येका एक स्थानीयवासी भीमबहादुर खड्काले १० वर्षदेखि केराखेती गरेका छन् । सुरु सुरुमा त त्यति धेरै आम्दानी लिन नसके पनि विस्तारै खेती गर्दै जाँदा वार्षिक ७० देखि ८० हजार रुपैयाँसम्मको केरा बिक्री गर्ने गरेको उनी बताउँछन् । “पहिले पहिले त घर खर्च चलाउन र छोराछोरीलाई पढाउन समस्या हुने गरेको थियो अहिले सो खेतीकै आम्दानीबाट घर चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ,” उनले भने । आफ्नो बारीमा उत्पादन भएको केरा बेच्नका लागि कुनै समस्या छैन भन्दै खड्काले बोटमा पाकेको केरा स्थानीय हापुरे बजारसम्म लगेर बेच्ने र काँचो केरा लिन त घरमा नै गाडी लिएर व्यापारी आउने गरेको बताए ।
उनले बारीको कान्लामा केराका करिब २०० बोट रोपेका छन् । “सुरुमा केराखेती गर्दा व्यावसायिक रुपमा नगरी छिमेकीले कान्लामा रोपेको देखेपछि देखासिकीले केराखेती शुरु गरेको हुँ तर अहिले त विस्तारै राम्रो आम्दानी सजिलै लिन सकिने भएपछि अरु केराका बोट रोपेको छु,” उनले भने ।
अहिले त्यहाँका ५० भन्दा बढी घरपरिवारले आफ्नो बारीको कान्लामा केराखेती गरेका छन् । केराखेती गरेर जीवन निर्वाह गर्न सफल अर्का किसान अम्मर वलीले केराका २५० भन्दा बढी बोट रोपेका छन् । केराबाट आम्दानी गरी घरखर्च र छोराछोरीलाई आवासीय विद्यालयमा पढाउने ओलीले भने, “केराखेतीबाट सोचेभन्दा राम्रो आम्दानी सजिलै लिन सकिने भएको छु, मेहनत पनि त्यति धेरै नलाग्ने भएका कारण म यो खेतीतर्फ आकर्षित भएको हुँ ।” उनले अब उन्नत जातको केराखेती गर्ने सोच रहेको बताए ।
सोही ठाउँकी देउरुपा खड्काले पनि अहिले केराखेती गरेर वार्षिक रुपमा ६० हजार रुपैयाँ आम्दानी लिन सफल भएकी छन् । केराखेतीबाट राम्रो आम्दानी छिटो लिन सकिने हुँदा अब उन्नत जातको केराखेती गर्न बबई गाउँपालिकाले सहयोग गर्नुपर्ने उनीहरुको माग छ । सरकारी तथ्यांकअनुसार जिल्लाको घोराही उपमहानगरपालिकाका नारायणपुर र हापुर, तुलसीपुर उपमहानगरपालिकाका पवन नगर र हरेवास, शान्ति नगरगाउँपालिकाको पातेटाकुरा र राप्ती गाउँपालिकाको लालमटियामा मुख्य खेतीका रुपमा केराखेती हुने गरेको छ । जिल्लामा उत्पादन हुने केरा नपुग्दा भारतीय बजार रुपैडिया र बढनीबाट समेत दाङमा ठूलो परिमाणमा केरा भित्रिने गर्छ ।

नारायणी रजौरे

प्रतिक्रिया दिनुहोस्