बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्नू :गृहमन्त्री «

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्नू :गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताएका छन् ।
बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बलत्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको बताए ।
मिलापत्र गराउनेहरुलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संशोधन गरिने उनको भनाइ थियो । बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै उनले यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भिर रहेको बताए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलात्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरिसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारवाही अघि बढाइएको बताए ।
ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलात्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारवाही, पीडितलाई उपचार, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्