तरकारी खेतीमै तल्लिन «

तरकारी खेतीमै तल्लिन

प्यूठान-प्यूठान नगरपालिका–६ माझकोटकी तनी घर्ती २० वर्षयता व्यावसायिक तरकारी खेतीमै तल्लिन छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीनै उनको परिवारको मुख्य आम्दानी बनेको छ । व्यावसायिक तरकारी खेतीबाटै राम्रो आम्दानी भएपछि उनी लामो समयदेखि यही व्यवसायमा तल्लिन भएकी हुन् । “सिजनअनुसार मौसमी तथा बेमौसमी तरकारी खेती गर्छौं,” उनले भनिन्, “१० जनाको परिवार तरकारी खेतीबाटै धानिएको छ ।” दुइ छोरालाई तरकारीकै आम्दानीले काठमाडौंमा पढाउँदै आएको उनले बताइन् ।
उनले उत्पादित तरकारी वाग्दुला बजार केन्द्रमा रहेको संकलन केन्द्रमा बिक्री गर्दै आएकी छन् “तरकारी खरिद गर्न घरमै गाडी लिएर व्यवसायीहरू आउने गरेका छन्,” घर्तीले भनिन, “पहिलेपहिले डोको मै बोकेर बिक्रीका लागि बजारमा पुग्थ्यौं ।” तरकारी खेतीबाट एकै सिजनमा एक लाखदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएको उनले बताइन् । वर्षे सिजनमा १५ सय क्वीन्टल काँक्रो मात्रै बिक्री गर्ने गरेको उनको भनाइ छ । “गत दुई महिनामा काँक्रोसँगै वर्षे तरकारी बिक्रीबाट झन्डै ७० हजार रुपैयाँ आम्दानी भयो,” घर्तीले भनिन्, “दुई रोपनी जग्गामा लगाएको बन्दा र फूलगोपी बिक्रीका लागि तयार हुँदै छ ।” घर्तीसँगै उनका श्रीमान् चन्द्रबहादुर दैनिक तरकारी खेतीमै व्यतित हुने गरेको छ । कमाई गर्न भारत जाने चलन पहिलैदेखि भए पनि श्रीमानलाई तरकारीखेती कै भरले कहिल्यै भारत जान नपरेको उनले बताईन् । तरकारी खेतीकै आम्दानीबाट काठमाडौं पढाउन पठाएको एक छोरा भर्खरै भारतीय सेनामा भर्ती हुन सफल भएको उनले सुनाइन् ।
गाउँकै अस्मिता बोहोराले पनि २ वर्ष यता व्यावसायिक तरकारी खेती सुरु गरेकी छन् । “तरकारी खेतीले राम्रै प्रतिफल दिएको छ,” उनले भनिन्, “थप जग्गामा पनि तरकारी खेती गर्ने योजनामा छु ।” अन्य अन्नबालीभन्दा तरकारी खेतीबाट राम्रो प्रतिफल पाएको उनले बताइन् । तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका अधिकांश किसान यसतर्फ आकर्षित हुँदै आएका छन् । गाउँका झन्डै २ सय किसानले तरकारी खेतीबाटै जिविका चलाउँदै आएको वडाअध्यक्ष कमानसिंह पुनले बताए । “व्यावसायिक तरकारी खेती गर्ने कृषकको संख्या बढ्दै गएको छ,” पुनले भने । मानागाँउ, गुरुङगाउँ जुम्लीधारलगायत क्षेत्र तरकारी खेतीका लागि अब्बल रहेको उनले बताए ।
यहाँका कतिपय किसानले भने सिँचाइको असुविधा भएको गुनासो गरेका छन् । “सिँचाइका लागि आकासे पानीकै भर पर्नुपर्छ,” स्थानीय विष्णुबहादुर केसीले भने, “खानेपानीकै समस्या भएको अवस्थामा सिँचाइ सुविधा त झन् कहाँबाट पाउनु ?” उनले सिँचाइ सुविधा उपलब्ध हुने हो भने तरकारी खेतीबाटै गाउँ आत्मनिर्भर हुने दाबी गरे ।

प्रज्वल पहाडी

प्रतिक्रिया दिनुहोस्