‘रामलखन जयसवाल मृत्यु प्रकरणमा संसदीय छानबिन गर्न माग’ «

‘रामलखन जयसवाल मृत्यु प्रकरणमा संसदीय छानबिन गर्न माग’

नेपाल कलवार कल्याण समिति, काठमाडौंले वीर अस्पतालमा उपचारको क्रममा निधन भएका रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग राखेको छ । समितिले जयसवालको के ? कसरी मृत्यु भएको हो ? त्यसमा संसदीय छानबिन आयोग गठन गर्नुपर्ने पनि माग गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले जयसवालको परिवारलाई उचित क्षतिपूर्तिसहित न्यायको व्यवस्था गर्नुपर्ने माग गरेको छ । समितिका अध्यक्ष रामचन्द्र साहले जयसवालको परिवारले उचित न्याय पाउनुपर्ने बताए । उनले भने, “सरकारले पीडित परिवारलाई न्याय दिनुपर्छ । सरकारले यो विषयमा पर्याप्त ध्यान दिनुपर्छ । परिवारले अघि सारेका मागहरू चाँडोभन्दा चाँडो सम्बोधन हुनुपर्छ ।”
उनले पोष्टमार्टमको रिपोर्ट पनि चाँडै सार्वजनिक गर्न आग्रह गरेका छन् । न्यायका लागि जयसवाल परिवार धेरै दिनदेखि काठमाडौंमा रहेकोले आफ्नो परम्पराअनुसार अन्त्येष्टि गर्नको लागि शव पनि चाँडै रिलिज गर्न सरकारसँग समितिले आग्रह गरेको छ ।
कार्यक्रममा मृतक जयसवालकी भाइबुहारी पुनम जयसवालले यो प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कठोरभन्दा कठोर सजाय दिन माग गरेकी छिन् । उनले भनिन्, “गृहमन्त्री, चाँडोभन्दा चाँडो छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्नुहोस, यो जेल र वीर अस्पताल बद्नाम नहोस् ।’ उनले वीर अस्पतालले किन अहिलेसम्म सिसिटिभी फुटेज ननिकालेको भन्दै प्रश्नसमेत गर्न् ि। उनले मृतक जयसवालको पोष्टमार्टम भैसक्दापनि अहिलेसम्म रिपोर्ट नदिइएको गुनासो पोखिन् ।
कार्यक्रममा प्रथम उपाध्यक्ष अवलेश प्रसाद गुप्ता, द्वितीय उपाध्यक्ष चन्द्रेश्वरप्रसाद साह, महासचिव रामबाबु चौधरी, सचिव महेन्द्र चौधरी र सदस्यहरू रञ्जु जयसवाल र दिनेश जयसवालको उपस्थिति थियो । समितिले जयसवाल परिवारलाई न्याय दिलाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रसमेत बुझाएको छ। उसले काठमाडौं सिडिओ कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्