मकवानपुरमा ४ सय सवारीसाधन कारबाहीमा «

मकवानपुरमा ४ सय सवारीसाधन कारबाहीमा

हेटौंडा-  गएको असोज २९ गतेयता मकवानपुरमा चार सयवटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियमविपरीत सवारीसाधन चलाउने विभिन्न प्रकृतिका सवारीसाधनलाई जरिवाना तिराई छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्मको तथ्याङ्कअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ५ जना कारबाहीमा परेका छन् । तीबाहेक ट्राफिक नियम मिचेको, कागजपत्र नबोकेको, ओभर लोडलगायतका कारण ट्राफिकले सवारीलाई जरिवाना तिराएको हो । नियमविपरित सवारी चलाउने सवारी साधनबाट ट्राफिक प्रहरीले दसैंको मुख्य ८ दिनमा दुई लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रकुमार यादवका अनुसार मकवानपुरमा असोज महिनामा मात्र १० लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्ममा ७ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४ जनाले ज्यान गुमाएका छन् । असोज २९ गते २ जना, ३१ गते १ जना र कात्तिक ५ गते १ जनाको दुर्घटनामा परी मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख यादवले बताए । ७ वटा दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । ९ दिनको अवधिमा ७ वटा दुर्घटनामा मोटसाइकल धेरै परेका छन् । ७ वटा मोटरसाइकल, एउटा बस, दुईवटा जीप दुर्घटनामा संलग्न रहेको ट्राफिकको तथ्याङ्कमा उल्लेख छ ।
दसैंको अवधिमा भएका सबै दुर्घटना तीव्र गतिका कारण भएको पनि ट्राफिकले ठहर गरेको छ । दसैंको मुख्य दिनहरुमा सडकमा सवारी चाप कम हुँदा तीव्र गतिमा सवारी कुदाएका कारण दुर्घटना भएको ट्राफिक प्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्