प्रहरी चौकीलाई आफ्नै स्वामित्वमा जग्गा प्राप्त

लमजुङका दुईवटा प्रहरी चौकी भवन निर्माणका लागि आफ्नै स्वामित्वमा जग्गा प्राप्त भएको छ । जिल्लाको दोर्दी गाउँपालिका र क्होलासोथार गाउँपालिका अन्तर्गतका प्रहरी चौकीका लागि जग्गा प्राप्त भएको हो ।
जिल्लास्थित सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको रोहबरमा मालपोत कार्यालयले प्रहरीलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेको हो । मालपोत कार्यालयका प्रमुख केशव पौडेलले जिल्लाका प्रहरी प्रमूख एवं प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापालाई दुवै स्थानको जग्गाको लालपुर्जा हस्तान्तरण गरेका हुन् ।
प्रहरीका अनुसार दोर्दी गाउँपालिकाअन्तर्गत श्रीमन्ज्याङ प्रहरीचौकीका लागि दोर्दी–४ मा दुई रोपनी जग्गा र क्होलासोथार गाउँपालिकाअन्तर्गत वडा नम्बर ३ मा क्होलासोथार प्रहरी चौकिका लागि तिन रोपनी जग्गाको लालपुर्जा हस्तान्तरण भएको हो ।
यसअघि प्रहरीचौकीका लागि आवश्यक जग्गाको लागि जिल्ला मालपोत कार्यालय, नापी कार्यालय र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी नेपाल सरकार गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालयमा पत्राचार भएको प्रशासनले जनाएको छ ।
क्होलासोथार मा प्राप्त जग्गा यसअघि स्वास्थ्य कार्यालयको नाममा रहेको र हाल प्रहरीको नाममा आएको हो । गत वर्ष मात्रै क्होलासोँथारमा अस्थायी प्रहरीचौकी स्थापना भएको हो । प्रहरी सहायक निरीक्षक नेतृत्वमा ६ जना प्रहरी रहेको मालिङमा जग्गा प्राप्तिसँगै भवन निर्माणको पहल भएको र आगामी वर्षसम्म स्थायी प्रहरीचौकीको प्रस्ताव गरिने प्रनाउ थापाले बताए ।
यसैगरी श्रीमन्ज्याङ प्रहरीचौकीका लागि प्राप्त जग्गा जिल्ला कृषि विकास कार्यालयको स्वामित्वमा रहेको जग्गा हो । उक्त चौकिमा पनि प्रहरी सहायक निरिक्षकको नेतृत्वमा सातजना प्रहरी छन् । प्रहरीचौकीमा कम्तीमा १० जना प्रहरी दरबन्दी भएपनि आवश्यक जनशक्ति अभावका कारण दरबन्दीभन्दा कम संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
२०५५ सालमा साविक श्रीमन्ज्याङ गाउँविकास समितिमा स्थापना भएको श्रीमन्ज्याङ प्रहरीचौकी तत्कालिन द्वन्द्वका कारण विस्थापित भएको थियो । शान्तिप्रक्रियासँगै सोही चौकी साविक नौथरमा स्थापना भएको हो । हाल नौथरमै जग्गा प्राप्ति भएपछि अव प्रहरीचौकी पनि सोही ठाउँमा हुने भएको छ ।
जिल्लामा अझै पनि आफ्नै स्वामित्वमा जग्गा नभएका जिल्ला ट्राफिक कार्यालय र दुईवटा अस्थायी प्रहरी चौकी रहेका छन् । दोर्दी गाउँपालिका अन्तर्गत कीर्तिपुर र बेंसीसहर नगरपालिकाअन्तर्गत गाउँसहरमा स्थापना भएका दुईवटै अस्थायी प्रहरीचौकीका लागि आफ्नै स्वामित्वमा जग्गा नभएको प्रहरीले जनाएको छ ।
सो बाहेक जिल्लामा एक इलाका प्रहरी कार्यालय सहित पाँच वटा प्रहरीचौकी आफ्नै स्वामित्वका भवन विहिन रहेका छन् । इलाका प्रहरी कार्यालय सुन्दरबजार, मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत प्रहरी चौकी बाहुनडाँडा, बेसीसहर नगरपालिकाअन्तर्गत चिती प्रहरीचौकी, सुन्दरबजार नगरपालिकाअन्तर्गत दुराडाडा प्रहरीचौकी र मध्यनेपाल नगरपालिका अन्तर्गत दुईपिप्ले प्रहरी चौकीमा आफ्नै स्वामित्वमा जग्गा भएर पनि भवनविहीन हुन् ।
लमजुङमा जिल्ला प्रहरी कार्यालयका केही संरचना निर्माणसहित अन्य तीनवटा प्रहरीचौकी निर्माणाधीन रहेका छन् । इलाका प्रहरी कार्यालय भोटेओडार, राइनास नगरपालिकाअन्तर्गत तिपिप्ले प्रहरीचौकी र धमिलीकुवा प्रहरी चौकीको भवन तथा संरचना यसै अर्थिक वर्षबाट निर्माण सुरु भएका हुन् ।
जिल्लाको दूधपोखरी गाउँपालिकाअन्तर्गत गौडा प्रहरीचौकी र क्होलासोथारको गिलुङ प्रहरीचौकी भने भवन निर्माण सम्पन्न भएसँग गत आर्थिक वर्षमात्रै उद्घाटन भएका हुन् ।