गैरआवासीय नेपाली संघको आठौं एसिया प्रशान्त क्षेत्रीय बैठक सम्पन्न

गैरआवासीय नेपाली संघको दुई दिने (२६ र २७ सेप्टेम्बर) आठौं) एसिया प्रशान्त क्षेत्रीय बैटक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा अनलाइन माध्यमबाट सम्पन्न भयो ।
२५ देशका २ सय प्रतिनिधिसहित विभिन्न व्यक्तित्वहरूको सहभागितामा आठौं गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय बैठकको मूल विषय ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुनः एकीकरण र रोजगार’ र यसैगरी पहिलो क्षेत्रीय ज्ञान सम्मेलनको मूल विषय ‘नलेज सेयरिङ अमोङ्ग नेप्लिज एम् च्यालेन्जेस् एण्ड अपरच्युनिटी फर अन्ट्रप्रनर्स फ्लोइङ्ग द कोभिड–१९ प्यान्डेमिक’ रहेको थियो ।
यस भेला तथा सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरू, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरू, सल्लाहकारहरू पदाधिकारी तथा सदस्यहरू, मानार्थ सदस्यहरू, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरू, विभिन्न मुलुकका विज्ञहरू, अभियानकर्ताहरू, गैरआवासीय नेपालीहरूलगायत सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न यस बैठक तथा ज्ञान सम्मेलनले केही निर्णयहरू गरेको छ ।
हाल विश्वव्यापक महामारी रुपमा फैलिएको कोभिड–१९ का कारण एसिया प्रशान्त क्षेत्रका मुलुकहरू तथा खाडीमुलुकलगायत विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई सहज बनाई स्वदेश फर्काउनका लागि हवाई उडान वृद्धि गर्न नेपाल सरकारसँग अनुरोध गर्छ ।
कोभिड–१९ महामारीका कारण विश्वभरका नेपालीहरू प्रभावित भएका छन् । एशिया प्रशान्त क्षेत्रका मुलुकहरू तथा खाडीलगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमीमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले गर्दा विदेश मै रोकिएकाको बिनाशर्त वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत निःशुल्क उद्धार गर्नका लागि नेपाल सरकारसंग आग्रह गर्छ ।
वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरूको पुनः एकीकरण र रोजगारका लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारवीच स्वदेश मै रोजगार सृजना गर्न सहकार्य गर्ने निर्णय पनि गरेको छ ।
परम्परागत वैदेशिक रोजगारीका रुपमा हाल रहेका गन्तव्य मुलुक बाहेक आकर्षक गन्तव्य मुलुकहरू जहाँ पारिश्रमिक राम्रो, कम जोखिम तथा मानव अधिकार तथा सामाजिक सुरक्षाका सुविधाहरू भएका गन्तब्य देशको पहिचान गरि उक्त देशहरूमा वैदेशिक रोजगार प्रबद्र्धन गर्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा वैदेशिक रोजगार बोर्ड समक्ष संघ अनुरोध गगरेको छ। मुलुकको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेकाहरूको सामाजिक सुरक्षा कायम गर्नका लागि सामाजिक सुरक्षाकोषको ग्यारेण्टी गर्न नेपाल सरकारसंग आग्रह गर्छ ।
गैरआवासीय नेपालीहरूको सहकार्यमा श्रमिक सूचना वैंक कार्यान्वयन गराउने र विदेशबाट फर्किएका नेपालीहरूको डाटा राख्ने व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्छ । विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भिœयाइ आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत क्षेत्रमा उपयोग गरी स्वदेश मै रोजगारीको सिर्जना गर्न यो बैठक सबै गैरआवासीय नेपालीलाई आह्वान गर्छ ।
गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरूको प्रशंसा गर्दै महिलाहरूको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाहरूको सहभागिता सुनिश्चित गराउने निर्णय गर्छ ।
एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरूलाई अनुरोध गर्ने निर्णय गर्छ । स्वदेशमा कोभिड– १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि सर्वप्रथम सहयोग तथा तदारुकताका लागि एसिया प्रशान्त क्षेत्रलाई गैरआवासीय नेपाली संघले उच्च मूल्यांकन गर्दै भविष्यमा पनि यसै प्रकारको सहयोगको अपेक्षा गर्छ।