खसी बोकाको व्यापार न्यून «

खसी बोकाको व्यापार न्यून

भरतपुर-चितवनमा खसीबोका व्यवसायमा गिरावट आएको छ । गत वर्ष दसंै तिहार लक्षित गरेर खसीबोका ल्याउन व्यस्त हुने व्यवसायी यतिबेला फुर्सदिला बनेका छन् । कोभिड–१९ का कारण करिब ५ महिना बन्द भएका मासु पसल एक महिना पहिलेदेखि सञ्चालनमा आएपनि व्यापार नगण्य भएको गुनासो गरेका छन् ।
खसीबोका मासु व्यवसायी संघका अनुसार यस वर्षको दसंै तिहारमा व्यापारमा भारी गिरावट हुने भएको छ । संघका अध्यक्ष उद्धवप्रसाद तिम्सिनाले व्यवसायीले थोरै मात्र खसीबोका ल्याउन लागेको बताए । “खपत हुने अवस्थानै छैन, अहिले १० प्रतिशतमात्रै व्यापार छ” उनले भने, “गत वर्षजस्तो धेरै खसीबोका ल्याएर राखिएको पनि छैन ।” चितवनमा गत वर्ष दसंै तिहारमा करिब १५ हजार खसीबोका बजारका पसलमा खपत भएको थियो । चितवनमा खसीबोका मासु बेच्ने ३ सय बढी पसल छन् । यसवर्ष भने व्यवसायी उत्साहित छैनन् ।
संघका महासचिव गणेशप्रसाद कँडेलले यो वर्ष एक चौथाईमात्रै खपत हुने अनुमान गरिएको बताए । “पहिले पसलमा दैनिक ५ वटासम्म खपत हुन्थ्यो, अहिले ३ वटा पनि बिक्री हुन मुस्किल हुन्छ” उनले भने, “मागनै छैन, पसल आउने ग्राहक घटेका छन् ।” विगतका दसैंमा घटस्थापनादेखि पूर्णिमासम्मको अवधिमा मात्रै दैनिक एक हजार खसीबोका खपत हुँदै आएको थियो ।
होटल, पाटी प्यालेसमा ६ महिनासम्म बन्द भएपछि मासुको आधा व्यापारमा कमी आएको थियो । कुखुराको मासुको व्यापार हाल करिब ४० प्रतिशत हाराहारी छ । भारतबाट खसीबोका ल्याउन अघिल्लो वर्षको फागुनदेखि प्रतिबन्ध लगाएपछि व्यवसायी चितवनका पहाडी भेग, तनहुँ, गोर्खा पुगेर खसीबोका ल्याउने गरेका थिए । गत वर्ष चितवनका मासु व्यवसायीले पोखरा, वेनीबाट करिब २ हजार च्याङग्रा ल्याएर बेचेका थिए । यसपाली च्याङग्रा ल्याउने कुनै योजना बनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्