Logo

काँचो किवी बिक्री नगर्न सचेतना अभियान सञ्चालन गरिने

इलाम-काँचो किवी बजारमा आएपछि कृषि ज्ञान केन्द्र इलामले सचेतना अभियान चलाउने भएको छ । सरोकारवालाहरुसँग छलफल गर्दै ज्ञान केन्द्रले अनुगमन तथा सचेतना गर्ने भएको हो । नपाकेको अपरिपक्व किवी बजारमा आएपछि केन्द्रले किवी जोन परियोजनाका पदाधिकारी, उद्योग वाणिज्य संघ, सहकारीकर्मी तथा सञ्चारकर्मीहरुसँग छलफल पछि सचेतना कार्यक्रम गर्ने भएको हो । जसका लागि काँचो किवी रोक्न प्रसार प्रचार गर्ने भएको हो । बजारमा अनुगमन गर्ने र जिल्ला समन्वय समिति इलामसँग सहकार्य गरेर स्थानिय तहमा पत्राचार गर्न लगाउने भएको ज्ञान केन्द्र इलामक प्रमुख टोनी बर्देवाले बताए ।
हाल बजारमा रेड किवी आउन थालेको छ । रेड किवी पाक्ने सिजन भएपछि ग्रन (हरियो किवी समेत आएपछि समस्या भएको छ । किवी पाके नपाकेको मापन गर्नका लागि यसको ब्रिक्स मापन गरिन्छ । विशेष गरी ८ ब्रिक्स भन्दा माथीको किवीलाई मात्र गुणस्तरिय किवीका रुपमा लिइन्छ । परिपक्व किवी ८ ब्रिक्सदेखि १९ ब्रिक्ससम्म हुन्छ । रेड किवीमा बढी गुलियो हुने भएकाले ५० ब्रिक्ससम्म हुने गरेको छ । ग्रीन किवीमा अमिलोपना बढी भएपनि रेड किवीमा गुलियोको मात्रा बढी हुने गरेको छ ।
गएको वर्ष ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ लगायतले अनुगमन र काँचो किवी बिक्री वितरणमा रोक लगाएपछि काँचो किवी बजारमा आएको थिएन । यस वर्ष सुरुबाट नै अभियान चालाउन सके बिक्री वितरण रोक्न सकिने सरोकारवालाहरुको भनाई छ ।
इलाममा एक सय ५२ हेक्टर क्षेत्रफलमा किवी खेती विस्तार भइसकेको छ । गएको वर्ष इलाममा मात्र एक हजार दुई सय १५ मेट्रिक टन किवी उत्पादन भएको छ । उत्पादनको करिव २० प्रतिशत रेड किवी उत्पादन हुने गरेको छ । किवी खेती प्रवद्र्धनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत किवी जोन आयोजना समेत सञ्चालनमा रहेको छ । किवी फलको प्रशोधन र मुल्य अभिबृद्धिका लागि भने ठोस पहल नभएको किसानहरुको गुनासो छ ।
किवी जोन घोषणा भएपछि किसानहरुलाई अनुदानमा किवी खेतीका लागि आवश्यक सामाग्री प्रयोग हुने औजार वितरण गरिँदै आएको जोनका अध्यक्ष देउकुमार राईले बताए । किवी जोन सुरु भएपछि किवी खेतीमा किसानको अझ आकर्षण बढेको उनको भनाइ छ ।

टीका खतिवडा

प्रतिक्रिया दिनुहोस्