कोरोना : मानव जीवनमाथिको खतराको साइरन «

कोरोना : मानव जीवनमाथिको खतराको साइरन

आज अर्बौं मानिसको निद्रा हराएको छ । कोरोना भाइरसको महामारीले मानव जातिकै अत्यन्त खराब शत्रुका रूपमा उपस्थित छ— यो भाइरस ।

नेपाल मात्र होइन, कोरोनाका कारण पूरै विश्वमाथि मानव जीवनको खतराको साइरन बजेको छ । यो भाइरसका कारण जनस्वास्थ्य, आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा विश्वलाई आतङ्कित बनाइरहेको छ । विगत दुई शताब्दीभन्दा अघिदेखि विश्वलाई नेतृत्व गरिरहेको महाशक्ति राष्ट्र अमेरिकासमेतलाई यो सूक्ष्म भाइरसले तवातवा बनाइरहेको छ, अर्थात् इपिसेन्टर नै बनाइरहेको छ । धेरै विश्लेषकहरूले कोरोनापछिको विश्व पुँजीवादी व्यवस्थामा समेत बदलाव आउने संकेत गरेका छन् । त्यतिमात्र होइन, विश्व महाशक्तिको ताज अमेरिकाले बचाउन सक्छ या सक्दैन, प्रशस्त अड्कलबाजी गरिरहेका छन् । कोरोना भाइरसका बारेमा अमेरिका र चीनबीच कूटनीतिक रूपमा भइरहेको आरोप–प्रत्यारोपलाई विश्वमै महत्वका साथ हेर्ने गरिएको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्थास्थ्य संगठनलाई चीनको इशारामा चलेको आरोप लगाउँदै आएका छन् ।
आज अर्बौं मानिसको निद्रा हराएको छ । कोरोना भाइरसको महामारीले मानव जातिकै अत्यन्त खराब शत्रुका रूपमा उपस्थित छ— यो भाइरस । अन्य कुनै कारण नभएर कोरोना मानवसिर्जित महामारी हो । एउटा प्रतिवेदनअनुसार जनवारबाट मान्छेमा सर्ने सरुवा रोगका कारण संसारमा बर्सेनि १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ । ‘प्लस वान’ जर्नलमा प्रकाशित लेखका अनुसार सन् १९८० देखि २०१३ सम्म विश्वमा २ सय १५ वटा महामारी फैलिएका थिए, जसले विश्वभर साढे ४ करोड मानिसलाई संक्रमित बनाएको थियो । तीमध्ये ६० प्रतिशतभन्दा बढी रोगको उत्पत्तिस्रोत जनावर थिए र जसमध्ये दुईतिहाइ रोग जंगली जनावरमा पाइने ब्याक्टेरिया, भाइरसलगायतका जीवाणुका कारण मानिसमा सरेका थिए । मानिसका अनौठा सोख र उपभोगका कारण वन्यजन्तुसँग मानिसको बढ्दो हिमचिम र वनविनाशलगायतका वन्यजन्तुको बासस्थानमा आएको ह्रासका साथै जलवायु परिवर्तनका कारण वन्यजन्तुबाट मानिसमा रोग सर्ने वातावरण बनिरहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) विश्व आर्थिक र राजनीतिक ग्लोबलाइजेसन (वैश्वीकरण) को उपज हो । अस्वस्थ पुँजीवादले ल्याएको महŒवपूर्ण संकट उपभोगवादी चरित्र हो । यसले पछिल्लो समयमा पुँजीको चरित्रलाई अधिकतम रूपले उपभोगवादी बनाइदिएको छ । उपभोगवादी चरित्रले मानवीय जीवनका मूल्य, मान्यता, आदर्श, संस्कार सबैलाई ध्वस्त पार्दै मान्छेलाई खेलौना बनाइदिएको छ । अतिरिक्त आय आर्जन र उपभोगका लागि मानव जातिले गर्दै आएका अस्वस्थ पुँजीवादी प्रतिस्पर्धाले यस प्रकारका सङ्कट निम्त्याउँदैछ । सौखिनहरूले संसार बनाउने भन्दा पनि बिगार्ने काम गरेका छन् । एड्स अप्राकृतिक यौनसम्पर्कको परिणाम हो । यो रोगले संसारका लाखौं मानिसको ज्यान लिएको छ, तर पनि पुँजीवादी विश्वबजारमा यौन पैसाका लागि नाफामूलक व्यापार भएको छ । उपभोक्तावाद ग्लोबलाइजेसनको चरम अभिव्यक्ति हो । आजको सङ्कट ग्लोबलाइजेसनको परिणाम हो । प्रकृतिमाथिको अतिक्रमण र आक्रमणबाट उत्पन्न महामारी हो ।
पुँजीवाद आफ्नो नाफा बढाउनका लागि कुनै मान्यता र आवश्यकताबिना तथा सामाजिक फाइदाको मतलब नगरीकनै अराजकतावादी उत्पादनमा लाग्छ । यसले आफ्नो उत्पादन बढाउँदै जान्छ । सम्पूर्ण नाफा केही पुँजीवादी कम्पनीसँग मात्र केन्द्रित हुन्छ । कामदारहरू आफ्नो उपभोगका लागि नभएर मालिकका लागि उत्पादन गर्छन् । जब कुनै पनि वस्तुको उत्पादन प्राकृतिक हिसाबले नभई अप्राकृतिक हिसाबले हुन्छ । त्यस्ता उत्पादन बढी त हुन्छ, तर ती विषाक्त हुन्छ र मानव स्वस्थ्यमा गम्भीर असर पर्ने खालका हुन्छन् । त्यस्ता वस्तुको उपभोग गर्दा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । अनि विभिन्न भाइरसले आक्रमण गर्छ । केभिड–१९ कोरोना भाइरस महामारी यसैको उपज हो ।
आज विश्वमै कृषि उत्पादन बढाउन प्रयोग हुने रोग कीरानाशक, कीटनाशक, झारनाशक, ढुसीनाशक गरी मुख्यतः चार प्रकारका औषधी प्रयोग गरिएको छ । विश्व पर्यावरण प्रतिवेदन–२०१९ अनुसार संसारभरि गत वर्ष २५ लाख ५० हजार टन विषादी खेतीबारीमा प्रयोग भएको छ । तर डरलाग्दो तथ्य के छ भने यसरी रोग तथा कीरा नियन्त्रण गर्न प्रयोग गरिने विषादीमध्ये ९८ प्रतिशतले हावा, पानी र माटो प्रदूषित गर्छन् । ६ ठूला कम्पनीले संसारको ७५ प्रतिशत विषादी उत्पादन गर्छन् । खाना मानव जीवनको अपरिहार्य तŒव हो । जसबिना मानव जीवनको अस्तित्वको कल्पना गर्न सकिँदैन, यो स्वच्छ र मिसावटरहित नभए हाम्रो शरीरमा अनेक समस्या देखा पर्छन् । यसै सन्दर्भमा एउटा मननीय भनाइसमेत छ— खानालाई औषधिका रूपमा सेवन गर, अन्यथा औषधि नै खानका रूपमा खानुपर्छ, तर अहिले खाइरहेको वस्तुले हामीलाई हित गरिरहेको छ कि हानि ? पक्कै पनि हामीलाई ती वस्तुले हानि गरिरहेको छ । जब हामी त्यस्ता वस्तु सेवन गर्छौं, हामीसँग सामान्य रोगसँग लड्ने क्षमता गुमाउँछौं । अस्वस्थ पुँजीवादी प्रतिस्पर्धाले मानिसहरूको स्वास्थ्य बिगारेर औषधी उत्पादन गरी त्यसलाई बिक्री गरी थप धन कमाउने योजना बनाउँछ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको घोषणा गरेको छ । अहिले धन र शक्तिले काम गरिरहेको छैन । औषधि विज्ञानको क्षेत्रमा आपूmलाई अब्बल ठान्ने अमेरिका, युरोपलगायतका देशहरूलाई पराजित गरेको छ कोरोना भाइरसले । आज कोरोना भाइरसको प्रकोप अघि अघि छ भने विज्ञानपछिपछि छ । अनेक प्रयास गर्दागर्दै पनि अहिलेसम्म यो भाइरसको भ्याक्सिन पत्ता लाग्न सकेको छैन । कोरोना भाइरसको वंश पत्ता लागेको छैन । स्टेफन हकिन्सले जीवनको अन्तिम क्षणमा वंश परिवर्तन गरेका नयाँ जीवाणुले विश्व मानव जातिको संहार गर्न सक्छ भन्ने कुरा अनुमान गरेका थिए । त्यो सत्य सावित हुँदै छ कि ? यसले कतिको ज्यान लिन्छ, यसै भन्न नसकिने अवस्था छ ।
नेकपा नेता दिननाथ शर्मा केही विचारहरूलाई सापटी लिँदै भन्नुपर्दा मानव जातिको रक्षा मानवताको एकताभित्र मात्रै सम्भव छ भन्ने शिक्षा दिएको छ । उनले भनेका छन्, “विगत इतिहासको लामो कालखण्डमा धेरै धर्म युद्धहरू भए । नरसंहारका औजार बने सबै धर्महरू अहिले पनि तिनीहरूका बाछिटा देखिँदै छ । धार्मिक प्रतिद्वन्द्विताले मानव जातिको रक्षा गर्न सम्भाव छैन । रोमवासीको जीवनरक्षाका लागि पोपले गरेको प्राथना सुनेको छैन, कोरोना भाइरसले । यशु, अल्लाह र ईश्वरबाट रक्षा हुन सम्भव छैन आधुनिक विश्वको । यो केवल आस्था मात्रै हो । भौतिक नियमको पालना नगर्दाको परिणाम हो । प्रकृतितिर फर्केर क्षमा माग्नुपर्छ । उपभोक्तावादले र विश्वास गर्नुपर्छ प्रकृतिलाई । कोभिड–१९ जस्ता महामारीलाई सामना गर्ने उपचार विधि पनि प्रकृतिकै गर्भमा छ भन्ने बिर्सनु हुन्न ।’
बन्दुक र वैमवको आडमा विश्व महाशक्ति बनेका देशहरूको दम्भ कोरोनासँग चकनाचुर भएको छ । विश्वमा मानिस अहिले बाँच्नकै लागि एक किसिमले युद्ध लडिरहेका छन् । तर यो युद्ध देश देशबीच वा मानिस–मानिसबीच नभई मानिस र प्रकृतिबीचको हो । आपूmमात्र बाँच्ने स्वार्थले प्रेरित मानिसले प्रकृतिको अतिदोहन गरेको र प्रकृतिका अन्य जीवका लागि बाँच्ने अवसर बिगार्दै गएकाले प्रकृति अहिले मानव भन्ने जातिलाई नै डाइनोसर बनाउने सुरमा छ कि भन्ने बुझाइ पनि कतिपय चिन्तकहरूको छ ।
मानवशास्त्री डा. मेरी डेसेनले भने जस्तै जब सिंगो पर्यावरणीय प्रणाली स्वस्थ हुन्छ अनि मात्रै मानिस र मानव समाज स्वस्थ हुन सक्छ । प्रकृतिको समृद्धिसँग हाम्रो समृद्धि जोडिएको छ । पश्चिमा पुँजीवादको विचारभन्दा फरक प्रकृतिको सूक्ष्म जीवसम्म जोगाउने फरक दृष्टिकोण अपनाउनुपर्छ । हामी प्रकृतिका उपज र अंग हौ । हामी प्रकृतिभन्दा माथि पनि होइन र बाहिर पनि होइन । आज हामीलाई अस्वस्थ पुँजीवादी प्रतिस्पर्धाको व्यवस्था होइन प्रकृतिलाई पनि माया गर्ने समाज व्यवस्था चाहिएको छ ।
अन्त्यमा यो बुझ्न जरुरी छ कि कोरोनालाई न त लकडाउनले रोक्यो, न त निषेधाज्ञाले । विश्वका धेरै शक्तिराष्ट्र तथा विकासशील राष्ट्रहरू कोरोनाको औषधि तथा खोप पत्ता लगाउन लागिपरेका छन् । यो पत्ता नलाग्दासम्म कोरोना अब कसैले रोकेर रोकिने छाँटकाँट देखिएला जस्तो लाग्दैन । हामीले अहिले गर्न सक्ने भनेको यसलाई कसरी कम गर्ने, कसरी व्यवस्थित गर्ने अनि देश र जनतालाई सामान्य जीवनमा कसरी फर्काउने भन्ने मात्र हो । यसका लागि जनस्तरमा आवश्यक चेतना, आवश्यक परीक्षण, सर्वसुलभ अस्पताल र निःशुल्क उपचारबाहेक अरू केही उपाय छैन ।
(खरेल अर्थ–राजनीतिक विश्लेषक हुन् ।)

प्रतिक्रिया दिनुहोस्