धितोपत्र बोर्ड नै सेयर बजार विकासको बाधक «

धितोपत्र बोर्ड नै सेयर बजार विकासको बाधक

स्थापित कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न बोलकबोलमा पाउने हो भने यस्ता स्थापित कम्पनी बजारमा प्रवेश गर्ने सम्भावना छ ।

कोभिड–१९ ले विश्वभरिकै सेयर बजार त्रयास भयो । सुरुमा त्रासले बजार घटे पनि अहिले बजार पहिलेकै तहमा आइसकेको छ । कोभिड अगाडिको अंकभन्दा माथि गएपछि अहिले सेयर बजार फेरि करेक्सनको मोडमा छ । संसारमा अरू सबै बजार र व्यवसाय बन्द भए पनि सेयर बजार भने खुला भयो । यो अवधिमा नेपालको सेयर बजार भने बन्द भयो ।
कोरोनाको त्रासले एकसेएक कम्पनीको सेयर मूल्य पनि तल आयो । तल झरेका बेला किन्नेले कमाए । बजारबाट निस्कनेले भने गुमाए । सेयर बजारमा प्रवेश गरेपछि यसको नशाबाट छुट्कारा पाउन भने कठिन छ । यसका आधारमा मूल्य घट्दा बजारबाट निस्कने कमै होलान् भन्ने मान्न सकिन्छ । सेयर बजार भनेको लामो अवधिमा कमाउने नै क्षेत्र हो भने छोटो अवधिमा भने गुमाउन पनि सक्छ । सेयर बजार घट्दा गुमाउने भन्ने नेपालको बजारमा रहन्छ । अन्तर्राष्ट्रिय बजारमा बजार बढ्दा र घट्दा नै लगानीकर्ताले कमाउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा जसरी सेयरको भाउ बढ्दा कमाइ हुन्छ, त्यसैगरी घट्दा पनि कमाउन सकिन्छ । यसलाई दुईतर्फको बजार मान्न सकिन्छ । धेरैले ठान्छन् बजार घट्यो, त्यसकारण लगानीकर्ताले गुमाए होलान् । तर त्यस्तो होइन । बजार बढ्दा जसरी सेयर किनेर कमाउन सकिन्छ, त्यसैगरी बजार घट्दा त्यही सेयर बिक्री गरेर ‘सर्ट सेल’ गरी कमाउन सकिन्छ । नेपाली सेयर बजारमा मूल्य बढेमात्रै कमाउन सकिन्छ । नेपाली बजारमा घट्दा घाटा कम गर्न सकिने भए पनि कमाउन सकिंदैन । यसैले बजार खास रूपमा चलायमान हुन नसकेको हो । बोर्डले सेयर बजार बढ्दा मात्रै कमाउने नीतिलाई परिवर्तन गरी सेयर बजार घट्दा पनि त्यही सेयर बिक्री गरेर कमाउन सक्ने अवस्था सिर्जना गर्नुपर्छ । विश्वका बजारको अवस्था पनि यही हो ।
लामो अवधिदेखि नेपालको सेयर बजार वियरिस ट्रेन्डमा छ । अहिलेको सरकार गठन हुने निश्चित भएपछि तल झर्न थालेको हो । यो सरकार गठन हुने निश्चित भएपछि मैले फेसबुकमा लेखेको थिएँ, अब बजार घट्छ, बढ्दैन । धेरैले मानेका थिएनन् । अहिले पनि पहिलेको अंकमा पुग्न सकेको छैन । एकसे एक राम्रा कम्पनीको सेयर अहिले पनि निकै सस्तोमा किन्न पाइन्छ । कोरोनोको त्रास सुरु भएपछि बजार बन्द भएकाले यो कुन तहमा झथ्र्यो र कतिमाथि जान्थ्यो, देख्न पाइएन ।
कोरोनाको त्रासले नेपालको सेयर बजार भने केही समयका लागि बन्द भयो । यो सबैभन्दा दुःखद पक्ष हो । बैंकहरू खुला भए । तर सेयर बजार बन्द भयो । प्रविधिको समस्याले सेयर बजार बन्द भएको जवाफ नियामक निकायले दिए । कानुनको शासन हुन्थ्यो भने यस्तो ओठे जवाफले उम्किन पाइन्नथ्यो ।
ढिलै भए पनि नेपालको सेयर बजार खुलेको छ । अहिले केही सुधारको मोडमा देखिन्छ । जबसम्म पहिलेको उचाइ पार गर्दैन, बजार बढेको मान्न सकिंदैन । अहिलेको अवस्थालाई त केही सुधार भएको ठान्न सकिन्छ । पहिलेको उचाइ पार गर्न नेपालको सेयर बजार १९ सय अंक पार गर्नुपर्ने हुन्छ । यसपछि मात्रै बजार बढेको मान्न सकिन्छ ।
बजार सुधारका लागि नियामक निकाय केही सक्रिय देखिन त खोजेको छ, तर परिणाम दिन सकेको छैन । बजार सुधारका लागि पहिलो र एकमात्र काम अत्याधुनिक नयाँ स्टक एक्सचेन्ज हो । यो आधारबिना सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जबाट बजारको सुधार सम्भव छैन । प्राविधिक समस्याको नाममा बजार बन्द गर्ने स्टक एक्सचेन्जबाट अब केही आशा राख्नु बेकार छ । बजारको विकासका लागि अत्याधुनिक स्टक एक्सचेन्ज ल्याउनु नै अहिलेको एकमात्र विकल्प हो । त्यसपछिको अर्को काम भनेको तोकिएको न्यूनतम योग्यताका आधारमा सबैले सधैं स्टक ब्रोकरको लाइसेन्स पाउनु हो ।
यस्ता केही सुधारबाट नेपालको सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले केही वर्षमा नै २० औं लाख रोजगारी सिर्जना गर्न सक्छ । बजारमा आउन चाहने स्थापित कम्पनीका लागि प्राथमिक निष्कासनमा सेयरको अधिकतम मूल्य नतोक्ने, व्यक्तिगत रूपमा सेयर बजारलगायतमा लगानी गर्न चाहने गरी स्थापना भएका कम्पनीलाई सेयर बिक्री गर्न दिने नीति अर्को महŒवपूर्ण पक्ष हो ।
विगतमा बोर्डको संकीर्णताको एक उदाहरण छ । सर्वसाधारणबाट पैसा उठाएर सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ता निर्मल प्रधानको कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएन । प्रधानको कम्पनीले बोर्डमा आवेदन पनि दिएको थियो । प्रधानको मात्रै होइन, जोकोहीले आवेदन दिए पनि बोर्डले स्वीकृति दिनबाट पछाडि हट्ने त होइन । बरु कसैले यसरी सर्वसाधारणबाट पैसा संकलन गरेर दुरुपयोग गरेमा कारबाही पो गर्ने हो त । सेयर किनेका सबै कम्पनीबाट लगानीकर्ताले कमाउनुपर्छ भन्ने पनि हुँदैन नेकोन एयरजस्तै कुनै डुब्न पनि सक्छ । यसरी कम्पनी डुबेमा यसमा लगानी गर्नेले गुमाउँछन् । लगानीकर्ताले कमाउने ग्यारेन्टी भएका कम्पनीलाई मात्रै बोर्डले सेयर बिक्री गर्न दिने त होइन । यसको अर्थ जसले आवेदन गर्छ, त्यसले सेयर बिक्री गर्छ त्यसले स्वीकृति पाउनुपर्छ भनेको होइन । तर सेयरमा लगानी गर्छु भन्ने कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न र बजारमा लिस्टिङ हुन नपाउने भन्ने सुहाएन ।
सेयर बजारमा लगानी गर्ने कम्पनीले सर्वधारणलाई सेयर पनि बिक्री गर्छन् । यसका साथै व्यक्तिगत रूपमा लगानी गर्न नचाहनेको पुँजी संकलन गरी सेयर बजारमा लगानी पनि गरिदिन्छन् । लगानी गर्ने र सल्लाहसमेत दिने पोर्टफोलियो म्यानेजरजस्ता कम्पनीलाई समेत बोर्डले सर्वसाधारणलाई सेयर बिक्री गर्न दिनुपर्छ । चाहे त्यो सेयर विश्लेषक रवीन्द्र भट्टराईको स्टकको शिक्षा दिने कम्पनी होस् कि लगानीकर्ता अम्बिका पौडेलको लगानी कम्पनी हाथवे । यस्ता सबै कम्पनीले पब्लिकलाई सेयर बिक्री गरी स्टक मार्केटमा लिस्टिङ हुन जरुरी छ । निर्माण कम्पनी होस् कि प्राइभेट स्कुल र अस्पताल सबैलाई सेयर बजारमा ल्याउने नीति नै कर्पोरेट कल्चरको निर्माण हो । विद्युत् प्राधिकरणको सेयरसमेत अझैसम्म स्टक एक्सचेन्जमा लिस्टिङ नहुनु विडम्बना हो । स्टक ब्रोकर कम्पनीले अहिलेसम्म एउटा पनि लिस्टिङ भएका छैनन् । यस्ता कम्पनी र क्षेत्र धेरै छन् ।
सेयर बजारमा आउने कम्पनी पनि अरू प्राइभेट कम्पनी जस्तै सफल र असफल हुन सक्छन् भन्ने मान्नुपर्छ । सफल भइसकेपछि मात्रै कम्पनीलाई सेयर बजारमा प्रवेश गराउने नीति पनि परिवर्तन गर्नु जरुरी छ । बरु भर्खर स्थापना भएका कम्पनीलाई समेत निश्चित नियम तोकेर पुँजी संकलन गर्न दिएमा देशको आर्थिक विकासमा टेवा पग्नेछ ।
कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएर सेयरमा लगानी गर्ने कम्पनीको संख्या धेरै ठूलो छ । बोर्डले चाहने हो भने यस्ता सेयरमा लगानी गर्ने कम्पनीलाई समेत सेयर बिक्री गर्ने अवसर दिएर बजारमा लिस्टिङ गर्ने दिन सक्छ । यसबाट लाखौंको रोजगारी सिर्जना हुनेछ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना चाहनुहन्छ भने आफ्नो कार्यकालमा सेयर बजारमा कायापलट गरी २० औं लाखलाई रोजगारी सिर्जना गर्न सक्नुहुन्छ । यो सेयर बजारको मात्रै होइन, नेपालको आर्थिक विकासको कायापलट हो । बाँकी तपाईंको मर्जी ।
अहिले कोरोनाको संकटले सबै कम्पनीलाई पुँजीको अभाव छ । अहिले पैसाको अभाव कम गर्ने र सेयर बजारमा प्रवेश गर्ने उपयुक्त समय हो कम्पनीहरूका लागि । नेपालको सेयर बजारमा अहिले पनि सीमित कम्पनी छन् । ससाना कम्पनीको त कुरै छोडौं, किन वाईवाई, एनसेल, कान्तिपुरजस्ता कम्पनी सेयर बजारमा आउन नसकेका हुन् ?
यस्ता कम्पनी सेयर बजारमा आउन नसक्नुको एउटै कारण पर्याप्त वातावरणको अभाव हो । अर्थात् १ सय रुपैयाँमा सेयर बिक्री गर्न यस्ता कम्पनी बजारमा आउँदैन । मूल्यांकनका आधारमा यस्ता कम्पनीको प्रतिसेयर मूल्य १० हजार पनि त हुन सक्छ ? एउटा उदाहरणका लागि स्थापित र नाफामा गएका कम्पनीले न्यूनतम १ हजारमा र नाफामा नगएका कम्पनीले न्यूनतम १ सयमा सर्वसाधारणलाई सेयर बिक्री गर्ने व्यवस्था गरे स्थापित कम्पनी बजारमा प्रवेश गर्नेछन् ।
स्थापित कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न बोलकबोलमा पाउने हो भने यस्ता स्थापित कम्पनी बजारमा प्रवेश गर्ने सम्भावना छ । लगानीकर्ता पनि एउटा सेयरको मूल्य कति पुग्ला भन्ने अनुमान नगरेका कारण बजारमा प्रवेश नगरेका हुन् । बजारमा नआएका कम्पनीलाई आकर्षित गर्न धितोपत्र बोर्डले बजारका स्थापित कम्पनीको सेयर बिक्रीमा न्यूनतम मूल्य तोके पनि अधिकतमको सीमा राख्न भने हुँदैन । अधिकतम सेयर मूल्य बजारका लगानीकर्ताले तोक्नेछन् ।
उद्यमी व्यवसायीले पनि सेयरको मूल्यका आधारमा धेरै धनी हुने भने सेयर बिक्री गर्न जरुरी छ । तपार्र्इंको कम्पनीले वर्ष दिनमा कमाएको केही नाफा सेयर बिक्री गरेर सर्वसाधारणलाई बाँड्ने वा बिजनेस बढाउने जे गरे पनि सेयरको भाउ त बढिहाल्छ । यो आधारमा नाफा कमाउने कम्पनी सेयर बजारमा नआउनु भनेको यसका संस्थापक लगानीकर्तालाई नै घाटा हो ।
अहिले नेपालका डलर अर्बपति विनोद चौधरीले वाईवाईको सेयर सर्वसाधारणलाई बिक्री गरेका भए यसको मूल्य कति हुन्थ्यो, कसैले भन्न सक्दैन । कतै चौधरी विश्वकै टप १० देखि १ सय धनीमा गनिन्थे कि ? नविल बैंकले सर्वसाधारणलाई सेयर बिक्री नगरेको भए यसको भ्याल्यू कसरी थाहा हुन्थ्यो ? कान्तिपुर पब्लिकेसन्सको सेयर मूल्य कति हुन्थ्यो होला ? सेयर बजारमा प्रवेश गरेको भए मिडिया उद्यमी कैलाश सिरोहिया अहिलेसम्म कमाएभन्दा १ सय गुणा बढी धनी पो हुन्थे कि ? यसबारेमा सिरोहियाले सोच्ने हो कि ? नागरिकका विनोद ज्ञवाली र अन्नपूर्ण पोस्टका रामेश्वर थापा अनि इमेज च्यानलका आरके मानन्धरले आफ्नो कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गरेको भए अहिलेको भन्दा कम्तीमा पनि १० गुणा धनी हुने थिए ।
तर नेपाली उद्यमीले सेयर बजारमा प्रवेश गरेको भए अझ धेरै धनी हुइन्छ भन्ने सोचैकै छैनन् । राजेन्द्र खेतान, चन्द्र ढकाल, सौरभ ज्योति, कुशकुमार जोशी र शेखर गोल्छालगायतका कोही पनि धेरै धनी हुने हो भने कम्पनीको सेयर सर्वधारणलाई बिक्री गर्नुस् । यसले तपाईंलाई आगामी १० वर्षमा १ सय गुणा बढी धनी बनाउनेछ ।
सर्वसाधारणमा सेयर बिक्री गरेको आधारमा आज यसको मूल्यले एप्पल कम्पनी संसारकै सबैभन्दा ठूलो कम्पनी भएको हो । माइक्रोसफ्टको सेयर मूल्य बढेरै बिल गेट्स विश्वकै धनी भएका हुन् । एमाजनका जेफ बेजोस कम्पनीको सेयर मूल्य बढ्कै आधारमा विश्वका सम्भवतः नम्बर एक धनी भएका हुन् । फेसबुकको सेयर बजारमा लिस्टिङ भएर नै यसका संस्थापक मार्क जुकरबर्कलाई विश्वको धनीमा गणना गराइएको हो । चाइनिज कम्पनी अलिबाबाको सेयर बजारमा नभएको भए यसका मालिक यति धनी हुने थिएनन् । भारतका अम्बानीका कम्पनीको सेयर मूल्य नबढेको भए अहिले विश्वभरका केही धनीमध्येमा गनिने थिएनन् । त्यसकारण नेपालका कम्पनीले पनि वार्षिक रूपमा कमाउने नाफामा सीमित नभएर कम्पनीको सेयर मूल्यबाट अझै धेरै धनी हुने बाटो अवलम्बन गर्न सर्वसाधारणलाई सेयर बिक्री गर्नु नै प्रगतिको बाटो तय गर्नु हो ।
नेपालका लगानीकर्ताले पनि बजारमा भएका बेस्ट कम्पनीको सेयर किनेर होल्ड गर्ने गरेको देखिँदैन । केही महिनाका लागि सेयर किन्ने र बिक्री गरिहाल्ने लगानीकर्ता धेरै छन् । कम्पनीको अवस्था बिग्रिएको अवस्थामा बाहेक बेस्ट कम्पनीको सेयर होल्ड गर्ने प्रवृत्तिको विकास नभई सेयरको मूल्य बढ्दैन । लगानीकर्ताले सबै कम्पनीको सेयरबाट कमाउनु नै पर्छ भन्ने हुँदैन । घाटा पनि सहन जान्नुपर्छ ।
सेयर बजारको नीतिमा पनि सरकार र राष्ट्र बैंकले अस्थिरता दिंदै आएका छन् । सेयर धितो कर्जाको नीति हरेक पटक परिवर्तन हुनु भनेको अस्थिरता हो । राष्ट्र बैंकले मार्जिन ल्यान्डिङको दर तोक्ने काम नेपालमा मात्रै होला । अन्यत्र स्टक ब्रोकरले यो काम गर्छन । सेयर धितो कर्जाको सीमा तोक्ने काम कर्जा दिने बैंक र स्टक ब्रोकरको हो । केन्द्रीय बैंकको होइन । विगतदेखि नै राष्ट्र बैंकले स्टक ब्रोकरको तहमा ओर्लेर यो काम गर्दै आएको छ । गभर्नर महाप्रसाद अधिकारी हुनुभएको बेलामा यस्ता नीतिगत अस्थिरताको काम राष्ट्र बैंकले नगर्नुपर्ने हो । यो काम सधैंका लागि कर्जा दिने बैंक, ब्रोकरलाई छोड्दिनु उत्तम र ठीक हो ।
यो मात्रै होइन, बेलाबेलाको बजेटमा सेयरको नाफामा लिने कर पनि सरकारले घटाउने र बढाउने गर्छ । यो अर्को नीतिगत अस्थिरता हो । करको दर चलाउनाले लगानीकर्तामा नकारात्मक असर परिरहेको छ । सरकारले बजेटमार्फत पुँजीगत लाभकर घटाउने र बढाउने काम छोड्नुपर्छ । नीति परिवर्तन गर्ने नै भए तोकिएको दर घटाउनुपर्छ, बढाउने होइन । त्यो पनि कहिलेकाहीं । नत्र यो दर चलाउने काम छोड्नुपर्छ ।
सेयर बजारमा आउने कम्पनी र लगानीकर्ता दुवै कमाउनका लागि हो । नाफा कमाउने कम्पनीको सेयर मूल्य बजारमा धेरै हुन्छ । नाफा नकमाउने र भविष्य नदेखिएका कम्पनीको सेयर मूल्य कम हुन्छ । यही आधारमा बजार चल्ने हो ।

प्रतिक्रिया दिनुहोस्