तालबाराही मन्दिरमा एकैदिन १० हजार दर्शनार्थी «

तालबाराही मन्दिरमा एकैदिन १० हजार दर्शनार्थी

पोखरा-पोखराको धार्मिक तथा पर्यटकीय स्थल तालबाराही मन्दिरमा बुधबार एकैदिनमा करिब दश हजार दर्शनार्थी पुगेका छन् । वर्षभरमा सबैभन्दा बढी दर्शनार्थीको भिड हुने कोजाग्रत पूर्णिमाको अवसरमा उक्त मन्दिरमा दर्शनार्थीको ओइरो लागेको हो ।
मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ दर्शनार्थीहरु बिहानैदेखि लाइनमा लागेको तालबाराही मन्दिर संरक्षण समितिका सदस्य मंगल नेपालीले बताए । फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष कृष्ण गिरीका अनुसार फेवा डुंगाघाटबाट करिब ८ हजार जनालाई तालबाराही मन्दिरमा दर्शन गर्नको लागि समितिले वारि–पारी गराएको छ ।
बिहानैदेखि दशनार्थीहरुको अत्यधिक भिड भएको तालबाराही मन्दिरभित्रै पसेर दर्शन गर्न नसकिने भएकाले ढोकाबाटै दर्शन गर्न व्यवस्था मिलाइएको थियो ।
बाराही घाटदेखि तालबाराही मन्दिरमा जान–आउनको लागि प्रतिव्यक्ति ६० रुपैयाँ शुल्क लाग्छ । छत्रे डुंगामा एकपटकमा १२ जनासम्मले यात्रा गर्न सक्छन् । बाराही घाटमा मात्र ३ सय ५६ वटा डुंगा रहेका छन् ।
तालबाराही मन्दिरमा भिडभाड भएसँगै बाराही घाट क्षेत्रमा हाटबजारसमेत सञ्चालन भएको छ । दैनिक उपभोग्य वस्तु, कपडा, खेलौनादेखि हस्तकलाका सामान बजारमा बिक्रीका लागि राखिएको थियो ।
बुधबार कोजाग्रत पूर्णिमाको दिन करिब ८५ हजार आर्थिक सहयोग (रसिद काटेर) र एक लाख ४६ हजार भअन्य रकम संकलन भएको समितिले जनाएको छ । गत वर्ष ३ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्