पर्यटन दिवसमा पर्यटकलाई स्वागतदेखि साइक्लिंगसम्म

भैरहवा-पर्यटन दिवसको अवसरमा गौतम बुद्ध बिमानस्थलमा पहिलो उडानमार्फत आएका भारतीय नागरिकलाई सोटो नेपाल प्रदेश ५ र सिद्धार्थ होटल संघले स्वागत गरेका थिए । भारतीय पर्यटकलाई भैरहवाबाट गोरखपुरसम्म निःशुल्क यात्रा, लुम्बिनीमा १ रात २ दिनको पर्यटन प्याकेज (आवास र भोजन)को व्यवस्था गरेको सोटो प्रदेश ५ का संयोजक सञ्जय बजिमयले बताए ।
भैरहवा साइकल सिटीको आयोजनामा पर्यटन दिवसको अवसरमा भैरहवा लुम्बिनी साइक्लिंग आयोजना भएको छ । पर्यटन दिवसको अवसर पारेर सडकमा साइकल लेन निर्माण गर्न दबाब दिने उद्देश्यले साइक्लिंग यात्रा भएको भैरहवा साइकल सिटीका अध्यक्ष सूर्य सारु मगरले बताए । साइकल यात्रामा भैरहवा र बुटवलका गरी ५० बढीको सहभागिता रहेकोे कार्यक्रम संयोजक विजय खरेलले बताए । साइकल यात्रीलाई लुम्बिनीमा लुम्बिनी विकाश कोष, लुम्बिनी होटल संघ, सिद्धार्थ होटल संघ लुम्बिनी शाखा, लुम्बिनी नागरिक समाजले स्वागत गरेका थिए ।
विश्व पर्यटन दिवसकै अवसरमा बुद्ध सर्किट डटकमको आयोजनामा भैरहवामा महाअभिनिस्कर्मण कार्यक्रमबारे जानकारी तथा कोभिड–१९ पछिको पर्यटन विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा बुद्ध सर्किट डटकमका सस्थापक तथा अध्यक्ष एवं महाअभिनिस्कर्मण कार्यक्रमका परिकल्पनाकार विक्रम पाँडेकाजीले बुद्ध जन्मस्थल लुम्बिनीसहित बुद्ध जीवनीमा आधारीत कपिलवस्तु, रामग्राम, देवदहसहितको बुद्ध सर्किट भ्रमणमा आउनेका लागि महाअभिनिस्कर्मण कार्यक्रम नयाँ पर्यटन प्याकेजका रूपमा रहेको बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले पर्यटन दिवसका अवसरमा आयोजित अन्तरक्रियासँंगै नयाँ कार्यक्रमबारे जानकारी निकै पलब्धिमूलक रहेको भन्दै वर्तमान समयमा कोरोना कहर अझै बाँकी रहेकाले सरकारले पर्यटन व्यवसायीको वर्तमान समस्याजस्तै बैंक कर्जा, करलगायतका कुरामा विशेष ध्यान दिनु पर्नेमा जोड दिँदै पर्यटन क्षेत्रलाई सरकारले अब चलायमान बनाउनु पर्ने बताए ।
सिद्धार्थ होटल संघ सान नेपालका उपाध्यक्ष किशोर जोशीले अहिले होटल व्यवसाय कठिन अवस्थामा रहेको भन्दै आन्तरिक पर्यटनमात्र नभई अन्तर्राष्ट्रिय पर्यटकलाई पनि भित्र्याउने वातावरण बनाउनु पर्नेमा जोड दिए ।