मानव बेचबिखनको जोखिम बढ्यो «

मानव बेचबिखनको जोखिम बढ्यो

महेन्द्रनगर-विश्वभरि कोरोना महामारीले त्रासपूर्ण वातावरण सिर्जना गराइरहेको बेला मानव बेचबिखनको जोखिम बढेको छ । कोभिडको असरपछि झण्डै ६ महिना बन्द रहेको कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट महामारीकै बीचमा भारत जाने मानिसको संख्या वृद्धि भएसँगै मानव बेचबिखनको जोखिम बढेको हो ।
लकडाउन खुलेपछि नेपाल तर्फबाट उल्लेख्य रूपमा भारतबाट आउनेको भन्दा भारत जाने नेपाली नागरिक बढ्न थालेपछि मानव बेचबिखनको जोखिम बढेको माइती नेपाल कञ्चनपुरले जनाएको छ । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारत जाने मानिसको भीडमा मानव बेचबिखन गर्ने दलाल बढी सक्रिय भएकाले पनि मानव बेचबिखनको जोखिम बढेको हो ।
“कोरोना भाइरसकोे प्रभावसँगै लकडाउनपछि खुलेको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जाने नेपाली नागरिकको संख्या बढ्दो छ, दैनिक आउनेभन्दा जाने मानिस बढी हुन्छन्,” संयोजक महेश्वरी भट्टले भनिन्, “भारत जाने नेपाली नागरिकहरू अधिकांशसँग भारतीय आधार कार्ड हुन्छ, आधारकार्डकै भरमा भारत जान पाउँछन्, रोकतोक केही छैन, कोरोनाकालमा आधार कार्डको भर परेर भारत जान सहज हुँदा मानव बेचबिखनको जोखिम बढेको छ ।” कोरोनाको मौका छोपेर दलालले रोजगारीको नाममा धेरै नेपाली छोरी बेचबिखन गर्ने जोखिम बढेको उनले बताइन् । हिजोआज पश्चिमी सीमानाका भएर भारत जाने मानिसको लर्काेजस्तै हुने गरेको छ । कोरोनाका कारण बढ्दो बेरोजगारीका कारण भारत पस्ने मानिसको संख्यामा बढोत्तरी हुन थालेपछि मानव बेचबिखनको खतरा बढेको छ ।
सीमानाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने संघ संस्था भए पनि कोरोना कालमा स्वयं स्थानीय तहले नै सीमानाकासम्म पुग्न सिफारिस गरिदिएर मानव बेचबिखन निराकरण गर्न झन् समस्या भएको छ ।
“अन्य जिल्लाबाट भारतसँग सीमा जोडिएका जिल्ला तथा सीमानाका पुग्न स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयको सिफारिस प्रयोग गरिन्छ, कोरोना कालमा सीमा पार गर्न भारतीय आधार कार्ड भए भारत सहजै जान सकिन्छ,” संयोजक भट्टले भनिन्, “आधार कार्ड नभएकालाई दलालले नक्कली आधारकार्ड प्रयोग गरेर सीमापार गराउन सहयोग गरिरहेका हुन्छन्, आधार कार्डको भरमा भारत छिर्न सहज हुने भएपछि दलालको सक्रियता बढेको अवस्था छ ।” सीमानाकामा पुगेका कतिपय शंकास्पद मानिसलाई भने चेकजाँचमा कडाइ गरेर आवश्यक अनुसन्धानसमेत गर्ने गरेको उनले बताइन् ।
नेपालमा कोरोना भाइरसले निम्त्याएको बेरोजगारीले गर्दा पनि मानव बेचबिखन हुने खतरा अझ बढेको छ । कोरोना कालमा भारत पस्न प्रयोग गरिएको नक्कली भारतीय आधारकार्डले मानव बेचबिखनको जोखिम बढाएको हो । भारतका ठूलाठूला सहरदेखि मावन बेचबिखन गर्ने मालिकहरू नै सीमानाका आएर आधार कार्ड बाँड्ने गरेका छन् । भारतको मुम्बई, दिल्ली, बेङ्ग्लोरलगायत ठूला सहरदेखि नेपालीलाई सीमापार गराउनका लागि भारतीय नै बढी सक्रिय हुने गरेका छन् ।
“भारतीय सहरका मानव बेचबिखन गर्ने ठूला गिरोहका मालिकहरू नै पश्चिमी सीमानाका गड्डचौकीको दशगजा क्षेत्रमा पुगेका हुन्छन्, वारि नेपाली पुग्छन् पारिबाट आधार कार्ड दिइन्छ, आधार कार्डको भरमा भारत जान दिनुपर्ने बाध्यताजस्तै भएको छ,” संयोजकले भट्टले भनिन्, । गड्डाचौकी नाका प्रयोग गरेर भारत पसेर मानव बेचविखनमा पर्ने अधिकांश पूर्वी नेपालका नेपाली हुने गरेको संयोजक भट्टले बताइन् । सुदूरपश्चिमबाहेक बाँके बर्दिया, चितवन, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोकलगायत अधिकांश विभिन्न पूर्वीजिल्लामा मानव बेचबिखनको जोखिम उच्च छ ।
अन्य समयकालभन्दा कोरोना कहरमा दलाल अझ बढी सक्रिय भएका छन् । कोरोनाको समयमा मानव बेचबिखनमा सरोकारवाला निकायको ध्यान केन्द्रित नहुँदा पनि बेचविखनको जोखिम बढेको देखिन्छ ।
“राज्यका सबै सरोकारवाला निकायको ध्यान कोरोना भाइरसमै केन्द्रित देखिन्छ, सीमा क्षेत्रमा भारतबाट आउनेलाई मात्रै बढी चेकजाँच गरिएको अवस्था पनि हो,” उनले भनिन्, “कोरोना सँगसँगै मानव बेचबिखनको जोखिममा त्यति कसैको पनि ध्यान केन्द्रित नहुँदा लुकीछिपि जाने जोखिम पनि बढेको छ ।” मानव बेचबिखनको जोखिम बढेको हुनाले सरोकारवाला सबैले ध्यान दिनुपर्ने आवश्यक रहेको उनले बताइन् ।
माइती नेपालले मानव बेचविखनको ४६ वटा मुद्दा दर्ता गरी प्रक्रियासमेत अघि बढाएको छ । यस्तै कतिपय बेचबिखनमा परेका नेपालीलाई पनि भारतको विभिन्न सहरबाट उद्धार गरेको अवस्था छ । यसैगरी माइती नेपालको तथ्यांकअनुसार हालसम्म सीमा क्षेत्रमा दुई हजार आठ सय २३ जनालाई रोकथाम गरिएको छ भने बेचबिखनमा परेका एक सय ६८ जनाको भारतको विभिन्न स्थानबाट उद्धार गरिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्